Kathmandu Press

१६ सयसँग पैसा उठाइयो, सेयर सदस्यता दिइएन

काठमाडौं, वैशाख १९ : काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माण गर्ने भन्दै नेपाल पूर

१६ सयसँग पैसा उठाइयो, सेयर सदस्यता दिइएन

काठमाडौं, वैशाख १९ : काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माण गर्ने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुर जिल्लाका स्थानीय वासिन्दालाई झुक्याएर करोडौं रुपैयाँ उठाएको छ।

कम्पनीले आठ वर्षअघि सेयरको नाउँमा मकवानपुरका १ हजार ७ सय ७७ जनासँग ३६ करोड रुपैयाँभन्दा बढी उठाएको थियो। तर, सेयर किन्ने सर्वसाधारणहरूलाई अहिलेसम्म पनि सेयर सदस्यको सूचीमा राखिएको छैन।

कम्पनीले १ सय ५९ जना सेयर सदस्यकाे नाम मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको छ। बाँकी १ हजार ६ सय ११ जनालाई सेयर सदस्य नै बनाइएको छैन। 

Hardik ivf

कम्पनीले अग्राधिकार सेयर भन्दै २०६९ सालमा मकवानपुर जिल्लाका स्थानीयसँग प्रति व्यक्ति १० हजारदेखि १० लाख रुपैयाँसम्म उठाएको थियो। तर, १ सय ५९ जनालाई मात्रै सेयरधनी बनाई बाँकीलाई कम्पनीले एउटा प्रमाणपत्रमात्रै उपलव्ध गरायाे।

तीन वर्षभित्र कम्पनीलाई नाफामा लगेर बोनस खुवाउने भन्दै रकम असुल गरिएको थियो। तर निर्माण सम्पन्न हुने समय घर्किदा समेत सुरुङ बन्नु त कता हो कता, त्यसका लागि आवश्यक लगानी समेत जुटिसकेको छैन।

याे पनि

काठमाडौं–हेटौँडा सुरुङ मार्ग बनेन, सर्वसाधारणको करोडौं डुब्यो (भाग १) 

जनताकाे पैसामा हिरोइनको हिमाल आरोहणदेखि विदेश भ्रमणसम्म (भाग २)

चुनावी ‘स्टन्ट’ देखाउन लगिएको एक्साभेटर डेढ वर्षदेखि खोलामा (भाग ३)

कुशकुमार जोशीसहित एक दर्जन छानबिनको दायरामा, जनताको पैसा दुरुपयोग गरेको निष्कर्ष (भाग ४)

सर्वसाधारणबाट उठाइएको रकम पनि विदेश भ्रमण गरेर, काठमाडौंमा सुविधासम्पन्न कार्यालय खोलेर, आवश्यकताभन्दा बढी दरबन्दी सिर्जना गरेर, त्यसमा आफन्तलाई भर्ना गरेर र अभिनेत्री निशा अधिकारीको सगरमाथा आरोहणलाई प्रायोजन गरेर सकाइसकिएको छ। व्याजले मात्रै कार्यालय सञ्चालन गर्नुपर्ने आन्तरिक नियमावली मिच्दै मूल रकम नै खर्च गरिएको हो।

काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गको निर्माण २०७१ देखि सुरु गर्ने भनिएको थियो। निजी क्षेत्रले सुरुङ मार्ग बनाउने चासो देखाएपछि सरकारले नेपाल पूर्वाधार विकास कम्पनी खडा गरेर सुरुङ मार्ग निर्माणको अनुमति समेत दियो। 

२०६९, वैशाखको मन्त्रिपरिषद्ले कम्पनीलाई सुरुङ निर्माणको जिम्मा नै दिएको थियो। पूर्वाधार कम्पनीका अध्यक्ष बनेका थिए, तत्कालीन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी। जोशीकै पहलमा मकवानपुरका स्थानीयसँग अग्राधिकार सेयर भनेर उठाइएको थियो। 

रुङ मार्ग बन्ने आशामा १ लाख रुपैयाँ लगानी गरेका भिमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा कम्पनी रजिष्ट्रारको कार्यालयमा सेयर सदस्य लगत नराखेको विषयमा सञ्चालक समितिमा पटक पटक कुरा गरेको बताउँछन्। 

‘हामीले सुरुदेखि नै सबै सदस्यको लगत कम्पनी रजिष्ट्रारमा राख्न माग गरेका थियौँ, तर साधारणसभापछि राख्ने भन्दै टार्दै आएका छन्,’ थापाले भने।  

गत फागुनमा सम्पन्न विशेष साधारण सभामा पनि उक्त विषय उठेको उल्लेख गर्दै सूचीको लगत कम्पनी रजिष्ट्रार कार्यालयमा पठाउने प्रतिबद्धता जनाएको भए पनि हालसम्म कुनै उपलब्धि भने नपाएको थापाले बताए।

