कान्छा कपाली पछि कोही न कोही
ललितपुर – वर्षा र सहकालका देउता रातो मच्छिन्द्रनाथको रथ यात्रा अहिले धुमधामका साथ चलिरहेको छ।

ललितपुर – वर्षा र सहकालका देउता रातो मच्छिन्द्रनाथको रथ यात्रा अहिले धुमधामका साथ चलिरहेको छ। तर, यो १४ सय वर्ष पुरानो जात्रामा नभई नहुने सहनाई बाजा बजाउन जान्ने एक मात्र सहनाई वादक कान्छा कपाली भने पाटनको एउटा साँघुरो गल्लीमा वूढ्यौली र दमसँग लड्दैछन्।
केही वर्षअघिसम्म कान्छा कपालीले सहनाई बजाएपछि मात्रै मच्छिन्द्रनाथ रथ यात्रा सुरु हुन्थ्यो। दुई महिनासम्म चल्ने यो जात्रामा हरेक दिन मच्छिन्द्रनाथको रथ एक ठाउँबाट अर्को गन्तव्य पुगेको जनाउ पनि उनकै सहनाईको धूनले धुन्थ्यो। र, भोटो जात्रापछि उनले नै सहनाई बजाएर मच्छिन्द्रनाथ रथ यात्रा समाप्त भएको घोषणा गर्थे।
तर, यसपालि कान्छा कपालीको सहनाईबिनै मच्छिन्द्रनाथ जात्रा सुरु भयो। र, जात्राको अन्त्य पनि उनको सहनाईबिनै हुनेछ ।
किनकि, ७६ वर्षीय कान्छा कपालीको शरीर जीर्ण भइसकेको छ। उनी लामो समयसम्म घोक्रो फुलाएर सहनाई बजाउन सक्दैनन्। भीडभाडमा जानु त परकै कुरा भयो।
कान्छा कपालीका छोरा–नाति सहनाई बजाउन जान्दैनन्। न त कपाली समुदायका अरु युवाले नै यो कला सिक्ने चासो देखाए। यसैले, राजा सिद्धिनरसिंह मल्लको पालादेखि मच्छिन्द्रनाथ जात्रामा बजाइँदै आएको सहनाईको धून अहिले भने बज्न छाडेको छ।
मच्छिन्द्रनाथ जात्रा त कान्छा कपालीको सहनाई बाजाबिना पनि जसोतसो चलिरहेकै छ। तर, उनको जिन्दगी सकिएपछि पाटनकै अर्को जात्रा कार्तिक नाच त लोप नै हुने अवस्था छ।
कार्तिक नाचको अन्तिम दिन नरसिंह दैत्यको वध भएको खुशीयालीमा अप्सरा नृत्य मञ्चन गरिन्छ। अप्सराहरू सहनाईको तालमा नाच्छन्। सहनाईको धून नै गुञ्जिएन भने अप्सराहरू के सुरमा नाच्ने!
अहिलेसम्म कान्छा कपाली नै बूढ्यौली शरीर घिसार्दै कार्तिक नाच मञ्चन हुने ठाउँसम्म पुग्छन्। जसोतसो घोक्रो फुलाउँदै सहनाई फुकेर अप्सराहरू नचाउँछन्। तर, उनको सहनाई बन्द भएपछि अप्सराहरू नचाउने अर्को उस्ताद पाटनमा मात्र होइन, नेपालमै छैन। अप्सरा नाचबिना कार्तिक नाच अपूर्ण र निरर्थक हुन्छ।
कान्छा कपालीको सहनाई बजाउने कला युवा पुस्तामा हस्तान्तरण नहुँदा काठमाडौं उपत्यकाका धेरै अमूर्त सांस्कृतिक सम्पदाहरू (इन्ट्याञ्जिबल हेरिटेज)ले मौलिकता गुमाइरहेका छन्। अन्य कतिपय अमूर्त सम्पदाहरू त लोप नै हुने खतरा छ।

