धिमे बजाउने केटी
काठमाडौं, जेठ १८ : इन्दिरा लाछिमस्यूले सानैदेखि सुन्दै आएकी थिइन् – छोरी मान्छेले धिमे बजाउनु

काठमाडौं, जेठ १८ : इन्दिरा लाछिमस्यूले सानैदेखि सुन्दै आएकी थिइन् – छोरी मान्छेले धिमे बजाउनु हुँदैन !
इन्दिरा पनि ‘होला नि त’ भन्दै धिमेबाट परै रहन्थिन्।
तर, उनको भक्तपुर, दत्तात्रेयस्थित घरमा दिनदिनै धिमे बज्थ्यो। बुवा र दाइहरू धिमे बजाउन पोख्त थिए। धिमेकाे धून सुनेर उनी पनि यो परम्परागत नेवारी बाजाको प्रेममा परेकी थिइन्। उनको मनमा हरदम धिमेकै धून गुञ्जिरहन्थ्यो।
एक दिन उनको घरमा अरु कोही थिएनन्। उनी थिइन् र बुवा–दाइले बजाउने धिमे बाजाहरू थिए। उनको मनमा लामो समयदेखि दबेर बसेको धिमे बजाउने रहर एक्कासि जागृत भयो।
उनले डराई–डराई धिमे बजाउन थालिन्। पहिलो दिन खासै भाका टिपेन। तर, अर्को दिनदेखि घरमा बुवा र दाइ नभएको मौका छोपेर धिमे बजाइहाल्थिन्।
भिडियाे
एक दिन घरमा एक्लै छँदा उनले धिमे बजाइरहेकी थिइन्। जर्मन नागरिक गेर्ट वाङ्गर टुप्लुक्क उनको घर पुगे। काठमाडौं विश्वविद्यालयमा बाजा प्रशिक्षण दिन आएका यी जर्मन नागरिक उनकै घरमा टोलका केटाहरुलाई धिमे सिकाउँथे । तर, उनले कहिल्यै इन्दिराले धिमे बजाएको सुनेका थिएनन्।
इन्दिराको धिमे बजाउने कला देखेर वाङ्गर दङ्ग परे। उनले इन्दिराको कलाको तारिफ मात्रै गरेनन्, उनका बुवालाई समेत छोरीलाई धिमे बजाउन प्रेरित गर्न आग्रह गरे।
त्यो २०५१ सालको कुरा हो। त्यस बेला इन्दिरा लाछिमस्यू ११ वर्षकी मात्रै थिइन्। त्यस बेलादेखि इन्दिराले घरमै धिमे बजाउन तालिम लिन थालिन्। धिमे उस्ताद गणेश बहादुर सिजुकीले पनि उनको धिमे कलालाई धार दिए। हेर्दाहेर्दै नेपालकै पहिलो धिमे वादक महिलाको रुपमा उदाइन्।
घर–परिवारबाट साथ पाए पनि त्यो बेला महिलाले धिमे बजाएको भक्तपुरको नेवार समाजले पचाएन। कति उनको कुरा काट्थे। तर, उनले कसैको कुरा सुनिनन्। आफ्नै धूनमा मग्न भइन्।

उनी सम्झिन्छिन्, ‘म घरबाट निस्किने बित्तिकै सबै मैतिर हेर्थे। उ, धिमे बजाउने केटी भन्दै मतिर औंला तेर्स्याउँथिन्। कतिले जिस्काउँथे, कतिले होच्याउँथे। तर, मैलै आफ्नै बाटो हिँडें।’
बजाउन सिकेको ६ महिनापछि नै उनले धिमे बजाउँदै मन्दिर जाने अवसर पाइन्। पहिले केटाले धिमे बजाएको मात्रै देखेका भक्तपुरबासीले केटीले धिमे बजाएको देख्दा जिब्रो टोकेको उनी अझै सम्झिन्छिन्।
महिलाले धिमे बजाउनु हुन्न भन्ने अन्धबिश्वास तोड्न सकेकोमा गौरवान्वित रहेको उनले सुनाइन्।
रहरमा सिकेको धिमे बाजा अहिले उनको पेशा भइसकेको छ। उनी भतmपुरका विभिन्न विद्यालयका विद्यार्थीलाई धिमे बजाउन सिकाउँछिन्। उनको घरमै पनि धिमेको ट्यूशन लिन विद्यार्थीहरू आउँछन्।
उनले कुटुम्ब र सुरसुधाजस्ता प्रख्यात शास्त्रीय सङ्गीत समूहका लागि समेत धिमेको प्रस्तुति दिइसकेकी छिन्। आफ्नो कला प्रदर्शन गर्न भारत, इटली, जर्मनी र थाइल्याण्ड लगायतका देशको भ्रमणसमेत गरेकी छिन्, उनले।
उनलाई नेपाल सांस्कृतिक संघले पहिलो धिमे वादक महिलाको रुपमा सम्मान गरेको छ। उनले आफ्नै पहलमा दतात्रेय सांस्कृतिक समूह स्थापना गरेकी छिन्, जसका सबै सदस्यहरू महिला छन्।











