हामी राजाको भद्दा नक्कल गर्दैछौँ
आज जनताले जितेको दिन।
तेह्र वर्षअघिको त्यो वसन्त विद्रोहमा होमिएको क्षण सम्झिँदा गर्व लाग्छ। गणतन्त्र
आज जनताले जितेको दिन।
तेह्र वर्षअघिको त्यो वसन्त विद्रोहमा होमिएको क्षण सम्झिँदा गर्व लाग्छ। गणतन्त्रका चर्को नारा लगाएको सम्झिँदा छाती फुलेर आउँछ।
लोकतन्त्रको लडाइँ लड्दा धेरै अप्ठेराहरू सामना गर्नुपर्यो। दरबारियाहरूबाट मात्र होइन, आफ्नै पार्टीका नेताहरुबाट पनि।
म त्यो जनआन्दोलन सम्झिँदा रोमाञ्चित हुन्छु। त्यसबेला हामीलाई ज्यानको पर्वाह थिएन। पछि हट्दैनौं, बरु सहादत प्राप्त गरेरै छाड्छौं भन्ने जोश थियो।
गणतन्त्र स्वीकार्न आनाकानी गरिरहेको नेपाली कांग्रेस ढिलोचाँडो गणतन्त्रकै लाइनमा आइपुग्छ भन्ने मेरो विश्वास थियो। किनकि, तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला पनि गणतन्त्र नै चाहनुहुन्थ्यो, तर उहाँलाई यो व्यवस्था ल्याउन सम्भव छैन भन्ने लागेको थियो। गणतन्त्रको पक्षमा जनमत निर्माण हुँदै गएपछि उहाँ पनि यो लाइनमा आइपुग्नुहुन्छ भन्ने मेरो विश्वास थियो।
लोकतन्त्र विशेष
लोकतन्त्रको आवरणमा लुटतन्त्र : रञ्जु दर्शना
त्यो आशा, त्यो तरङ्ग : केकी अधिकारी
व्यवस्था बद्लियाे, काेटरीभित्रका मान्छे बद्लिएनन् : शम्भु थापा
सबेलाको मार्गचित्र प्रष्ट थियो – जनआन्दोलन सफल भएपछि संविधानसभा निर्वाचन गर्ने, शान्ति प्रक्रिया टुङ्ग्याउने र जनताको नयाँ संविधान जारी गर्ने।
तर, त्यसबेला राजनीतिक संक्रमण लम्बिएला भन्ने लागेकै थिएन। तीन–चार वर्षमा सबै कुरा टुङ्ग्याउन सकिन्छ भन्ने थियो।
पछाडि फर्किएर राजनीतिक सङ्क्रमणका वर्षहरूलाई हेर्दा गम खान्छु – बीचैमा शान्ति प्रक्रिया भङ्ग भएको भए? माओवादीले फेरि हतियार उठाएका भए? संविधानसभाले संविधान बनाउन नसकेको भए? देश कुनै जातीय वा धार्मिक युद्धको चपेटामा परेको भए? मधेसलाई मिलाउन नसकेको भए? आज हामी केको समीक्षा गरिरहेका हुन्थ्यौं?
नेपालजस्ता थुप्रै देशहरु वैशाख ११ को अवस्थामा पुगेर पनि सङ्क्रमणलाई सम्हाल्न नसकी ठूलो दुर्घटनामा परेका छन्। हामी पनि दुर्घटनामा पर्न–पर्न लागेका थियौँ। ती जोखिमबाट पार पाउँदै यहाँसम्म आएका छौं।
जनआन्दोलनपछिका जोखिमहरूबाट त जोखियौँ, तर त्यसले आम जिन्दगीमा के बद्लाव ल्यायो?
