जनताकाे पैसामा हिरोइनको हिमाल आरोहणदेखि विदेश भ्रमणसम्म (भाग २)
काठमाडौं, बैशाख ५ : काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग बनाउने जिम्मा लिएको नेपाल पूर्
काठमाडौं, बैशाख ५ : काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग बनाउने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका स्थानीय वासिन्दा र विभिन्न व्यापारी–व्यवसायीबाट उठाएको रु ३६ करोडमध्ये रु ३० करोड सिध्याइसकेको छ।
तर, राजधानीबाट एक घण्टामै तराई पुग्ने यो ५८ किलोमिटर सुरुङ मार्गकाे निर्माण कार्य भने अझै सुरु हुने छाँट छैन। किनकि, नेपालकै पहिलो टोल सडकका लागि आवश्यक लगानीको एक प्रतिशत रकम पनि जुटिसकेको छैन। यसको प्रारम्भिक लागत रु ३४.८७ अर्ब हुने अनुमान थियो। अब त्यतिले पनि नपुग्ने भएको छ।
याे पनि :
काठमाडौं–हेटौँडा सुरुङ मार्ग बनेन, सर्वसाधारणको करोडौं डुब्यो (भाग १)
एक महिनाअघि काठमाडौंमा सम्पन्न विशेष साधारण सभामा कम्पनीले अब आफूसँग रु ६ करोड जति मात्रै बाँकी रहेको जानकारी दियो। हालसम्म ठ्याक्कै कति पैसा उठ्यो, के–केमा कति–कति खर्च भयो र अब कति बचेको छ भन्ने बिवरणहरू चाहिँ कम्पनीले आगामी असार १५ गते हुने साधारण सभामा सार्वजनिक गरिने बताएको छ।
काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग बनेपछि आफ्नो जिल्लाको मात्र होइन, देशकै अर्थतन्त्रमा कायापलट हुने आशामा मकवानपुरका स्थानीय वासिन्दाले पेट काटेर जोगाएको पैसा पूर्वाधार कम्पनीमा लगानी गरेका थिए। धेरै स्थानीय महिलाले कुखुरा–बाख्रा बेचेको पैसा पनि कम्पनीलाई सुम्पिए। कम्पनीले मकवानपुरका सर्वसाधारणबाट मात्रै करिब रु २३ करोड संकलन गरेको थियो।
बाँकी पैसा अन्यत्रका व्यापारी–व्यवसायीबाट उठाएको थियो।
त्यो पैसा केमा र कसरी खर्च भयो भन्ने विस्तृत बिवरणका लागि त कम्पनीको साधारण सभा नै कुर्नुपर्ला, तर काठमाडौं प्रेसले हालसम्म प्राप्त गरेको सूचनाले देखाउँछ – हेटौँडा, भिमफेदी, इन्द्रसरोवर र मकवानपुरका अन्य गाउँपालिकाका सर्वसाधारणबाट संकलन गरिएको पैसाको चरम दुरुपयोग भएको छ।
हिरोइनको हिमाल आरोहण, पारिवारिक विदेश भ्रमण र आफन्तलाई जागिर
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेकै बेला कुशकुमार जोशी नेपाल पूर्वाधार विकास कम्पनीको संस्थापक अध्यक्ष भएका थिए। जोशी आफैं मकवानपुरका विभिन्न ठाउँ पुगे। र, मकवानपुरको मात्र नभई देशकै कायापलट हुने सपना बाँड्दै स्थानीय सर्वसाधारणलाई यो सुरुङ मार्गमा लगानी गर्न आग्रह गरे। उनकै आग्रहमा मकवानपुरवासीले रु २३ करोड कम्पनीलाई बुझाए।
कम्पनीले अन्य व्यवसायीबाट पनि पैसा उठाएर प्रारम्भिक लगानी रु ३६ करोड पुर्याए। जोशी आफैंले भने रु १० लाख मात्रै हाले।
यही पैसाले काठमाडौंमा पूर्वाधार कम्पनीको कार्यालय खडा भयो। फर्निचरहरू किनियो। गाडीहरू किनिए। थप लगानी जुटाउन भन्दै जोशी पटक–पटक विदेश भ्रमणमा गए। कतिपय भ्रमणमा परिवारलाई पनि साथै लगे। यो कम्पनीमा जोशीले आफ्नै आफन्तहरूलाई जागिर लाइदिएको पनि सञ्चालक समितिका एक सदस्यले बताए।
सुरुङ मार्ग निर्माणकै लागि उठाइएको रकमबाट रु ६ लाख झिकेर नायिका निशा अधिकारीलाई सगरमाथा आरोहण गर्न दिइयो।
पूर्वाधार कम्पनीको प्रायोजनमा अधिकारीले सगरमाथा आरोहण गर्दा काठमाडौं–कुलेखानी–हेटौँडा सडक परियोजनाको चर्चा हुन्छ र अरु लगानीकर्ताहरू पनि आउँछन् भन्ने तर्क जोशीको थियो।
तर, अन्य लगानीकर्ताहरू आएनन्। पटक–पटक विदेश यात्रामा निस्किए पनि जोशीले एउटामात्रै विदेशी लगानीकर्तालाई पनि विश्वस्त पार्न सकेनन्।
भिडियाे स्टाेरी
