Kathmandu Press

टाट पल्टिँदै वायुसेवा निगम, कर्मचारीलाई तलब <br>खुवाउनै हम्मे 

काठमाडौं, चैत २१: स्थापनाको झण्डै ६० वर्षपछि दुई वाइड बडी जहाज खरिद गरेपछि झन् उचाइ लिने आशा गरिएको

टाट पल्टिँदै वायुसेवा निगम, कर्मचारीलाई तलब <br>खुवाउनै हम्मे 
ग्राफिक्स

काठमाडौं, चैत २१: स्थापनाको झण्डै ६० वर्षपछि दुई वाइड बडी जहाज खरिद गरेपछि झन् उचाइ लिने आशा गरिएको नेपाल एयरलाइन्स अहिले तीव्र रुपले ओह्रालो लाग्दैछ । अर्बौ रुपैयाँ ऋणको बोझले थिचिएको राष्ट्रिय ध्वजावाहक कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने अवस्थामा पुग्दैछ।

निगमले १० महिनाअघि झन्डै २४ अर्ब रुपैयाँ ऋण लिएर दुई थान वाइडबडी जहाज किनेको थियो। त्यो ऋणको वार्षिक ब्याज नै २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी तिर्नुपर्छ। तर, निगमले दुइटै वाइड बडी पूर्ण क्षमतामा चलाउन सकेको छैन। वाइडबडी खरिद गर्नुअघि पनि निगम ऋणमै थियो। एयर बस ३२०–२०० सिरिजका दुई थान न्यारो बडी जहाज किन्दाको १० अर्ब ऋण चुक्ता गर्न सकेको छैन। चिनियाँ जहाज किन्दाको ३ अर्ब ७२ करोड रुपैयाँ ऋण पनि त्यसै छ। निगमको कुल ऋण ३७ अर्ब रुपैयाँभन्दा धेरै पुगिसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ३ अर्ब रुपैयाँ आम्दानी गरेर जेनतेन टिकिरहेको निगम दुई वाइड बडी किनेपछि भने टाट पल्टिने अवस्थामा पुग्न लागेको छ। दुई वाइड बडी किनेपछि आफ्नो बजार हिस्सा १७ प्रतिशत पुग्ने दाबी निगमको थियो। वार्षिक १० लाखभन्दा बढी हवाई यात्रुलाई सेवा दिने घोषणासमेत निगमले गरेको थियो।  

Hardik ivf

तर, वाइड बडी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै निगम विवादमा पर्‍यो। संसद, सडक, मिडिया र सामाजिक सञ्जालमा समेत हङ्गामा भयो। तर, नेपाल भित्रिइसकेका जहाजलाई कता र कसरी उडाउने भन्ने विषयमा भने निगमभित्र र बाहिर पनि खासै बहस भएन। वाइड बडी जहाजहरूलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन नगर्ने र थप ऋण नपाउने हो भने निगम केही महिनाभित्रै कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने अवस्थामा पुग्ने निगमकै एक उच्च अधिकारीले काठमाडौं प्रेसलाई बताए ।

उनले भने, ‘वाइड बडी जहाजहरू आएपछि त खर्च र आम्दानीबीचको असन्तुलन भयावह अवस्थामा पुगेको छ।’ इतिहासमै पहिलोपटक एयरबस ३३०–२०० सिरिजका दुई थान वाइड बडी जहाज खरिद गरेपछि निगमले जापान, कोरिया, चीन र लण्डनसम्मको यात्रा गर्ने आशा लिइएको थियो। तर, लामो दूरी त टाढाकै कुरा, छोटा दूरीमा समेत वाइड बडी जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग दुई वाइड बडीबाहेक दुई न्यारो बडी पनि छन्। तर, ती जहाजले पनि पूर्ण क्षमतामा उडान भर्न पाएका छैनन्। नेपालभित्रै उडान भने चिनियाँ जहाजहरू त आकाशमा भन्दा धेरै समय जमीनमै हुन्छन्।

उड्नु पर्ने १६ घन्टा, उड्छन् ८ घन्टा

लामो दूरीमा दैनिक १६ घन्टासम्म उडान भर्नसक्ने वाइड बडी जहाजहरूले यतिबेला मुश्किलले छोटो दूरीमा दैनिक ८ घन्टामात्रै उडान भरिरहेका छन्। जहाज उड्दा पनि यात्रुले पूर्ण रुपमा भरिएका हुँदैनन्। आधा खाली नै हुन्छन्।