२०६२–६३ सालको जनआन्दोलनमा म दिनदिनै सडकमा भाषण गर्थेँ। मैले जे–जस्तो भाषण गरे पनि जनताले त्यसको तात्पर्य एउटै निकाल्थे – यो जनआन्दोलन सफल भएपछि मेरो जिग्दगीमा बद्लाव आउँछ, खुशीयाली छाउँछ, नयाँ अवसरहरु आउँछन्, मेरो वरिपरिको वातावरण बदलिन्छ र म सुखी हुन्छु।
देशको शक्ति संरचनामा पिल्सिएका भूमिहीन दलितहरूले जनआन्दोलनपछि भूमिको अधिकार पाउने कल्पना गरेका थिए होलान्। काठमाडौंका युवाहरूले देशभित्रै रोजगारी र इलमको वातावरण बन्ने आशा गरेका थिए होलान्।
त्यसबेला मेरा भाषण सुन्ने जनताले मलाई भेटेर ‘देश बद्लियो त ?’ वा ‘जनताको जीवन फेरियो त?’ भन्ने प्रश्न गरे भने म उनीहरूलाई भन्न सक्दिनँ – देश बद्लियो, जनताको जिन्दगी फेरियो। किन्तु परन्तु लगाएर भन्ने हो भने हुन्छ। त्यसैले यस्तो अवस्था आउँला भन्ने थिएन।
त्यसबेला हामीले केही विम्बहरू बनायौँ। सपनाहरू बाँड्यौँ। कसैले नेपाल स्वीजरल्यान्ड हुन्छ भने, कसैले सिंगापुर। मलाई नेपाल रातारात स्वीजरल्यान्ड वा सिङ्गापुर हुन्छ भन्ने भ्रम थिएन। तर, आजभन्दा भोलि राम्रो र भोलिभन्दा पर्सि राम्रो हुन्छ भन्ने लागेको थियो।
तर, अहिले कता–कता हराएजस्तो लाग्छ। त्यो बेला जे सोचिएको थियो, त्यो नहुँदा नरमाइलो लाग्छ। अहिले हामी कतै अड्केजस्तो, जनता थप निराश भएजस्तो र डराएजस्तो लाग्छ।
हामीले यत्रो बाटो हिँडेर ठीक पो गरेनौं कि? यस्तो सन्देह मनमा उठेजस्तो लाग्छ। हाम्रो आन्दोलनमाथि नै प्रश्न उठ्न थालेजस्तो लाग्छ। यस्तो अवस्था आउँछ भन्ने लागेको थिएन।
यस्ता प्रश्न किन उठ्दैछन्? म यसमा दुई कारण देख्छु। पहिलो कारण – जनआन्दोलनका उपलब्धिहरूको स्वामित्व (अनरसिप)।
हामीले सतहमा प्रकट भएको माओवादी हिंसा देख्यौँ। त्यो संरचनागत हिंसाको एउटा पाटो मात्रै थियो। हाम्रो लडाइको लक्ष्य त संरचना बदल्नु थियो। यस विषयमा केही अभूतपूर्व उपलब्धिहरू हासिल नभएका होइनन्। यी उपलब्धिहरूलाई जोगाएर थप उपलब्धितर्फ पाइला चाल्नुपर्ने हो। तर, ती उपलब्धिहरूको ‘पोलिटिकल अनरसिप’ भएन, जसकारण कसैलाई केही पाएजस्तो लागेको छैन।
हामीले महिला, दलित आन्दोलनको कुरा गर्यौं। अधिकार र पहिचानको कुरा गर्यौं। जस्तो हुनुपर्ने हो, त्यो भएको छ? सबै मागहरु पूरा भएका छन्? चित्त बुझेको छ? छैन।
२०६२–६३ अघिको अवस्थासँग तुलना गर्ने हो भने महिला आन्दोलनमा प्रगति भएको छ। तर, यो भन्दा धेरै हुनुपर्छ। धेरै कुराहरु भएकै छैनन्। थप समानतातर्फ पाइला नबढाउँदा नैराश्यको वातावरण बन्यो। सुधारको क्रम पनि रोकियो।
दोस्रो कारण – कार्यान्वयनको अभाव। हामीले सपना देखायौँ, डेलिभर गर्न सकेनौँ।
०६२–६३ अघि हाम्रो शासकीय क्षमता जस्तो थियो। अहिले पनि त्यस्तै छ।
संघीय गणतान्त्रिक नेपाल चलाउन क्षमता हामीसँग छैन भन्ने तथ्य मनन गरी त्यसका लागि चाहिने ‘सेट अफ स्किल्स’ निर्माण गर्नुपर्थ्याे। हामी पटक्कै त्यसमा लागेनौं।
हुँदाहुँदा अहिले कस्तो अवस्था भयो भने प्रधानमन्त्री भन्नुहुन्छ–गएको एक वर्षमा नेपालमा यस्तो अभूतपूर्व उपलब्धि भएको छ कि, त्यो उपलब्धि नदेख्ने मानिसहरु आँखामा पट्टी बाँध्ने गान्धारीहरू हुन्।
