Kathmandu Press

काठमाडौंको कुरुप अनुहार

काठमाडौं  – तेजाबले बढी पोल्छ कि तिरस्कारले? चक्कूको घाउ बढी चह्राउँछ कि विभेदको?

https://www.youtube.com/watch?v=5_ak1FC_ZD8

काठमाडौं  – तेजाबले बढी पोल्छ कि तिरस्कारले? चक्कूको घाउ बढी चह्राउँछ कि विभेदको?

वसन्ती परियार एक्लै हुँदा आफैंसँग यस्तै प्रश्नहरू गर्छिन् र निष्कर्ष निकाल्छिन् – तिरस्कारले पनि तेजाबले झैं पोल्दो रहेछ! विभेदको घाउ पनि चक्कूको घाउझैं गहिरो हुँदो रहेछ!

तेजाब र तिरस्कार

Hardik ivf

कम्मरदेखि माथि कपालसम्म शरीर जलेको छ। कहिलेकाहीँ जीउ बेस्सरी चिलाउँछ। कन्याउँदा छाला पक्पक् झर्छ। छाती र पेटमा चक्कूका गहिरा घाउहरू छन्। कहिलेकाहीँ ती घाउहरू चरक्क चह्राउँछन्। 

सात महिनाअघि वसन्ती यस्ती थिइनन्। नवलपरासीको कावासोती बजारमा उनको सानो घर थियो। सुखी परिवार थियो। हँसिला श्रीमान् थिए। 

२८ वर्षीया वसन्ती परियार तेजाबले अनुहार डढ्नुअघि

२०७५ असोज ८ गते साँझ छिमेकी विमल श्रीपाइलीले उनको अनुहार र शरीरमा तेजाब खन्याए। जगल्टा लुछ्दै छाती र पेटमा चक्कू रोपे। 

त्यो साँझयता वसन्तीको हरेक साँझ अँध्यारो बनेको छ। विहान र दिनहरू पनि उज्याला छैनन्। परिवारको सुख–चैन उडेको छ। श्रीमानकाे ओठबाट हाँसो हराएको छ। आमाको अनुहार हेर्दा छोराछोरी कहालिन्छन्। आफ्नो अनुहार लुकाउन उनी हरदम मास्क लगाउँछिन्।

वसन्तीको अपराध एउटै थियो – परपुरुषको प्रेम दुत्कार्नु। 

तेजाबले अनुहार डढेपछि वसन्ती परियार । तस्वीरः रिवाज राई

वसन्तीलाई उनकै घर छेउ बस्ने विमलले एकोहोरो प्रेम गर्थे। विमल पनि विवाहित थिए। तर, उनलाई श्रीमतीले छाडिसकेकी थिइन्। उनको एउटी छोरी पनि छिन्। 

वसन्तीले विमललाई माया नगर्ने स्पष्ट पारिसकेकी थिइन्। तैपनि, विमल हरदम वसन्तीकै पछि लागिरहन्थे। 

त्यो साँझ वसन्ती बजार गएर फर्किदै थिइन्। पछाडिबाट कुद्दै आएका विमलले एक्कासि उनको अनुहार र शरीरमा तेजाब छर्किए। त्यसपछि कपाल भुत्ल्याउँदै चक्कूले प्रहार गरे। 

वसन्तीको देब्रे आँखामा पनि तेजाबको छिटा पर्‍यो। तर, दाहिने आँखाले उनले विमलको अनुहार ठम्याइन्। विमल अहिले प्रहरी हिरासतमा छन्। 

विमल श्रीपाइली, जसले वसन्तीको अनुहारमा तेजाब खन्याए र छातीमा चक्कूले रोपे। तस्वीरः यूट्यूब भिडियोको स्क्रिन सट। पूरा भिडियो हेर्न काठमाडौं प्रेसको यूट्यूब च्यानलमा जानुहोला।

