मार्दी-माछापुच्छ्रे हिमाल ट्रेक डायरी
देश नघुमी देश बुझिन्न। देश घुम्दा आन्तरिक पर्यटन पनि बढ्छ। अझ प्रकृतिको नजिक जाने हो भने त तन, मन र शरीर पनि ‘र
देश नघुमी देश बुझिन्न। देश घुम्दा आन्तरिक पर्यटन पनि बढ्छ। अझ प्रकृतिको नजिक जाने हो भने त तन, मन र शरीर पनि ‘रिचार्ज’ हुन्छ। यसैले, हाम्रो परिवारले एक दशकअघि नै वर्षमा एकपटक नेपाल घुम्ने नीति बनाएकाे थियाे।
यही योजनाअनुसार यसपालि हामी मार्दी (र माछापुच्छ्रे) हिमालको पदयात्रामा निस्कियौँ, केहि मित्रहरुसहित। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यस पदयात्रा एकदमै मनमोहक सावित भयो। वसन्त त्रृतुमा बाटैभरि बहुरंगी गुराँसकाे वनले ढाकिएका चुचुराहरू देखिन्छन्। बाटामा एकाध गाउँहरू र प्रशस्त चराचुरुंगीहरु भेटिन्छन्।
अन्नपूर्ण हिमश्रृंखला र अन्य हिमालहरूलाई नजिकबाट नियाल्न मिल्ने सबैभन्दा छोटो ट्रेकमध्ये एक हो – मार्दी (माछापुच्छ्रे) हिमाल ट्रेक।
माछापुच्छ्रे सामु रहिरहने यो पदयात्रालाई किन मार्दी हिमाल ट्रेक भनिँदाे रहेछ भन्ने कुराकाे रोचक तथ्य माछापुच्छ्रे हिमालको फेदमा पुगेपछि बल्ल थाहा पाइन्छ–पोखराबाट देखिने माछापुच्छ्रे हिमाल त खासमा दुई भिन्न हिमाल रहेछ। नजिक पुगेपछि थाहा हुन्छ–माछापुच्छ्रेको ठीक अगाडि मार्दी हिमाल पनि रहेछ। टाढाबाट हेर्दा मार्दी हिमाल देखिन्न, माछापुच्छ्रे मात्र देखिन्छ।
भिडियाेमा हेराै
अन्त कुनै लामो पदयात्रा गर्नुभएको छैन भने मार्दी जानुहोस्। मार्दीले तपाईंलाई पदयात्राको मोहनी लाइदिन्छ। विशेष गरी नेपाली यात्रुका लागि यो प्रकृतिसँग नजिक हुँदै घुमघाम गर्ने मनै रमाउने सुरूवात हुनसक्छ।
मार्दीलाई हेर्दा सजिलो तर बेमौसममा अत्यन्तै जोखिमपूर्ण पदयात्रा पनि मानिन्छ। तर, उपयुक्त समय छान्ने हो भने र केही अनुशासन पालना गर्ने हो भने मार्दी पारिवारिक पदयात्राका लागि पनि उपयुक्त हुनसक्छ। हिउँ परेको बेला र वर्षा यामबाहेक वसन्त र शरदमा यो बालबच्चा भएका परिवारका लागि पनि उपयुक्त हुनसक्छ। मार्दीको आधार शिविरैसम्म पुग्न भने अनुभवी गाइड चाहिएला। उनीहरूको सहयोगबिना त्यहाँको हिउँ, टाकुरा र चिप्ला बाटो पार गर्न गाह्रो देख्यौँ। र यस यात्रामा २०१९ मा एक नेपाली यात्रुले दैनिक दुई हजार रूपैयाँ आवास, बिहानको खाजा, दिउँसो र रातिको खाना खर्च जोहो गरे राम्ररी पुग्न सक्छ। याद राखिराख्नु पर्ने यो ट्रेक भरि खाना चाहिँ एउटै मेनु सेट (करिब २५–३० थरीका खानाहरुका थरि) भित्रको मात्र पाइन्छ जुनै पनि होटेलमा।
ल शुरु गरौँ यात्रा
पहिलो दिनः काठमाडौं (१,३०० मिटर) देखि पोखरा (८३२ मिटर) हुँदै काँडेबाट हिँडेर अष्ट्रेलियन क्याम्पसम्म (१,९०० मिटर)
