Kathmandu Press

कीर्तिमानी सगरमाथा आरोही कामीरिता भन्छन् : सरकारले शेर्पाहरूलाई लुटिरहेको छ

काठमाडौं, जेठ १२ : जिन्दगीमा एक पटक भए पनि सगरमाथाको शिखर पुग्न पाए हुन्थ्यो भन्ने कामना धेरैको

कीर्तिमानी सगरमाथा आरोही कामीरिता भन्छन् : सरकारले शेर्पाहरूलाई लुटिरहेको छ
रिवाज राई

काठमाडौं, जेठ १२ : जिन्दगीमा एक पटक भए पनि सगरमाथाको शिखर पुग्न पाए हुन्थ्यो भन्ने कामना धेरैको हुन्छ, तर सोलुखुम्बुका कामीरिता शेर्पाले भने २४ पटकसम्म सगरमाथा चढेर सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर चुम्ने कीर्ति कमाएका छन्।

४९ वर्षीय कामीरिताले यसपटक एउटै सिजनमा दुई पटक सगरमाथा चढेर आफ्नो कीर्तिमान झन् बलियो बनाएका छन्।

कामीरिताले गत सिजन २२ औं पटक सगरमाथा चढेर आप्पा शेर्पा र फुर्वा टासी शेर्पाको संयुक्त रेकर्ड तोडेका थिए। आप्पा र फुर्वाले २१–२१ चोटि सगरमाथा चढेका छन्।

Hardik ivf

सन् १९९४ देखि यता हरेक सालजसो सगरमाथा चढ्दै आएका कीर्तिमानी कामीरिता शेर्पासँग आइतबार काठमाडौंको कपनस्थित उनकै निवासमा काठमाडौं प्रेसले गरेको कुराकानी–

सगरमाथा चढेर फर्किदा कस्तो लाग्छ?

आफूले गरेको काम सफल हुँदा खुशी लाग्छ। यसपालि पनि आफ्नो एउटा दायित्व पूरा गरेर आएको छु। आफ्नो काम राम्रोसँग गरेर फर्किदा, परिवारसँग भेट्न पाउँदा खुशी लाग्छ। आनन्दको अनुभव हुन्छ।

सन् १९९४ मा पहिलोपटक सगरमाथा चढ्दा कुनै दिन २४ औं पटक विश्वको सर्वोच्च शिखर पुग्छु भन्ने लागेको थियो?

अहँ, त्यस्तो लागेन। म त निरन्तर आफ्नो काम गर्ने मान्छे। जसरी ट्याक्सी ड्राइभरले ट्याक्सी नचलाए कसले चलाउँछ, त्यसरी नै हामीले सगरमाथा नचढे कसले चढ्छ? हामीले विदेशीलाई हिमाल आरोहण गराएनौं भने कसले गराउँछ त? हामी आफ्नो लागि हिमाल चढ्ने होइन, नेपालको लागि चढ्ने हो। नेपालमा पर्यटक आउँछन् भनेर चढ्ने हो। 

भिडियाे

अझै कतिपटक सगरमाथा आरोहण गर्नुहुन्छ?

भविष्यको कुरा भविष्यमै थाहा हुन्छ। म अहिले नै यतिपटक सगरमाथा चढ्छु भन्दिनँ। मलाई स्वास्थ्यले जतिपटक साथ दिन्छ, त्यति पटक आरोहण गर्छु। अर्को वर्ष ५० वर्ष पुग्दैछु, त्यस बेला २५ औं पटक आरोहण गरेर सिल्भर जुब्ली मनाउने, किताब निकाल्ने बिचार छ। मेरो आफ्नो बारेमा लेख्छु। 

२४ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किने क्रममा कामिरिता शेर्पा शनिवार त्रिभुवन विमानस्थलमा

सगरमाथा र शेर्पाको नाता के हो?

सगरमाथा छ त शेर्पाहरू छन्। शेर्पाहरू छन्, यसैले हिमाल चढ्न विदेशीहरू नेपाल आउँछन्। नत्र उनीहरू नेपाल किन आउँथे? हामी सबैलाई पालेको नै हाम्रो हिमालले हो, सरकारले होइन। सरकारले हामी शेर्पाहरूलाई केही ध्यान दिएको छैन। 

त्यसो भए सरकारले शेर्पाहरूका लागि के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?

सरकारले अहिलेसम्म त केही गरेको छैन। अब पनि केही गर्दैन। अरु देशमा आरोहण गरेर आएकालाई कत्रो सम्मान हुन्छ! भत्ता हुन्छ! यहाँ कुनै मतलब छैन। अब यहाँ १० वर्षपछि हिमाल चढ्ने शेर्पाहरु हुँदैनन्। अनि बल्ल सरकारले थाहा पाउँछ। 

तपाईंहरूको सामाजिक सुरक्षा नभएको हो?

हाम्रो केही पनि छैन। सरकारले शेर्पामाथि लुट गरिरहेको छ। हामीलाई हाम्रा छोराछोरीलाई शिक्षा दिने भन्ने कुराले नै सताउने गर्छ।

हिमाल आरोही शेर्पाका समस्याहरू के के हुन्?

धेरै छन्। यो आरोहण क्षेत्रमा सरकारले केही पनि गरेको छैन। सरकारलाई थाहै छैन–आरोही भनेको के हो भनेर। यो नेपालको सम्पत्ति हो। सरकारले हेर्नुपर्ने हो। तर, केही भएकै छैन। 

आरोहणको क्रममा शेर्पासहित धेरैको मृत्यु हुने गरेको छ। उनीहरूको सुरक्षाका लागि के गर्नुपर्छ?

अहिलेसम्म आरोहणको क्रममा कुनै शेर्पाको मृत्यु भएकै छैन। प्राकृतिक विपतमा बाहेक हिमाल आरोहणको क्रममा कुनै शेर्पाको मृत्यु भएको छैन। बाहिर आएको कुरा गलत हो। गाइडले भनेको नमान्ने, जिद्दी गर्नेहरूको मात्रै मृत्यु हुने हो।

सगरमाथा ट्रफिक जाम हुँदा पनि मृत्यु संख्या बढेको हो?

ट्राफिक जाम हुँदा धेरै आरोहीको हातखुटा हिउँले खाने गर्छ। ट्राफिक जामलाई देखाएर आरोहीको मृत्यु भयो भन्नु गलत हो। त्यहाँ वातावरण बुझ्न नसक्दा, स्वास्थ्य कमजोर भएर मृत्यु हुने हो। ट्राफिक जाम अहिले मात्र भएको होइन, यो पहिलेदेखि नै हुने गरेको हो। 


 

प्रकाशित मिति: १९:१८ बजे, आइतबार, जेठ १२, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्