गाउँकै मध्यविन्दु स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि वसन्तीलाई भरतपुर अस्पताल लगियो। त्यहाँ एक साता राखेर काठमाडौं ल्याइयो। 

तेजाब र छुरा प्रहारको चोट त छँदै थियो, राजधानीमा वसन्तीले अर्को चोट पनि पाइन् – जातीय विभेदको। उनले सुनेकी थिइन् – काठमाडौंमा गरीब दलितलाई डेरा पाउन मुश्किल पर्छ। अहिले आफैंले उनले त्यो पीडा भोगिरहेकी छिन्। 

बसन्तीका श्रीमान यम नारायण डेरा खोज्न धेरै दिन काठमाडौंमा भौतारिए। तर, उनले कतै डेरा भेटेनन्।

वसन्तीका श्रीमान् यमनारायण परियारले दलित भएकै कारण काठमाडौंमा डेरा भेट्न महिनौं संघर्ष गर्नुप¥यो। तस्वीरः रिवाज राई

प्रायः सबै घरबेटीको पहिलो प्रश्न एउटै हुन्थ्यो – घर कहाँ पर्‍यो?

यम नारायण सहजै उत्तर फर्काउँथे – कावासोती हो, हजुर! 

अनि अर्को प्रश्न गरिन्थ्यो – काठमाडौंमा के काम गर्नुहुन्छ? 

यम नारायण अलि अन्काउँदै भन्थे – काम केही छैन। श्रीमतीको उपचार गर्न काठमाडौं आएको हो। 

अर्को प्रश्नः श्रीमतीलाई के भएको?

उत्तरः तेजाबले अनुहार जलेको छ, हजुर।

याे थाहा पाउनेबित्तिकै धेरै घरबेटीले यम नारायणलाई निराश पार्थे। 

कोही सोझै भन्थे – कोठा छैन। कोही अलि घुमाउरो पाराले भन्थे –अस्तिसम्म खाली थियो, अलि ढिलो आउनु भयो।

परियार परिवारले हालै काठमाडौंको टोखामा डेरा भेटेको छ। खुश्बू फाउण्डेशनकी खुश्बू प्रधानको मद्दतले उनीहरूले डेरा भेटेकी हुन्। तर, उनीहरूलाई थाहा छैन – खुश्बूले घरबेटीलाई उनीहरूको वास्तविक थर बताएकी छिन् कि छैनन्। दलित भन्ने थाहा पाएपछि घरबेटीले घरबाट निकाल्लान् कि भन्ने पीर उनीहरूलाई छ। तस्वीरः रिवाज राई

श्रीमतीको अनुहार जलेको छ भन्ने थाहा पाएपछि पनि कतिपयले कोठा दिन खोजे झैं गरी थप प्रश्नहरू सोध्थे। तर, थर दलित हो भन्ने थाहा पाउनेबित्तिकै उनीहरू पनि कुरा मोड्थे – अस्तिसम्म कोठा खाली थियो, हिजै एउटाले पेश्की दिएर गयो!

कतिपय घरबेटी ‘अलि जाती’ थिए। सुरुमै जात सोध्थे। त्यसपछि सवाल–जवाफ नै हुन्न थियो। टन्टै साफ!

कोठा नपाएर यम नारायण निन्याउँरो अनुहार लाउँदै हरेक साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल पुग्थे, जहाँ वसन्ती छट्पटाइरहेकी हुन्थिन्। यम नारायणको आत्मा र अनुहार तिरस्कारको तापले डढेको हुन्थ्यो। र, त्यो तिरस्कारको वसन्तीलाई पनि तेजाबले झैं पोल्थ्यो।

नयाँ डेरामा सामान थन्काउनै बाँकी छ।

वसन्ती भन्छिन्, ‘हाम्रो गाउँघरमा पनि जातपात त हुन्छ, तर काठमाडौंमा जस्तो चर्को विभेद चाहिँ हुँदैन।’

वसन्ती मधूरो स्वरमा बोल्छिन्। तर, उनको मधूरो बोलीमा पनि चर्को पीडा र आक्रोश भरिएको छ।

उनी भन्छिन्, ‘जातीय विभेद अन्त्यको घोषणा यही राजधानी सहरबाट भएको होइन र? तर, यहाँ त झन् चर्को जातीय विभेद हुँदो रहेछ! यस्तो सहरलाई के राजधानी भन्नु?’ 