हामी बुद्ध एयर चढेर काठमाडौँबाट पोखरा पुग्यौँ। हावाहुरी चलेको हुनाले पोखरा पाँच घण्टा ढिलो मात्र पुग्यौँ। पोखरादेखि तुरुन्तै एउटा जिप भाडामा लिएर हामी ५ जना काँडे भन्ने राजमार्गमा जोडिएको पदयात्राको प्रस्थान बिन्दुसम्म पुग्यौँ। बाग्लुङ र बेनी जाने बाटोमा पर्ने काँडे पुग्न एक घण्टा अलि बढि लाग्यो। काँडेदेखि हामी बिस्तारै अस्ट्रेलियन बेसक्याम्प रहेको पहाडतर्फ उकालो हिँड्न थाल्यौँ। शुरुदेखि नै एउटा कालो भोटे कुकुरले हामीलाई राजमार्गदेखि उकालो बाटोसम्म बाटो डोर्याउँदै लग्यो। हामीले पछि थाहा पायौँ कि यो कुकुरको बानी नै यात्रुहरुलाई अस्ट्रेलियन बेसक्याम्पका होटेलदेखि राजमार्गसम्म ल्याउने र लैजाने रहेछ। उकालो जाँदै गर्दा, फेवा ताल र ‘लेकसाइड’ देखिन्छ। पोखरा क्षेत्रका हिमाल र ताल हाम्रो कति नजिक छन् भन्ने यहाँ अनुभव हुन्छ। करिब डेढ घण्टा हिँडेपछि घाम अस्ताउनै लाग्दा अष्ट्रेलियन क्याम्प पुग्यौँ।
त्यहाँ जंगलको बीचमा चार-पाँचवटा सुन्दर लजहरू भेट्यौँ। त्यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य मज्जाले देखिदोँ रहेछ। पोखराबाट एक रातको लागि भए नि आउन मिल्ने मनोरम ठाउँ लाग्यो यो हामीलाई।त्यहाँ हामी एञ्जल गेष्ट हाउसमा बस्यौँ। त्यहाँ ‘अट्याच बाथरूम’ र तातो पानी आदि भएका सुविधासम्पन्न कोठाहरू सात सयदेखि पन्ध्र सय रूपैयाँमा पाइयो।
फोन चेक गर्दा हामी काँडैबाट जम्मा हामी ७ किलोमिटर हिँडेका रहेछौ, १२ हजार पाइला लिई ९४ तलामाथी उक्लिएछौँ।
दोश्रो दिन: ‘अष्ट्रेलियन क्याम्प’ देखि (१,९५० मिटर) देखि पोथाना, देउराली, दुधखर्क हुँदै ‘फरेस्ट क्याम्प’ (२,५०० मिटर)
आज हामी १६ किलोमिटरभन्दा लामो अर्थात् २८ हजार पाइला वा एक सय ८१ तला उक्लियौँ।
वास्तविक हिँडाइ आजदेखि सुरू भयो। बिहान आठ बजे निस्कियौंं। र आधा घण्टा जति हिँडेपछि थोरै लज भएको एक विश्रामस्थल पोथाना पुग्यौं। त्यहाँ केही साथीले प्लास्टिकको बर्साती किने। यो प्लास्टिकको एउटा ‘शिट’ हो, जसले पूरै शरीर र झोला गम्लङ्ग छोप्छ। यसपालि वसन्त त्रृतुमा बेला न कुबेला पानी परिरहेको थियो। रेन ज्याकेट नल्याउनेलाई यस्ता बर्सातीले ठूलो राहत दिएको हाम्रो पूर्वअनुभव पनि थियो।
त्यहाँबाट एक घण्टा हिँडेपछि हामी देउराली पुग्यौँ। मीठो दालभात तरकारी खायौँ। उकालो चढ्दै जाँदा दुर्गम स्थानमा दुर्लभ हुने भएकाले हामीले केही फलफूल पनि किन्यौँ। खाना खाएपछि हामी ठाडो उकालो लाग्यौँ र सूर्य डाँडास्थित पहिलो बिसौनी पुग्यौं। पूरै जङ्गल रातो, सेतो र गुलाबी गुराँसले ढकमक्क थियो।