प्रत्येक वाइड बडी जहाजमा २ सय ७५ सिट छन्। तर, प्रायः आधा सिटहरूमा यात्रु नै हुँदैनन्। निगमका एक इञ्जिनियरले भने, ‘वाइड बडी जहाज आएको १० महिना बित्दा समेत नयाँ गन्तव्यको टुंगो लगाउन नसक्नु निगम व्यवस्थापनको चरम लापरवाही हो।’

निगमले वाइड बडी जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। यति ठूलो ऋण लिएर किनिएका दुई वाइड बडीलाई छोटो दूरीमा मात्रै उडाइँदा त्यसका इञ्जिनको आयु पनि कम भइरहेको एक इञ्जिनियरले बताए।

जापान र कोरिया उड्ने टुंगो छैन

निगमले अझै जापान र दक्षिण कोरियामा उडान भने अनुमति पाएको छैन। कोरियाले अनुमति दिनुपहिले सुरक्षा अडिटका लागि एक टोली पठाउने बताएको थियो। तर, निगमले अझै त्यो टोली बोलाएको छैन। जापानमा जेनरल सेल्स एजेन्टसमेत नियुक्त गर्न सकेको छैन। साउदी अरबमा पनि उडान भर्न पाएको छैन। चीनले पनि अनुमति दिइसकेको छैन।

मासिक घाटा ३० करोड

निगमको मासिक घाटा औसत ३० करोड रुपैयाँ छ। यस हिसाबले वाइड बडी जहाज खरिद गरेयताका १० महिनामा मात्रै झन्डै ३ अर्ब रुपैयाँ घाटा व्योहोरेको छ। आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि पुससम्म मात्रै निगमको घाटा १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

निगमले वाइड बडी जहाज किन्दा लिएको ऋणको किस्ता प्रत्येक तीन महिनामा ८३ करोड रुपैयाँ बुझाउनुपर्छ। मासिक किस्ता २७ करोड रुपैयाँको हाराहारीमा छ। मासिक ३० करोड घाटामा चलेको निगमले यत्रो किस्ता कसरी तिर्छ? यो प्रश्नले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरूलाई रिङ्गाएको छ। निगमले सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ता असोजयता बुझाउन सकेको छैन। किस्ता नबुझाउँदा ऋण र ब्याजको भार झन् थपिँदैछ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले वाइड बडी पूर्ण क्षमतामा नचल्दासम्म किस्ता तिर्न समस्या हुने भएकाले सरकारसँग ५ अर्ब रुपैयाँ मागिएको बताएका छन्। निगमले माग्न त २० अर्ब रुपैयाँ मागेको थियो। अर्थ मन्त्रालयले त्यत्रो रकम दिन नसक्ने बताएपछि निगमले ५ अर्ब रुपैयाँ लिएर गर्जो टार्ने निधो गरेको खरेल बताउँछन्।
‘निगमले पूर्ण क्षमतामा वाइड बडी नउडाएसम्म नगद प्रवाहमा समस्या पर्ने छ,’ खरेलले भने।

वाइड बडी मात्रै होइन, न्यारो बडी एयर बस ३२० जहाज समेत घाटामा छन्। यी जहाजको पनि ६ महिनाको घाटा बढेर ११ करोड रुपैयाँ पुगेको छ। सञ्चय कोषबाट १० अर्ब रुपैयाँ ऋण लिएर न्यारो बडी खरिद गरिएको थियो।

चिनियाँ जहाजमा घाटै घाटा   

निगमका लागि ‘सेतो हात्ती’ बनेका ६ थान चिनियाँ जहाजको घाटा त झन् कहालीलाग्दो अवस्थामा छ। निगमसँग अनुदानमा प्राप्त दुई थान र सरल ऋणमा खरिद गरिएका चार थान गरी ६ थान चिनियाँ जहाज छन्। निगमसँग रहेका २ थान एमए–६० र ४ थान वाई–१२ इ पनि पाइलट र प्राविधिक अभावमा अधिकांश समय ग्राउन्डेड हुने गरेका छन्। यी जहाज उड्दा र बस्दा दुवैमा घाटा छ। चिनियाँ जहाजमा चार वर्षमा २ अर्ब २४ करोड भन्दा बढी घाटा व्योहोर्नु परेको छ।

चिनियाँ जहाज किन्न निगमलाई चीनको एक्जिम बैंकमार्फत ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋण उपलब्ध गराइएको हो। उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२-इ अनुदानमा लिन उपयोग गरिएको थियो। बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ एउटा एमए ६० र तीनवटा वाई १२-इ जहाज ऋणमा खरिद गरिएको हो।

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्