कोही त मनकारी हुँदो रहेछ ! 

काठमाडौंमा कोठा नपाउँदा वसन्ती, यम नारायण र उनीहरूका दुई छोरा–छोरी धेरै दिन अस्पताल बसे। डाक्टरहरू हरेक दिन घर जानुहोस् भन्थे। तर, काठमाडौंमा घर थिएन। नवलपरासी फर्किए फलो–अप उपचारका लागि आउनै मुश्किल हुन्थ्यो।

परियार दम्पत्तिको पीडा देखिरहेकी थिइन्, शिक्षण अस्पतालमा सरसफाईको  काम गर्ने कविता रोकायाले। 

काठमाडौंमा घरैघर छन्, तर वसन्ती परियारको परिवारलाई डेरा पाउनु निकै गाह्रो भयो

कविताले उनीहरूलाई केही समयका लागि आफ्नै डेरामा लगिन्। वसन्तीलाई आफ्नो थर–पहिचान ढाँट्ने मन थिएन। तर, वास्तविक थर खुलाउँदा कवितालाई गाह्रो होला भनेर आफ्नो थर लुकाइन्। 

वसन्ती भन्छिन्, ‘काठमाडौंमा बस्ने हाम्रा आफन्तहरू पनि थर लुकाएरै बसेका रहेछन्। यतै बस्नुछ। काम गर्नुछ। छोराछोरी पाल्नुछ। लुकेर जिन्दगी बन्छ भने लुकाएरै बस्नुपर्छ भन्दा रहेछन्, आफन्तहरू।’

‘जातीय विभेद अन्त्यको घोषणा यही राजधानी सहरबाट भएको होइन र? तर, यहाँ त झन् चर्को जातीय विभेद हुँदो रहेछ! यस्तो सहरलाई के राजधानी भन्नु?’ 

कविताले पनि घरेबेटीलाई वसन्ती आफ्नै आफन्त हो भनेर चिनाइन्। केही दिनका लागि कविताको घर पाहुना गएकी वसन्ती र उनको परिवार त्यहाँ झण्डै पाँच महिना बस्यो। किनकि, अन्यत्र डेरा नपाउने समस्या यथावत रह्यो। 

बसन्तीको परिवारले डेरा नपाएको सुनेपछि खुस्बू फाउण्डेशन नामक सामाजिक संस्था चलाउने खुस्बू प्रधानले उनीहरूलाई हालै काठमाडौंको टोखामा कोठा खोजिदिइन्। 

न सरकार, न सहारा

कविता रोकाया र खुश्बू प्रधानको मद्दतले कोठा त भेटियो, तर उनीहरूलाई काठमाडौंमा डेरा भाडा तिर्न, हातमुख जोर्न र उपचार खर्च तिर्न निकै मुश्किल छ। 

पानी र बत्तीको महशुल समेत गरेर मासिक कोठा भाडा ११ हजार जति पुग्छ। यम नारायण भन्छन्, ‘कोठा महङ्गो, खानेकुरा महङ्गो, काठमाडौंमा त बाँच्नै गाह्रो रहेछ!’