यो यात्रा पूरा गर्न ६ घण्टा लाग्यो। जंगल पनि हुस्सुले छपक्कै छोपेको थियो। “लर्ड अफ द रिङ्स” फिल्म हेर्नु भएको छ भने यस यात्रामा हिँडेका बाटाहरु त्यस्तै लाग्यो हामीलाई। जंगलको पुछार पुगेपछि हामीले ४-५ बटा लजहरु भेट्यौं जसलाई (कोकर) फरेस्ट क्याम्प भनिँदो रहेछ। हामी त्यही बास बस्यौं।
हामी बसेको मार्दी गेष्ट हाउस हामीले खोजेजस्तो गुणस्तरीय थिएन। खाने र बस्ने दुवैको व्यवस्था राम्रो लागेन। भावी यात्रुका लागि भने दुईवटा नयाँ लज बन्दैछन्। उनीहरूले ताजा र राम्रा विकल्प पाउँलान् भन्ने आशा गरेका छौँ।
तेश्रो दिन: (कोकर) फरेस्ट क्याम्पदेखि लो क्याम्प, मिडल क्याम्प र बादल डाँडा (३,२५० मिटर)
आज तय गरिएको दूरी १० किलोमिटर, २०८ तल्ला उक्लिएको र १७,००० पाइला लिएको।
बिहान करिब आठ बजेर बीस मिनेटमा कोदाको रोटी खाएर हामीले यात्रा सुरू गर्यौँ। झण्डै ४५ मिनेट हिँडेपछि एउटा लज पुग्यौँ। त्यसलाई ‘रेस्ट क्याम्प’ भनिँदो रहेछ। त्यहाँबाट हामीले माछापुच्छ्रे हिमाल प्रष्ट र एकदमै नजिक देख्यौँ। जंगल बीचबाट दुई घण्टा हिँडेपछि हामी ‘लो क्याम्प’ पुग्यौँ। मध्यदिन हुनुअघि हामी ‘भिउप्वाइन्ट लज’ पुग्यौँ अनि आराम गर्यौँ। हामीले त्यहाँ त्यतिबेलासम्मको यात्रा अवधिकै मीठो खाना पनि खायौँ। एक छाक परम्परागत दालभात र स्थानीय साग तरकारीका लागि जनही पाँच सय रूपैयाँ तिर्यौँ।
दिउँसो दुई बजेदेखि फेरि हिँड्न सुरू गर्यौँ। केही बेर सिमसिम पानी पनि पर्याे। बिस्तारै साढे दुई घण्टा हिँडेपछि ‘मिडल क्याम्प’ पार गर्दै हामी बादल डाँडा पुग्यौँ। डाँडाको टुप्पोमा दुवैतिरबाट कुहिरा आउने र जाने गर्ने भएकाले शायद यसलाई त्यसो भनिएको हो। चारैतिर फुलेको लालीगुराँसले यो जङ्गल प्रशिद्ध चित्रकार ‘मोनेए’ले बनाएको कुनै सुन्दर पेन्टिङ झैं लाग्थ्यो।
बादल डाँडामा हामी एक्लो होटेल प्यानोरामामा बस्यौँ। केही रूसी युवतीहरु र इजरायलबाट आएका बाबु-छोरी पनि त्यहीँ बसेका थिए। रातिको खानामा तारेको आलु र चिज पिज्जा खाएँ। फ्रेञ्च फ्राइस र भेज मोमो मिठो थियो।
रातिकाे १ बजे निद्रा खुल्यो - शायद उच्च “एल्टिटुड”ले होला। बाहिर यसो जाँदा आकाश त ताराहरुले लटरम्म टल्किरहेको थियो। शायद राति तारा गनेर बस्ने ‘स्टारगेजर’का लागि आकाशगंगाको प्रष्ट चित्र हेर्ने यो सुवर्ण ठाउँ हो। यस्तो सफा आकाशतिर केहिबेर एकोहोरो हेरी गम्न थालेँ। अकस्मात सोच आयो, यस्तो मनरोम दृष्य हेर्न आउने पर्यटकहरु किन छैनन्? यहाँका हरेक पहाड उनीहरुको लागि गन्तव्य हुने थियो। दिनमा हिमाल र लालीगुराँस र रातमा अजम्बरी ताराहरु देख्ने ठाउँ कहाँ हाेला र?