उहाँको भनाइको निहितार्थ हो – अर्को वर्ष योभन्दा राम्रो हुँदैन। म आफूलाई सुधार्दिनँ, सच्याउँदिनँ। दोष ममा छैन, जनतामा छ। सच्चिनुपर्ने म होइन, जनता हो।
प्रमुख प्रतिपक्षी दलका नेता भन्नुहुन्छ – हिजो हामीलाई भोट नहाल्ने, अनि सरकारले काम गरेन भन्ने? उहाँको भनाइ तात्पर्य पनि त्यही हो – दोष जनताको हो, हामीलाई भोट नहाल्नु तिम्रो दोष हो। उहाँ पनि आफू र पार्टी सुधार्ने कुरा गरिरहनु भएको छैन।
कांग्रेस र एमाले दुबैका नेताहरू एक ढंगले प्रशिक्षित भए। एउटै राज्य सत्ताविरुद्ध लडे। उहाँहरुको बुझाइका आफ्नै सीमाहरु थिए।
उहाँहरूकै नेतृत्वमा हामी प्रजातन्त्ररुपी पुरानो रेल गाडी छाडेर लोकतन्त्र रुपी नयाँ गाडीको प्लेटफर्म पुग्यौँ। तर, उहाँहरू पुराना चेतना र इञ्जिन छाड्न तयार हुनुभएन। पुरानो इन्जिनले पुरानो गाडी दौडिन्छ, नयाँ गाडी दौडिँदैन। पुरानो इञ्जिन र पुरानो चालक भएको नयाँ गाडी चढेर गन्तव्यमा पुग्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था बन्यो। समस्या यहाँनिर भयो।
गणतन्त्र भनेको नारायणहिटीमा राजा बस्नुको सट्टा शितलनिवासमा राष्ट्रपति बस्नु भयो। राष्ट्रपतिले राजाको भद्दा नक्कल गर्ने हो? राजाले जे–जे गरे, त्यहीँ त्यहीँ गर्ने हो?
हामीले भन्यौं–राष्ट्रपति यस्तो संस्था हुनेछ, जसले सिंगो नेपाललाई एकताबद्ध गर्छ। नेपालको बहुजातीय, बहुधार्मिक विविधताको सामूहिक प्रतीक हुनेछ।
अहिले कस्तो भएको छ भने हामीले महामहिम राष्ट्रपतिज्यूलाई आग्रह गर्नुपरेको छ–तपाईं देखिनु भएन भने, तपाईं सुनिनु भएन भने, तपाईंआफ्नो दरबारबाट बाहिर निस्किनु भएन भने मानिसलाई गणतन्त्रसँग कम रीस उठ्छ। तपाईं जति देखिनु हुन्छ, सुनिनुहुन्छ, हिँडडुल गर्नु हुन्छ, त्यति बढी मानिसलाई रीस उठ्छ। किनभने त्यो राजाको भद्दा नक्कल गरेको कुरा कसैलाई मन परेन। मन पर्दैन।
मैले कुनै व्यक्तिलाई दोष दिन खोजेको छैन। तर, किन यस्तो भयो त?
नेपाली कांग्रेस शान्ति प्रक्रियाको नेतृत्व गरेकोमा गर्व गर्छ। संविधानका पिता सुशील कोइरालालाई मान्छ। शान्ति प्रक्रियाका पिता गिरिजाप्रसाद कोइराला हुन् भन्छ। यो संविधान हामीले बनाएका हौँ भन्छ। तर, यो पनि भन्छ – संविधान बन्न त बन्यो, तर कस्तो बन्यो बन्यो । यस्तो भन्न पाइन्छ? अनैतिक भएन यो?
संविधान जीवन्त प्रक्रिया हो। यो जतिखेर बन्छ, त्यतिखेरकै समाजभित्रको शक्ति सम्बन्ध र अन्तरसंघर्षद्वारा निर्धारित हुन्छ। हाम्रा चाहनाहरुले मात्रै संविधान बन्दैन। पार्टीमै त झगडा भएर एउटा विधान बनाउन सकिरहेका छैनौं भने संविधानमा पनि त हामीले चाहेका सबै कुराहरु कसरी अटाउँछन्? केही इमान्दारी राख्ने कि नराख्ने?
हामीले एउटा दस्तावेजमा शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालालाई मान्ने, तर माओवादीलाई ल्याएर गल्ती गर्यौं पनि भन्ने? संविधानका पिता सुशील कोइराला हुनुहुन्छ पनि भन्ने, तर यो संविधानमा के पर्यो पर्यो पनि भन्ने?
