Kathmandu Press

हायात होटल बन्द गरेर नेपाल छाड्ने सर्राफको तयारी

काठमाडौं, असार २ :  प्रत्येक वर्ष घाटामै रहेको देखाउँदै आएका हायात होटलका निजी क्षेत्रतर्फका सञ

हायात होटल बन्द गरेर नेपाल छाड्ने सर्राफको तयारी

काठमाडौं, असार २ :  प्रत्येक वर्ष घाटामै रहेको देखाउँदै आएका हायात होटलका निजी क्षेत्रतर्फका सञ्चालक राधेश्याम सर्राफ होटल बन्द गरेर नेपाल छोड्ने तयारीमा रहेको तथ्य खुलेको छ।

हायात होटलमा सरकारी सेयर गायव भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनलाई तीव्रता दिएसँगै सञ्चालक सर्राफ होटल बन्द गर्ने तयारीमा लागेका हुन्। मजदुर आन्दोलनकै कारण हायात होटल पाँच दिन यता बन्द  छ।

तारा गाउँको सरकारी सेयर र जनताको पैसा समेत हायात होटलमा लगानी भएकाले तत्काल बन्द गर्ने कानूनी बाटो भने सहज छैन। तर, चलिरहेको मजदुर आन्दोलनको कारण देखाउँदै कतै होटल नै बन्द हुने त होइन भन्ने आशंका उब्जिएको छ।

Hardik ivf

आन्दोलनरत मजदुरका खासै ठूला माग नभएपनि होटल व्यवस्थापन समस्या लम्बाउने र बन्द गर्ने मनस्थितिमा पुगेको होटलका एक वरिष्ठ निर्देशकले काठमाडौंप्रेसलाई जानकारी दिए।

कर्मचारीको तलव वृद्धि, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष तथा भारतीय उच्च तहका कर्मचारीको कामदारमाथिको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै मजदुरहरु आन्दोलनमा उत्रिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति  दाहालले जानकारी दिए।  

हायात होटल व्यवस्थापनले अधिकांश पर्यटकलाई दरबारमार्गमा रहेको होटल याक एन्ड यतिमा सारेको छ। कूल चार सय जनशक्ति रहेको हायातमा ट्रेड युनियनमा आवद्ध सबै कामदार काम छाडेर माग पूरा गराउन व्यवस्थापनलाई दबाब दिँदै आएका छन्। तीन सय २० जना मजदुर ट्रेड युनियनमा आवद्ध छन्।  ‘हामीले व्यवस्थापन तहका कर्मचारीलाई काम गर्न अवरुद्ध गरेक छैनौं,’ दाहालले भने।

वार्षिक ९ प्रतिशत तलव वृद्धि हुनुपर्नेमा व्यवस्थापनले ५ प्रतिशतमा झारेको तथा भारतीय उच्च तहका कर्मचारीको ज्यादतीले सीमा नाघेपछि आन्दोलन गर्न बाध्य भएको दाहालले बताए।

अख्तियारको त्रासमा सर्राफ

सरकारी सेयर किन र कसरी घट्यो भन्ने विषयमा विगतमा केही छानविन समेत भएका थिए। सोही छानविन प्रतिवेदनलाई टेकेर अख्तियारले छानविनलाई तीव्रता दिइरहेको छ।   

विगतमा पनि मजदुर आन्दोलनकै बहानामा पोखराको पाँचतारे फुलवारी होटल बन्द भएपछि तीन वर्ष यता खुल्न सकेको छैन। ‘फुलवारी होटल जस्तै गरी सर्राफले हायात होटल बन्द गर्ने तयारी गरेका छन्,’ ती निर्देशकले भने।   

दरबारमार्गको पाँच तारे होटल याक एण्ड यति पनि भारतीय नागरिक सर्राफकै स्वामित्वमा छ। ‘सर्राफले होटल याक एण्ड यति पनि विक्री गर्ने योजना बनाएर लगानीकर्ता खोजी रहेका छन्,’ ती निर्देशकले भने।

‘हायात होटलको विवादले आफू फस्ने बुझेका सर्राफ छिटोभन्दा छिटो नेपाल छोड्न खोज्दैछन्,’ ती निर्देशकले भने। हायात होटल सञ्चालक समितिमा सरकारी प्रतिनिधिकै मिलेमतोमा विगतदेखि नै सरकारी सम्पत्ति दोहन भएको आशंकामा अख्तियारले छानविन केही महिनादेखि गरिरहेको छ।

अख्तियारले होटलसँग  सम्बन्धित सबै कागजपत्र नियन्त्रणमा लिएर छाविनलाई तीव्रता दिएको छ। सर्राफसँग अख्तियारले छानविनकै क्रममा पटक–पटक बयान पनि लिइसकेको छ।