कम्पनीले २०६९ सालमा मात्रै सर्वसाधारणबाट १७ करोड ३५ लाख ४ हजार ५ सय रुपैयाँ उठाएको थियो। पछि फेरि थप रकम उठाउने प्रयत्न गरिएको थियो। केहीले रकम थपे पनि। तर, त्यसबेलासम्म कम्पनीले विश्वास गुमाइसकेको थियो र धेरैले पैसा थप्न मानेनन्।

कम्पनीले गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएका १ सय ८३ जनासँग पनि सेयरको नाउँमा रकम उठाएको थियो। एनआरएनए सदस्यबाट पनि २ करोड ८४ लाख ७४ हजार रुपैयाँ उठाइएको थियो। जसबाट प्रतिबद्धता भने उक्त समयमा १८ करोड ३० लाख रुपैयाँ गराइएको थियो।

त्यस्तै, निर्माण व्यवसायी महासंघका २६ सदस्यबाट पनि सेयरको नाममा रकम उठाइएको थियो। व्यवसायीहरुबाट ३० लाख रुपैयाँ सेयरको नाममा उठाइएको थियो भने प्रतिवद्धता २६ करोड रुपैयाँ गराइएको थियो। जसका केही समय अगाडी मात्रै कम्पनीको अध्यक्षमा चयन भएका भवन भट्टले मात्रै १० करोड रुपैयाँ लगानी गरेका थिए।  

भिमफेदी बजार

त्यस्तैगरी विभिन्न २२ वटा संस्थाबाट संस्थाको सेयर भनेर रकम उठाइएको थियो। सञ्चालक समितिका १० सदस्यको नामामा पनि रकम उठाइएको थियो। त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका (एफएनसीसीआइ) का १० सदस्यबाट पनि सेयरको नाममा रकम उठाइएको थियो। जसमा १ सय ५९ जनालाई मात्रै सेयर सदस्यको सूचीमा कम्पनीले राखेको छ।  

कम्पनीले पहिलो चरणमा २२ करोड ५८ लाख ४२ हजार ५ सय रुपैयाँ रकम उठाएको थियो। पटक–पटक गरेर कम्पनी ३६ करोड रुपैयाँ भन्दा बढी उठाएको थियो। प्रतिवद्धतामात्रै तत्कालीन समयमा १ अर्ब ७१ करोड रुपैयाँ गराइएको थियो।

कम्पनीले आयोजना पनि नबन्ने अवस्था आएसंगै स्थानीयहरुले रकम उठाउनका लागि सेयर सदस्य समेत नभएपछि मुद्दा मामिला गर्न समेत समस्या उत्पन्न भएको बताएका छन् । 

‘हामीलाई सेयर सदस्य पनि बैधानिक रुपमा गरिएको रहेनछन, आयोजना पनि नबन्ने रकम पनि फस्ने आवस्था आउन लागेको छ,’ भिमफेदी गाँऊपालिका वाड ६ का स्थानीय माधवदास श्रेष्ठले भने । आफ्नो १० हजार रुपैयाँ लगानी रहेपनि स्थानीहरुले १० लाख सम्म रकम सेयरको नाममा लगानी गरेको अवस्था जटिल बन्दै गएको श्रेष्ठ बताउँछन्।   

काठमाडौ–कुलेखानी–हेटौँडा सुरुङ मार्ग ५८ किलोमिटर मात्रै हुने भन्दै स्थानीयलाई सपना बाँडिएको थियो। जसमा कम्पनीले चार लेनको ‘एक्सप्रेस वे’, ३ वटा सुरुङ हुने गरी प्रस्ताव तयार पारिएको थियो। सुरुङको लम्बाई भने ४.५ किलोमिटर हुने बताइको थियो। तत्कालिन अवस्थामा ३४ अर्ब ८७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरिएको थियो। तर अहिले पूर्वाधार कम्पनीले ७० अर्ब भन्दा बढी खर्च लाग्ने जनाउँदै आएको छ।     

पूर्वाधार विकास कम्पनीले ३४.८ अर्ब रुपैयाँ लागत अनुमान गरेको सुरुङ मार्गमा ३६ करोड रुपैयाँ हाराहारी स्थानीय, गैरआवसीय नेपाली, व्यवसायी तथा ठेकेदार कम्पनीसंग उठाइएको थियो। आठ वर्षसम्म आइपुग्दा न कुनै विदेशी लगानीकर्ता ल्याउन सकेको छैन। बरु विदेशी लगानी खोज्न जाने भन्दै घुमफिरमा स्थानीय संग उठाइएको पैसा सकाउने काम पूर्वाधार कम्पनीका पदाधिकारीहरुले गरे। कम्पनीले ३६ करोडमा ३० करोड भन्दा बढी रकम खर्च भइसकेको जनाउँदै आएको छ। 
   

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, वैशाख १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्