Kathmandu Press

चुनावी ‘स्टन्ट’ देखाउन लगिएको एक्साभेटर डेढ वर्षदेखि खोलामा (सुरुङ मार्ग घोटाला भाग ३)

भिमफेदी (मकवानपुर), वैशाख ६ : भिमफेदी बजार नजिकै खहरे खोला छेउको गेग्रेटो मैदानमा एउटा पहेंलो र

 चुनावी ‘स्टन्ट’ देखाउन लगिएको एक्साभेटर डेढ वर्षदेखि खोलामा (सुरुङ मार्ग घोटाला भाग ३)
रिवाज राई

भिमफेदी (मकवानपुर), वैशाख ६ : भिमफेदी बजार नजिकै खहरे खोला छेउको गेग्रेटो मैदानमा एउटा पहेंलो रङको एक्साभेटर झण्डै डेढ वर्षदेखि अलपत्र छ। 

एक्साभेटरमा खिया लाग्दैछ। रङ उप्किँदैछ। झारहरू पलाएर ड्राइभर बस्ने सिट छुन खोज्दैछन्। 

काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग परियोजनामा छट्टु नेता र व्यापारीबाट मकवानपुरका सोझासिधा जनताले पाएको धोकाको प्रतीक हो – यो एक्साभेटर। 

Hardik ivf

चुनावी स्टन्ट
२०७४, असोज।

दुई महिनापछि हुन लागेको संघीय संसद् र प्रदेश सभा चुनावले देश तातेको थियो। 

मकवानपुरमा पनि दिनदिनै चुनावी र्‍याली र सभाहरू हुन्थे। चियापसल होस् वा चौतारो, जहाँ पनि चुनावकै चर्चा हुन्थ्यो।

याे पनि : काठमाडौं–हेटौँडा सुरुङ मार्ग बनेन, सर्वसाधारणको करोडौं डुब्यो (भाग १)

भिमफेदी, इन्द्रोसरोवर र हेटौँडाका वासिन्दाहरू भने २०७५ सालमै सम्पन्न भइसक्नुपर्ने ५८ किलोमिटर लामो सुरुङ मार्ग निर्माणको सुरसारै नभएकोमा स्थानीय नेताहरूसँग रुष्ट थिए।

रुष्ट नहुन् पनि कसरी, उनीहरूले खाईनखाई जोगाएको पैसा २०७० सालमै सुरुङ मार्गमा लगानी गरेका थिए। २०६९, वैशाखमै देशकै पहिलो टोल हाईवे बनाउन मन्त्रिपरिषदबाट अख्तियारी पाएको नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरवासीबाट मात्रै करिब रु २३ करोड उठाएको थियो। तर, रु ३४.८७ अर्ब लागत रहेको परियोजना पूरा गर्न बाँकी रकम जुटेकै थिएन।

काठमाडौं–कुलेखानी–हेटौँडा सडक निर्धारित समयभित्र मात्र होइन, कहिल्यै नबन्ने सम्भावना उच्च बन्दै गएको थियो। सुरुङ मार्ग बनेपछि काठमाडौंबाट एक घण्टामै हेटौँडा पुग्न सकिने र त्यसले देशको अर्थतन्त्रमै कायापलट गर्ने सपना देखेका मकवानपुरवासीहरूले धोका पाएको महशुस गर्दै थिए। 

त्यसैबीच, एक दिन अचानक भिमफेदी गाउँपालिका वडा नम्बर ६ मा दुईवटा एक्साभेटर देखा परे। सुरुमा भिमफेदीवासीहरूले सोचे – गाउँमा कतै बाटो बनाउन यी एक्साभेटर ल्याइएका होलान्। 

याे पनि : जनताकाे पैसामा हिरोइनको हिमाल आरोहणदेखि विदेश भ्रमणसम्म (भाग-२) 

तर, भोलिपल्ट बजारभरि हल्ला फैलियो – ती एक्साभेटर त सुरुङ मार्ग बनाउन पो ल्याइएको रहेछ। 

