Kathmandu Press

सटर भत्काए पनि खुला भएन खुलामञ्च : चिनियाँकाे टहरादेखि खाजा बेच्ने शौचालयसम्मकाे अतिक्रमण उस्तै

काठमाडौं, वैशाख १७ : चार वर्षअघि महाभूकम्प आउँदा काठमाडौं सहरको मध्यभागमा बस्ने हजारौ मानिसहरू टुँडि

सटर भत्काए पनि खुला भएन खुलामञ्च : चिनियाँकाे टहरादेखि खाजा बेच्ने शौचालयसम्मकाे अतिक्रमण उस्तै
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, वैशाख १७ : चार वर्षअघि महाभूकम्प आउँदा काठमाडौं सहरको मध्यभागमा बस्ने हजारौ मानिसहरू टुँडिखेल र खुलामञ्चमा भेला भए।

परकम्पहरू आइरहे। भूकम्पको डरले मानिसहरू घर फर्किन सकेनन्। त्यहीँ टेन्ट गाडेर रात बिताउन थाले। 

दुई महिनापछि काठमाडौं जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका र नेपाली सेनाले टुँडिखेलबाट ती सबै मानिसहरूलाई लखेटे। धेरै मानिसहरू भूकम्पले चर्काएको घरमै फर्कन बाध्य भए। 

Hardik ivf

त्यसबेला प्रशासनको भनाइ थियो – काठमाडौंको मुटुमा एउटा फराकिलो खुला ठाउँ चाहिन्छ। यहाँ भूकम्पको बहानामा मानिसहरूलाई बस्न दिनु हुँदैन। 

भूकम्प पीडितलाई लखेटेर खाली गराइएका खुलामञ्च र टुँडिखेल फेरि अहिले अतिक्रमणको चपेटामा परेका छन्। काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरी बनाइएका २० वटा शटर गत शनिबार डोजर लगाई भत्कायो।

महानगरपालिकाले डोजर लाएर सटर भत्काउनु ठीक एक दिनअघिको खुलामञ्च। तर, सटर भत्काइए पनि खुलामञ्च अतिक्रण गर्ने अन्य संरचनाहरू जस्ताको त्यस्तै छन्। तस्वीरः रमेश पोख्रेल

तर, खुलामञ्च अझै पनि खुला छैन। यहाँ जताततै मानिसका टहरा, निर्माण सामग्रीको थुप्रा र पार्किङ लटहरू छन्।

काठमाडौंमा अर्को भूइँचालो आइहाल्यो भने सुरक्षाका लागि भेला हुने खुला क्षेत्र नै छैन। मानिसहरू भत्केको, चर्केको घर, गल्ली र आँगनमा परकम्पहरू सहँदै बस्न बाध्य हुनुपर्नेछ।

कहाँ केको अतिक्रमण?

कुनै बेला टुँडिखेल नारायणहिटी दरबारदेखि दशरथ रङ्गशालासम्म फैलिएको थियो। त्यसबेला भूकम्प आउँदा भेला हुने, रात काट्ने ठाउँ चाहिन्छ भनेर ठाउँ ठाउँमा छ्य (खुला ठाउँ) बनाउने चलन थियो।

सबैभन्दा ठूलो क्षय् नै टुँडिखेल थियो। विक्रम सम्वत २०१७ सालसम्म पनि रानीपोखरीको डिलदेखि त्रिपुरेश्वरसम्मको क्षेत्र खुला ठाउँ थियो। यही खुला ठाउँबाट दास प्रथा उन्मूलनको घोषणा गरिएको थियो। दोस्रो विश्व युद्ध लड्न बर्मा, मलाया र यूरोप जाने तयारीमा रहेका गोर्खाली सैनिकहरूलाई यहीँ भेला गराइएको थियो।

तर, राजा महेन्द्रले रानी रत्नको नाउँमा रत्नपार्क बनाइदिएपछि यो खुला क्षेत्र खण्डित भयो। पछि त्रिपुरेश्वरतिर रङ्गशाला बन्यो। सहिद गेटदेखि रङ्गशालासम्मको क्षेत्रमा सेनाले आफ्नो मुख्यालय बनायो। टुँडिखेलकै उत्तरी कुनामा सैनिक मञ्च पनि बनायो।

विभिन्न संरचनाहरू बनेपछि सानो टुँडिखेल र खुलामञ्चमात्रै बाँकी थियो। यो सीमित खुला क्षेत्रमा अहिले कतै खुला ठाउँ छैन।

खुलामञ्चमा बनाइएका यी प्रि फ्याब घरहरूमा चिनियाँ मजदुरहरू बस्छन् । तस्वीरः मनीषा अवस्थी

२०७१ सालमा पुरानो बसपार्कलाई पनि खुला मञ्चभित्रै सारियो। पुरानो बसपार्क भएको ठाउँमा भ्यूटावर नाम दिइएको व्यापारिक भवन बनाउन सुरु गरिएको छ। काठमाडौं क्षेत्र नंं. ६ (जहाँ टुँडिखेल पर्छ)का सांसद भीमसेनदास प्रधानले भ्यूटावर बने रानीपोखरीको पानी सुक्ने र खुला ठाउँ पनि मासिने भन्दै विरोध गरे। तर, उनको सुनुवाई भएन।

खुलामञ्चभित्र बनाइएको अस्थायी बसपार्क छेउ एक सार्वजनिक शौचालय छ। तर, यहाँ कोही शौच गर्न जाँदैन। किनकि, शौचालयका लागि बनाइएको भवनमा झण्डै २० वटा पसलहरू छन्। त्यहाँ जुत्ता, लुगा र खाजा बिक्री हुन्छ। महानगरपालिकासँग ‘साझेदारी’ गरेर राजाराम गर्तौलाले यो व्यापारिक शौचालय चलाइरहेका छन्। 

दरबार हाइस्कूल बनाउन आएका चिनियाँ कामदारहरू पनि खुलामञ्चभित्रै बस्छन्। उनीहरूले ४० वटा कोठा भएका प्रि फ्याब घरहरू बनाएका छन्। वीर अस्पतालको पार्किङ पनि यहीँ छ।

हुन त यो सार्वजनिक शौचालय हो, तर यहाँ मानिसहरू शौच गर्नभन्दा पनि लुगा किन्न र खाजा खान जान्छन्। तस्वीरः मनीषा अवस्थी

टुँडिखेलको एउटा कुनामा धरहरा निर्माणका लागि ल्याइएका ढुङ्गा, गिटी र बालुवाको थुप्रो छ भने अर्को कुनामा धरहरा निर्माणमा खटिएका मजदुरहरूको अस्थायी टहराहरू छन्। 

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल भन्छन्, ‘टुँडिखेलमा धेरै पहिले नै भौतिक संरचनाहरू निर्माण हुन थालेको हो। यहाँ सेनाको मुख्यालय पनि छ। यसबारे हामी केही भन्न सक्दैनौँ। जहाँसम्म अस्थायी संरचनाको सवाल छ, त्यो केही समयका लागि हो। हटाउनु परे हटाउँछौँ।’

खुलामञ्च जोगाउने अभियानमा सक्रिय सांसद भीमसेनदास प्रधान भन्छन्, ‘खुलामञ्च खुला रहनुपर्छ। यो स्थानीय नेवार जातिको सांस्कृतिक क्षेत्र पनि हो। यहाँ अतिक्रमण गर्न दिनु हुँदैन।’ 

प्रकाशित मिति: १०:०८ बजे, मंगलबार, वैशाख १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्