जोशीले पटक–पटक काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा विदेशी लगानीकर्ताले चासो दिएको बताएका थिए। जोशी अध्यक्ष हुँदै कम्पनीले क्यानेडियन कम्पनी इन्फ्राब्याङ्क्ससँग लगानी जुटाइदिन आग्रह गरेको थियो। इन्फ्राब्याङ्क्सस क्यानडाको लगानी जुटाइदिने निजी कम्पनी हो। तर, इन्फ्राब्याङ्क्ससले पनि लगानी जुटाइदिएन।
भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा भन्छन्, ‘जनताबाट उठाइएको पैसा मनलाग्दी खर्च गरियो। ३० करोड रुपैयाँ झ्वाम पारियो। यो विषयमा अब सरकारले छानबिन गर्नुपर्छ।’
आन्तरिक विवाद
२०६७ सालतिर मकवानपुरका स्थानीय एमाले नेता सुवासचन्द्र ठकुरीको नेतृत्वमा सुरुङ मार्ग निर्माणको पहल भएको थियो। सिस्नेरी गाविसका अध्यक्ष भएका बेला ठकुरीकै पहलमा काठमाडौं–दक्षिणकाली सडक बनेको थियो। यो सडकको सफलताबाट हौसिँदै ठकुरीले काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग बनाउने सपना देखेका थिए। यो सपना साकार पार्न उनले आफ्नै संयोजकत्वमा १५० सदस्यीय सहजीकरण समिति पनि गठन गरे।
समितिले उद्योग वणिज्य महासंघसँगको सहकार्यमा काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माणलाई अघि बढाउने निर्णय गर्यो। त्यसबेला उद्योग वाणिज्य महासंघका अध्यक्ष थिए, कुशकुमार जोशी।
त्यो सहजीकरण समिति मार्फत पूर्वाधार कम्पनी खडा गरियो। कुशकुमार जोशी कम्पनीका संस्थापक अध्यक्ष बने। मकवानपुर कांग्रेसका नेता तथा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष जयराम लामिछाने, निर्माण व्यवसायी तथा राप्रपा नेता बिक्रम पान्डे र सुकुन्तलाल हिराचनलगायत पनि कम्पनीको सञ्चालक समितिमा बसे।
तर, कम्पनी आन्तरिक विवादमा मुझियो। बिक्रम पान्डे धेरै समय सञ्चालक समिति सदस्य रहेनन्। उनले अध्यक्ष जोशीको कार्यशैलीको विरोध गर्दै कम्पनी छाडे। त्यसबेला उनले काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग नबन्ने र जनताको पैसा डुब्ने सार्वजनिक घोषणा पनि गरेका थिए।
पाण्डेले कुन हिसाबले त्यो घोषणा गरे, तर उनको भविष्यवाणी अहिले सही सावित हुने क्रममा छ।
पान्डे बाहिरिएको केही समयपछि जोशीले काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ परियोजनाका परिकल्पनाकार सुवासचन्द्र ठकुरीलाई पनि सञ्चालक समितिबाट हटाउने खेल सुरु गरे। त्यसपछि कम्पनी झन् आरोप–प्रत्यारोप र विवादको घेरामा मुछियो। कम्पनी आफैंमा आन्तरिक किचलोमा अल्झिएपछि अरु लगानीकर्ताले पत्याएनन्। कोही विदेशी लगानीकर्ता आएनन्। र, मकवानपुरका जनताबाट उठाइएको पैसा डुब्ने स्थितिमा पुग्यो।
हालै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट पूर्वाधार कम्पनीको नयाँ अध्यक्ष बनेका छन्। तर, कुशकुमार जोशीकै कार्यकालमा पूर्वाधार कम्पनीले विश्वास गुमाइसकेकोले भट्टबाट कुनै चमत्कार हुने आशा न्यून देखिन्छ।
कम्पनीको म्याद सकियो, अब के हुन्छ?
मन्त्रिपरिषदले २०६९ वैशाखमा काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माणको जिम्मा नेपाल पूर्वाधार विकास कम्पनीलाई दिँदा दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेश गर्ने समय पनि तोकिदिएको थियो। २०७१ सालबाट कामै सुरु गर्ने र २०७५ सालसम्म सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने म्यादसरकारले पूर्वाधार कम्पनीलाई दिएको थियो।
त्यो म्याद सकिइसक्यो। तर, सुरुङ बन्नु त के, लगानी समेत जुटेको छैन।
पूर्वाधार कम्पनीकै म्याद पनि चार महिनाअघि सकिएको थियो। अहिले कम्पनीका पदाधिकारीहरू म्याद थपिमाग्न विभिन्न मन्त्रालय धाइरहेका छन्। अहिलेसम्म सरकारले म्याद थपिसकेको छैन। कम्पनी खारेज पनि गरिसकेको छैन। किनकि, कम्पनी खारेज गर्दा सर्वसाधारणको करोडौं रुपैयाँ डुब्ने डर छ। यसैले, सरकार पर्ख र हेरकै अवस्थामा छ।