मनमा एउटा प्रश्न खट्कियो - “नेपालमा अहिलेसम्म किन एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल होला? त्यो पनि ७० वर्ष अघि बनेको हो। त्यसपछि किन अरु बनेनन् होला?”
चौथो दिन: बादल डाँडा (३,२५० मिटर) देखि ‘हाइ क्याम्प’ (३,५५० मिटर)
तय गरिएको दूरी हेर्दा हामी करिब १० किलोमिटरको हिँडेछौँ र उकाली ७० तला र १५ हजार पाइला हिडेछौँ।
बादलडाँडाबाट प्राकृतिक परिदृश्य पनि मज्जाले परिवर्तन हुन्छ । जङ्गल छुट्दै जान्छ। झाडीका पोथ्रापोथ्री र याकहरुको चरन गर्ने खालको “एलपाईन” घाँसहरु भेटिन्छ। सबेरैदेखि माछापुच्छ्रे हिमालदेखि हिमालयको अन्नपूर्ण हिमश्रृंखलाको ‘प्यानोरामिक भिऊ’ देखिन्छ। त्यसको ठ्याक्कै अघिल्तिर मार्दी अलिअलि छुट्टिन्छ।
‘हाइ क्याम्प’ जाने बाटो वरपर याक चरिरहेको देख्यौँ। त्यहाँ पुग्न दुई घण्टा लाग्यो। पुगेर नमस्ते होेटेलमा बसेँ। नेपालको सबै कुनाबाट आएका स्थानीयसँग अन्तरक्रिया गरेर रमाइलो समय बितायौँ। ‘हाइ क्याम्प’ गुराँसले घेरिएको छ। लेक लाग्नबाट जोगाउने ताजा लसुनको रस खाएँ। उनीहरूले बनाएको पिज्जा एकदमै मीठो थियो। नयाँ लज बन्दै गरेको देख्दा खुशी लाग्यो। यो स्थान निकै लोकप्रिय बन्दै गएको रहेछ। विशेषगरी हामीजस्ता स्थानीय पर्यटकमाझ र कतिपय ठाउँमा नेपाली पर्यटकहरु नै बढि रुचाएको पनि पायौँ जसले बदलिदोँ नेपालको संकेत दियो मलाई। हामीले त्यो दिनभरि होटेलको डाईनिंगको न्यानोमा आराम गरेरै बितायौँ। भोलिपल्ट चार हजार मिटर भन्दा माथीको ‘भिउ पोइन्ट’ पुग्ने तयारी गर्नु थियो। अझ पर करिब पाँच हजार मिटर अग्लो मार्दी आधार शिविर पनि पुग्न सकिन्छ। शायद भोलीको दिन नै हामी माछापुच्छ्रे र मार्दिको सबैभन्दा नजिक पुग्नेछौँ होला।
पाँचौं दिनः ‘हाइ क्याम्प’ देखि ‘अप्पर भिउ पोइन्ट’ (४,१३० मिटर) अनि फर्की ‘हाई क्याम्प’मा खाना, त्यसपछि ‘लो क्याम्प’ (३,००० मिटर)
तय गरिएको जम्मा दुरी १७ किलोमिटर वा १३२ तला वा २८ हजार पाइला।
बिहान चार बजे नै उठ्यौँ। करिब पौने पाँच बजेतिर हिँड्न सुरू गर्यौँ - अध्याँराेमा हेड ल्याम्पको सहाराले। यति माथि राम्रो टोपी र पन्जाको पनि आवश्यकता पर्न सक्छ, हामीले प्रयोग गर्याैँ। त्यति अग्लो स्थानमा हावामा अक्सिजनको मात्रा कम भएको हुनाले चाडैँ नै स्याँ स्याँ हुन्छ। यो बिहानको हिडाइँ एकदमै कठिन थियो हाम्रो लागि। बिहान ७ बजेसम्म अग्ला चट्टान, चिप्लो र भिरालो बाटो काट्दै मार्दी- माछापुच्छ्रेमा सूर्योदय हेर्दै ‘लोअर भिउ पोइन्ट’ पुग्यौँ, जहाँ हिउँले लटरमम्म भरिएको थियो ।