एकपटक धोका पाइसकेका भिमफेदीवासीले झट्टै विश्वास गर्ने कुरै भएन। तर, नभन्दै भिमफेदी बजारबाट सुरुङ मार्गसम्म पुग्ने एक्सेस रोड (पहुँच मार्ग) बनाउने काम धमाधम हुन थाल्यो। झण्डै दुई सातासम्म एक्साभेटरले नियमित रुपमा बाटो खने। सुरुङ मार्ग बन्ने आशा लगभग त्यागिसकेका भिमफेदीवासीमा फेरि नयाँ आशा सञ्चार भयो। 

त्यसैबीच दशैं लाग्यो। दशैंमा काम रोक्नु स्वभाविकै थियो। तिहारपछि काम सुचारु हुन्छ भनियो। एक्साभेटरहरूलाई पनि त्यहीँ राखियो। 

तर, तिहारपछि निर्वाचन आचारसंहिताले विकास निर्माणका काम गर्न दिएन भन्दै काम सुरु गरिएन। स्थानीय वासिन्दाहरूले पनि होला नि त भन्दै चित्त बुझाए।

तर, चुनाव सकिएको तेस्रो रात एउटा एक्साभेटर गायब भयो। केही दिनपछि ठेकेदारहरू अर्को एक्साभेटर लिन पुगे। त्यसपछि भिमफेदीवासीहरू निद्राबाट व्यूँझिए झैं भए – एक्साभेटर त चुनावी स्टन्ट पो रहेछ !

स्थानीय माधवदास श्रेष्ठ भन्छन्, ‘चुनावमा नाटक गर्न मेसिन ल्याएर बाटो बनाउन थालिएको रहेछ। पछि हामीले थाहा पाएपछि एउटा एक्साभेटर लानै दिएनौँ।’

अहिले पनि त्यो एक्साभेटर त्यहीँ छ। खिया लाग्दै गइरहेको यो मेशिनले दिनदिनै भिमफेदीवासीलाई सुरुङ मार्गमा ठगिएको पीडावोध गराउँछ।  

सुरुङमा राजनीति
भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा सुरुङ मार्गलाई लिएर केही दल र नेताले राजनीति गरेको आरोप लाउँछन्। उनी भन्छन्, ‘चुनावताका एक्साभेटर ल्याए, सडक बनाएको नाटक गरे, त्यसपछि गायब भए।’ 

नेपाली कांग्रेसका नेता जयराम लामिछाने चुनाव लड्दै थिए। निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका लामिछाने पनि सुरुदेखि नै काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माणमा सक्रिय छन्। उनी पूर्वाधार विकास कम्पनीको सञ्चालक समितिमा पनि छन्। 

सुरुङ मार्ग नबनाएको रिसमा मकवानपुरवासीले भोट नदेलान् भनेर लामिछानेले चुनावअघि दुई एक्साभेटर भिमफेदी लगी काम गरेकोजस्तो नाटक मञ्चन गराएको स्थानीयवासीको बुझाई छ।  

लामिछानेको यो नाटकमा एमालेका स्थानीय नेताहरू पनि संलग्न रहेको स्थानीयवासी बताउँछन्। किनकि, सुरुङ मार्ग नबनेकोमा आक्रोशित स्थानीयवासीको तारोमा लामिछानेमात्र होइन, स्थानीय एमाले नेताहरू पनि थिए। 

सिस्नेरीका पूर्व गाविसअध्यक्ष तथा स्थानीय एमाले नेता सुवासचन्द्र ठकुरी त झन् सुरुङ मार्गको सुरुवाती पहलकर्ता नै थिए। उनीलगायतका नेताहरूको पनि मिलेमतोमा एक्साभेटरको चुनावी स्टन्ट गरिएको स्थानीयवासीहरू बताउँछन्। 

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, वैशाख ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्