दुई तिहाइ बहुमतको सरकारप्रति जनता निराश छन्। तर, नेपाली कांग्रेसले हामी आयौं भने चाहिँ काम गर्न सक्छौं भन्नेमा जनतालाई विश्वस्त पार्न सकिरहेको छैन। किनकि, हामी पनि खालि जनतालाई विगततिर फर्केर हाम्रोबारे धारणा बनाऊ भनिरहेका छौं। तर, जनता ०१५ सालमा फर्केर कांग्रेसबारे धारणा बनाउन चाहँदैनन्। १५ सालबारे धारणा बनाएर त त्यसबेलै दुईतिहाइ बहुमत दिएर कांग्रेसलाई पुरस्कृत गरिसक्यो नि! जनता सोधिरहेका छन् –अब तिमी नयाँ के गर्दैछौँ, जुन पहिले गरेका थिएनाैँ ? हामी भने जनतालाई विगतमा प्रजातन्त्रका लागि लड्यौँ भनिरहेका छौँ। हामीभित्रको अलमल यही हो।
पछिल्लो समय प्रधानमन्त्रीको बोलीमा बडबडाहट छ। यसमा दुईवटा कुरा छन्। एउटा – सरकारका कमजोरीहरुबाट जनताको ध्यान अर्कोतिर मोड्ने। अर्को –चरम आत्मश्लाघा। सरकार डेलिभरीमा चुकेको छ। जनतालाई दिने जवाफ छैन। यसैले, ऊ डर सिर्जना गर्छ। कहिलेकाहीँ नेपालको सार्वभौमसत्ता गुम्न लाग्यो भन्छ। यो व्यवस्था नै खतरामा पर्न लाग्यो पनि भन्छ।
म अरुजस्तो यो सरकारलाई सर्वसत्तावादी, निरंकुश वा अधिनायकवादतर्फ उन्मुख भन्दिनँ। यो सरकारका दुई चरित्र छन्। पहिलो – यो अयोग्य छ। योसँग शासन गर्ने योग्यता र क्षमता छैन। र, दोस्रो – यो नियत र चरित्रका हिसावले अनुदारवादी छ। अनुदारवाद र अयोग्यताको मिश्रण भएको सरकार प्रकारान्तरले थप अनुदारवादी हुन जान्छ। किनकि, उसले आफू अयोग्य रहेको मान्दै मान्दैन। त्यसलाई ढाकछोप गर्छ। दबाउँछ। परिणाम के हुन्छ भने ऊ थप अनुदारवादी बन्छ।
सरकार अयोग्य र अनुदार भएपछि त नागरिकको ठूलो पंक्ति निरास हुन्छ।
तर, सरकारसँग जनता रिसाउँदा पनि प्रतिपक्षीले उत्साह जगाउन सकेको छैन। पात्रहरु हेर्यो भने सबै थाकेका, एक्सपोज्ड भइसकेका देखिन्छन्।
यसरी सरकार र प्रतिपक्षीसँग निराश भएका नागरिकलाई झेल्ने झेलीहरुले त्यहाँभित्र बल्छी हान्न सक्छन्। त्यसैले अब सरकारले आफूलाई सच्याओस्, सुधारोस्, डेलिभर गरोस्। त्यो कामना गर्ने कुरा हो।
जनता स्थायी मतदाता होइनन्। जनताले मत बदल्न सक्छ। यसैले, लोकतन्त्रमा राजनीतिक दलहरू जनतासँग डराउनुपर्ने हो। तर, नेपालका शासक दलहरू जनतासँग डर मान्दैनन्। यहाँ डर कहीँ भएन। किनकि, पार्टी संगठन बलियो भए र त्यो संगठनमा आफ्नो कब्जा भए सत्तामा टिकिरहन सकिन्छ भन्ने सोच विकसित भएको छ।
यसैले, शासकहरू जमेर बसेका छन्। उनीहरूसँग प्रचुर आत्मविश्वास छ। यसैले, अहिलेको शासन व्यवस्था राजाकै पालामा झैं भएको छ। हिजो राजाकै शासनकालमा जस्तै सरकारसँग जनता डराउनुपर्ने उल्टो अवस्था सिर्जना भएको छ।
तर, गज्जब के छ भने नेपाली समाजमा यति लोकतान्त्रिक रुपान्तरण भएको छ कि यहाँ एउटा–दुईवटा दल वा नेता बिग्रेर लोकतन्त्र गुम्दैन। सरकारले अनुदारवादी लोकतन्त्रतिर लिएर जाने प्रयत्न गर्छ, तर त्यो प्रयत्न सफल हुँदैन। कसैले केही समय लोकतन्त्रलाई बन्धक बनाएर विकास र समृद्धि दिन्छु भनेर सम्भव छैन।
कुराकानीमा आधारित