एक जना सिदिंगका स्थानीयले अस्थायी चियापसल खोलेका रहेछन्, त्यहाँमाथि। पर्यटन मौसमका बेला हरेक दिन बिहान चार बजे उठी पसल पुग्ने र १० बजे फर्किने उनको दैनिकी रहेछ। त्यहीँ तातो चिया (र नेपालमा ट्रेकिङको सर्वाधिक लोकप्रिय – नेबिको कोकोनट बिस्कुट) खाएपछि हामी ‘अप्पर भिउ पोइन्ट’ उक्लिन थाल्यौँ। बाटोमा केही लोखर्के र चराहरु पनि देख्यौँ। यो ठाउँतिरको विशेषता डाँफे हो। एउटा त ‘रेड पान्डा’को सानो प्रजातिजस्तै जनावर देखेँ तर दुर्भाग्यवश फोटो भने खिँच्न पाइनँ।
बाटोभरि रङ्गीचङ्गी बोटबिरूवा थिए। त्यहाँबाट देखिने मनोरम दृश्यको बयान गरी साध्य छैन। मौसम पनि सफा थियो। बादल लागेको थिएन। मज्जाले ३६० डिग्री वरिपरि हेर्दै हिँउमा खेल्दै आनन्द लियौँ। जति माथि गयौँ , एकदमै कठिन ढलानहरु थिए। त्यसैले पूरै आधार शिविर नपुग्ने निधो गर्यौँ। हिउँले गर्दा पनि अलि कठिन महसुस भयो।
बिहान करिब साढे नौ बजे हामी ‘हाइ क्याम्प’ ओर्लिन सुरू गर्यौँ। ‘हाइ क्याम्प’मा मीठो खाना खायौँ र दिउँसो एक बजेतिर ‘लो क्याम्प’ झर्यौँ। ‘मिडल क्याम्प’को ‘ट्विन पिक्स लज’ पुगेर मीठो चियाको चुस्की लिँदै पहाडका टाकुरामा कुहिरो लागेको र एक आपसमा ठोक्किएको आनन्द मानेर हेरिरह्यौँ।
‘हाइ क्याम्प’मा स्थानीय व्यवसायी र कर्मचारीसँग गज्जबको भलाकुसारी भयो। त्यहाँको पर्यटनबारे छलफल भयो। यहाँको सुरक्षा मापदण्ड सुनिश्चित गर्न सके पर्यटनको प्रचुर सम्भावना छ। विशेषगरी पानी पर्दा र ‘हाइ क्याम्प’भन्दा माथि हिउँ पर्दा, यहाँ सुरक्षित पदमार्ग बनाउनु आवश्यक देख्यौँ। यहाँ डाउन ज्याकेट आदि जस्तो न्यानो तर हलुको लुगाहरुको आवश्यकता पर्छ है।
राति ‘लो क्याम्प’स्थित ‘होटेल भिउपोइन्ट’ बस्यौँ। त्यहाँ निकै न्यायो र आरामदायी रहेछ।
छैठौं दिन: ‘लो क्याम्प’ (३,००० मिटर) देखि ‘फरेस्ट क्याम्प’, कालिमाटी हुँदै घलेल गाउँ
तय गरेको दूरी जम्मा १७.५ किलोमिटर वा २७ हजार पाइला र ओरालो मात्रै