सरकारी सेयर ९ प्रतिशतमा झर्‍यो

बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको होटलमा सरकारी सेयरको हिस्सा निरन्तर घट्दै गएको छ। सुरुमा सरकारको ३९ प्रतिशत शेयर रहेको हायातका निजी साझेदारले ‘जालझेल गरी’ २६ वर्षमा लगानीको प्रतिफल पाउनुको सट्टा सरकारको हिस्सा अहिले ९ प्रतिशतमा झारिदिएको छ।

‘अहिलेको गतिमा हायातमा सरकारी सेयरको हिस्सा घट्दै गए केही वर्षभित्रै सरकारी सेयर झण्डै शून्य स्थितिमा पुग्नेछ,’संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले भने।   मन्त्रालयदेखि तारा गाउँ र होटलबाट ९ महिना अघि नै सबै कागजपत्र अख्तियारले आफ्नो नियन्त्रणमा लिइसकेको छ।

अर्कोतिर अर्बौं मूल्य पर्ने सरकारी जग्गा भने पूर्ण रुपमा निजी कम्पनीको हातमा पुग्ने भन्दै यसबारे पुनर्विचार गर्नुपर्ने सुझाव महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ। नेपाल सरकार अन्तर्गतको तारागाउँ विकास समितिले २०४९ सालमा १ सय ५० रोपनी जग्गा हायात होटल बनाउन दिएको थियो। त्योसँगै वर्षमा ३० लाख रुपैयाँ सरकारले पाउने गरी १४८ रोपनी जग्गा भाडामा दिइएको थियो।

प्रतिरोपनी १० लाखका हिसाबले जग्गाको १५ करोड र अन्य भौतिक संरचनाको थप २ करोड गरी कुल १७ करोड रुपैयाँ सरकारको लगानी मानिएको थियो। जोरपाटी जाने मूल सडकसँग जोडिएको हायात होटलले भोगचलन गर्दै आएको सरकारी जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँमात्र हिसाब गर्दा पनि त्यसको बजार भाउ अहिले १२ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ।

याे पनि : मजदुर आन्दाेलनले हायत होटल चार दिनदेखि ठप्प

जबकि त्यहाँको जग्गाको बजार भाउ अहिले प्रतिआना ५० लाख रुपैयाँ भन्दा धेरै छ। त्यति बहुमूल्यवान जग्गा हायात होटललाई उपलब्ध गराएबापत सरकारले पाउने सेयरको बजार मूल्य भने १७ करोड रुपैयाँ मात्रै छ।  व्यवस्थापन सम्हालेको निजी साझेदारले स्थापनाकालदेखि अहिलेसम्म होटलमा नाफा देखाएको छैन।

सरकारले यसबाट एक पैसा पनि प्रतिफल पाएको छैन। उल्टो निजी साझेदारले राधेश्याम सर्राफले होटल घाटामा गएको भन्दै लगानी बढाउँदै लगेको देखाएको छ। यस विषयमा अख्तियारमा दर्जनाैं उजुरी परेको र अहिले सबै कागजपत्र लिएको छ। विगतमा मन्त्रालयबाट प्रतिनिधि बनेर जानेहरुले यसको जवाफ अब अख्तियारलाई दिनु पर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए।

२०४९ असोज २२ गते तारागाउँ विकास समिति, आइसिटिसी ग्रुप र राधेश्याम सर्राफबीच भएको सम्झौतामा हायात होटलमा सरकारको ३९.७७ प्रतिशत र निजी साझेदारको ६०.२३ प्रतिशत सेयर निर्धारण गरिएको थियो।

पछिल्लो समय कोरियन डेभलपेमन्ट बैंक सिंगापुरले ४ लाख ९ सय कित्ता अग्राधिकार सेयर र साधारणतर्फको ४२ हजार ७ सय ८० कित्ता शेयर आइसिटिसी होल्डिङ कम्पनीलाई बेचेको छ। त्यस्तै, साधारणतर्फको बाँकी ५ लाख १४ हजार १ सय ७५ कित्ता सेयर डोमिनियन इन्भेष्टमेन्ट र अग्राधिकारतर्फको ४ लाख ४७ हजार डोमिनियन इन्भेष्टमेन्ट हङकङलाई बेच्न सैद्धान्तिक सहमति दिइएको छ।

हाल होटलमा सर्राफको १२.२५ र आइसिटिसीको ७.८९ प्रतिशत शेयर छ। त्यस्तै, आइसिटिसी होल्डिङ कम्पनीको १०.०९, डोमिनियन इन्भेष्टमेन्ट हङकङको २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेडको ९.५३, तारागाउँ विकास समितिको ९.०१ प्रतिशत र सर्वसाधारणसहित अन्यको ३२ प्रतिशत हिस्सा छ।

डोमिनियन सर्राफकै मान्ने हो भने उनको लगानी ४२ प्रतिशतभन्दा बढी हुन आउँछ। सुरुमा उनको लगानी ३३ प्रतिशत मात्रै थियो।  सरकारजस्तै यो परियोजनामा लगानी गर्ने सर्वसाधारणले पनि हालसम्म कुनै प्रतिफल पाएका छैनन्।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्