कान्छा कपालीले १५ वर्षकै उमेरमा सहनाई बजाउन सिके, आफ्नै बुवाबाट। बुवाको पछि लागेर उनी सहनाई बनाउन काठमाडौंका विभिन्न मन्दिर पुग्थे। जात्रामा सरिक हुन्थे।
उनी भन्छन्, ‘सहनाईसँग मेरो नङ र मासुको जस्तो सम्बन्ध छ। मलाई अझैं पनि पहिले जस्तै हरेक जात्रामा सहनाई बजाउन जान मन लाग्छ। तर, सक्दिनँ।’
शरीरले साथ दिँदासम्म कान्छा कपाली शंखमूलको नारायण मन्दिर, पाटन दरवार क्षेत्रको तलेजु मन्दिर, काठमाडौंको स्वयम्भु र भीमसेन मन्दिरमा पनि विभिन्न अवसर र समयमा सहनाई बजाउन जान्थे। यी मन्दिरमा सहनाई बज्न छाडेको धेरै भयो।
गाईजात्राको भोलिपल्ट मनाइने पाटनको एक महत्वपूर्ण जात्रा मतयाः अर्थात् दीप यात्रा पनि अचेल कान्छा कपालीको सहनाईबिनै चलिरहेको छ।
मतयाःमा नेवार महिलाले परम्परागत पहिरनमा मृतकका आत्माको स्मरण गर्दै दीप प्रज्वलन गरी ३२ वटा टोल परिक्रमा गर्ने चलन छ। यो परिक्रमामा सहनाई अनिवार्य थियो। तर, हिजोआज मतयाःमा सहनाई बजाइँदैन। किनकि, सहनाई बजाएर घण्टौं टोल परिक्रमा गर्न कान्छा कपाली सक्दैनन्।
यसैले विगत केही बर्षदेखि मतयाः मा सहनाईको सट्टा पाश्चात्य बाजा कनाठ बजाउन थालिएको छ। वाद्यवादन प्रशिक्षक विभूषण शाक्य भन्छन्, ‘पाश्चात्य बाजाले परम्परागत बाजाको ठाउँ लिँदैछ र हाम्रा जात्राहरूले मौलिकता गुमाउँदैछन्।’
किन सिकेनन् युवा पुस्ताले ?
पाटनमा करिब दुई सयको संख्यामा कपालीहरू बस्छन्। २०३८ सालमा पाँच खलक कपालीहरूले सहनाई बजाउँथे। हाल ललितपुरका हरेक जात्रामा सहनाई बजाउन जान्ने कान्छा कपालीमात्रै बाँकी छन्।
सहनाई बजाउने कपालीहरूलाई ‘तल्लो जात’ भनेर समाजले हेला गर्ने हुनाले कपाली युवाहरू यो बाजा बजाउने कला सिक्न इच्छुक नभएको कपाली समाजका ललितपुर जिल्ला सचिव राजु कपाली बताउँछन्।
भिडियाे
नेकु जात्रा मतयाः व्यवस्थापन समितिका पूर्वअध्यक्ष मोतिलाल शिल्पकारका अनुसार, सहनाई बाजाको संरक्षणका लागि करिब १५ वर्षअघि भारतको वनारसबाट केही थान सहनाईहरू ल्याइएका थिए। बनारसबाटै सहनाई बाजा प्रशिक्षकहरू पनि ल्याइएको थियो। तर, ‘तल्लो जातका मानिसले बजाउने बाजा’ भनेर कसैले पनि सहनाई सिक्न रुचि देखाएन।
राज्यले पनि सहनाई बाजाको संरक्षण र संवर्द्धनमा चासो नदिएको शिल्पकार बताउँछन्। ‘त्यतिबेला हामीले यस विषयमा स्थानीय निकायको समेत ध्यानाकर्षण गराएका थियौँ, तर खासै सहयोग पाइएन,’ उनी भन्छन्।
कान्छा कपालीका ४८ वर्षीय छोरा रत्नराम कपाली पनि राज्यले सहनाई संरक्षणमा ध्यान नदिएको बताउँछन्। उनी भन्छन्, ‘सहनाई बजाउनु सजिलो छैन। गर्दन फुलाएर भित्रदेखि स्वर निकाल्नुपर्ने भएकोले निकै गाह्रो हुन्छ। तर, पारिश्रमिक भने निकै कम पाइन्छ। जात्रामा सहनाई बजाउनेलाई सरकारले कुनै सुविधा पनि दिँदैन। अनि को युवा सहनाई बजाउन राजी हुन्छ त?’
नेवारी भाषामा देवीदेउताका नाममा विभिन्न गीतहरू छन्। ती गीत गाउँदा सहनाई बाजा अनिवार्य हुन्छ। तर, सहनाई लोप हुने खतराले ती गीतहरूको अस्तित्व पनि संकटमा छ।
पाटनको नेकु जात्रा मतयाः व्यवस्थापन समितिका अध्यक्ष तारण बहादुर शाक्य भन्छन्, ‘मतयाःमा कनाठ त बजाउन सकिन्छ, तर सहनाईको जुन मौलिकता छ, त्यो कनाठले पूरा गर्न सक्दैन।’
कपाली समाज ललितपुरले लोपोन्मुख सहनाई बाजा संरक्षणका लागि हालै ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। ललितपुर महानगरपालिकाले कला सम्पदा संरक्षणका लागि यस वर्ष मात्र २ करोड रुपैयाँ बजेट छुट्याएको छ। तर, त्यसमध्ये एक सुका पनि सहनाई बाजाको संरक्षण र संवर्द्धनमा जाँदैन।
सहनाई अर्थात म्वाय्ली
सहनाई मुखले फुकेर बजाइने आठवटा प्वाल भएको प्रसिद्ध स्वर बाजा हो। सहनाई मुख्य बाजा भने होइन । यसलाई नेपाल भाषामा कचा बाजा अर्थात सहायक बाजा भनिन्छ। धा बाजा, धिमे, डमरु, ढोलक, मादल, नगडा,खिं लगायतका बाजाहरुको तालमा सुर मिलाउने काम सहनाईले गर्ने बाजा प्रशिक्षक विभुषण शाक्यले बताए।
ताललाई सुर चाहिन्छ, सुरबिनाको ताल अधुरो हुने शाक्य बताउँछन्। सहनाई बजाएपछि देउता उपस्थित हुने विश्वास गरिन्छ। विभिन्न जात्रा र ऋतु अनुसार सहनाईबाट फरक सुर र रागहरु निकाल्न सकिन्छ।
सहनाई बाजा बजाउने चलन लिच्छविकालमै सुरु भएको मानिन्छ। तर, कुन जात्रामा कहाँ र कहिले सहनाई बजाउने भन्ने विधिहरू बने मल्लकालमा तय भएको मानिन्छ ।
सहनाई विशेषगरी कुश्ले अर्थात कपालीहरुले बजाउने बाजा हो। यसलाई नेपाल भाषामा म्वाय्ली भनिन्छ। कपाली परिवारले राजा सिद्धिनरसिंह मल्लको पालादेखि पाटनमा मनाइने विभिन्न जात्रा पर्वहरुमा सहनाई अर्थात म्वाय्ली बजाउँदै आएको कान्छा कपाली बताउँछन्।











-(7)-1765197040.jpg)