आज पूरा दिन झण्डै २ किलोमिटरभन्दा बढी उचाइ ओर्लियौँ। हामीसँग भएको दुईटै हिँड्ने लठ्ठीको भरपूर प्रयोग गर्यौँ - खुट्टाहरुले धन्यवाद दिने गरी। बिहानै ‘फरेस्ट क्याम्प’सम्म फर्कियौँ। अनि त्यहाँ नास्ता खाई कालीमाटी पुगेर खाना खायौँ। अब भने खोलानालाहरु देखिन थाले। एकान्तमा कालीमाटी गाउँ पार गर्दै घलेल गाउँको ओर्लियौँ। साझँपख घलेल स्थित ‘पोखरा क्यान्योनिङ’ भन्ने रेजोर्ट आइपुग्यौँ जसको बगलमै छङछङ बग्ने बडेमानको झरना थियो। सुक्खा मौसममा भए पनि यहाँ पानी प्रसस्तै थियो। ‘अट्याच’ बाथरुम र तातो पानी भएकोले आनन्दले नुहाउन पनि पायौँ। लामो ओरालोका बाटोको थकाईबाट साँच्चैको राहत मिल्यो।
सातौं दिन: लुम्रेदेखि पोखरा (८३२ मिटर)
बिहान मज्जाले झरनामा पौडी खेल्यौँ। मध्य दिन लाग्दै गर्दा त्यहाँबाट हामी लुम्ले गाउँ छिर्यौँ र स्थानीय जिप लिएर पोखरातर्फ लाग्य़ौँ। एक घण्टाको यो यात्राको मार्दी खोलाको तिरैतिर पोखरा जाने राजमार्गसम्म जाँदो रहेछ र एक जनाको सय रूपैयाँ लाग्दो रहेछ । ठाउँठाउँमा नदी नै पार गर्नुपर्ने यो बाटो खोलानालासँग पौंठेजोरी खेल्दै रमाइलो गरी पूरा गरियो। राजमार्गदेखि बस चढेर लेकसाइड नजिकै पुग्यौँ। र अर्काे गाडी चढी फेवातालको किनार पुग्यौँ र त्यहींको एक स्थानीय होटलमा बास बस्यौँ। ओआरटुके नाम गरेको एउटा लोकप्रिय शाकाहारी रेस्टुरेन्टमा मीठो खाना पनि खायौँ।
भोलिपल्ट बिहान लेकसाइडदेखि काठमाडौंसम्म एउटा टुरिस्ट बस समात्यौँ। ट्राफिक जाम र ढिलाइका कारण ५-७ घण्टा लाग्ने बाटो छिचोल्न हामीलाई १० घण्टै लाग्यो।
यसरी मार्दी/ माछापुच्छ्रे ट्रेकको अन्त्य गर्याैँ। हाम्रो लागि एकदमै राम्रो पारिवारिक यात्रा रह्यो। हरेक नेपाली परिवारलाई यो छोटो पदयात्रा गर्न म एकदमै प्रोत्साहन गर्दछु।
यात्रा दुई दिनले छोट्याउन चाहे यो नोट पढौँ:
एक वैकल्पिक यात्रा छ है। ‘हाइ क्याम्प’बाट ‘लो क्याम्प’ हुँदै सिधिङ गाउँमा बसेर वा त्यही दिन त्यहाँबाट हजार रुपैयाँ तिरेर जीप लिई पोखरा पनि पुग्न सकिन्छ। तर धेरै न धपेडी हुन्छ है - हाम्रा मित्रहरुका अनुसार जो यसरी फर्के।
उज्वल थापा विवेकशील नेपाली दलका अध्यक्ष हुन्। वहाँको अरु पनि नेपाल भित्रका यात्राहरुले भरिएको ब्लग पढ्न यहाँ जानुहोला: www.whynepal.com