छोराछोरी डराउने भएकाले वसन्ती परियार हरदम मास्क लगाउँछिन्

यम नारायनको आयस्रोत केही छैन। उनी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। तर, रोगले थलिएपछि नेपाल फर्किए। उनको थोरैतिनो वचत वसन्तीको उपचारमा धेरै पहिले सकिइसक्यो। 

अहिले बीभीएस नेपाल नामक संस्थाले वसन्तीको उपचार खर्च बेर्होर्दै आएको छ। तर, खान, बस्न र कोठा भाडा तिर्ने खर्च भने यम नारायण आफैंले जुटाउनुपर्छ। 

श्रीमतीको उपचारका लागि काठमाडौ बस्न यम नारायणले धेरै जनासँग ऋण लिएका छन्। ऋण दिनेहरूले अचेल दिनरात फोन गर्न थालेका छन्। 

वसन्ती भन्छिन्, ‘डाक्टरहरू समय लाग्छ तर ठिक हुन्छ भन्दै ढाडस दिन्छन्। दिनदिनै फलफुल खाए नयाँ छाला पलाउँछ भन्छन्। तर, आफूसँग भात खाने पैसा हैन, कहाँबाट दिनहुँ फलफुल खाने?

‘तेजाब हान्नेलाई नछोडियोस्’

२०७२ सालमा काठमाडौंको एक ट्यूशन सेन्टरमा संगीता मगरमाथि तेजाब प्रहार भएपछि महिला, कानून तथा विकास मञ्चले सर्वोच्च अदालतमा एक रिट दायर गरेको थियो, जसमा तेजाब प्रहार पीडित महिलालाई तत्काल आर्थिक सहयोग र क्षतिपूर्ति पाउनुपर्ने माग गरिएको थियो।

त्यो रिटउपर सर्वोच्च अदालतले सकारात्मक फैसला दियाे। अदालतले सरकारलाई कानून संशोधन गर्न र तेजाब आक्रमणको शिकार हुने महिलालाई तत्काल क्षतिपूर्ति र आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दियो।

यो रुप अब रहेनः वसन्ती परियार मोबाइलमा आफ्नै तस्वीर हेर्दै

तर, अझै कानून संशोधन भएको छैन। यसैले, वसन्ती परियारले कुनै क्षतिपूर्ति पाएकी छैनन्।

वसन्तीलाई तेजाब प्रहार गर्ने विमल श्रीपाइली प्रहरी हिरासतमा छन्। तर, दोषी नै सावित भए पनि उनले आठ वर्षसम्म मात्रै जेल बस्नुपर्नेछ। आठ वर्षभन्दा कम पनि सजाय हुनसक्छ। र, उनीबाट बढीमा ३ लाख रुपैयाँमात्रै जरिवाना असुलिन्छ, जसको एउटा सानो हिस्सा मात्रै पीडितलाई जान्छ।

यति सानो रकम पाउनका लागि पनि वर्षौं पर्खिनुपर्छ। किनकि, अदालतको अन्तिम फैसला नआएसम्म जरिवाना असुल गर्न पाइँदैन।

वसन्ती कानूनी व्यवस्थाप्रति सन्तुष्ट छैनन्। उनी आफूलाई तेजाब छ्याप्नेलाई कडा कारवाही हुनुपर्ने माग गर्छिन्। 

उनी भन्छिन्, ‘तेजाब छर्नेले उपचार खर्च बेहोर्नुपर्ने हैन र? सरकार यस विषयमा के गर्दैछ? खै, कहाँ छ सरकार? चुनावका बेला नेताहरू घरघर आउँछन्, अशक्तलाई पनि बोकेरै भोट हाल्न लैजान्छन्, तर यस्तो हालत हुँदा फर्केर हेर्दैनन्। हामीजस्ता गरीबका लागि न कानून छ, न सरकार।’

(यो स्टोरीबारे थप केही जिज्ञासा–प्रतिक्रिया भए वा वसन्ती परियारलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो इमेल हो –[email protected])

कतै यो पढ्न छुटाउनुभयो कि?

देश छैन दलितको !

काठमाडौंको डान्स बारदेखि स्वीडेनको जुरीसम्म

 


 

प्रकाशित मिति: ११:०८ बजे, शनिबार, वैशाख २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्