Kathmandu Press

ग्राउन्ड जिरो फेटा : भीआईपीहरू आए–गए, हुरीपीडितको दोस्रो रात पनि खुला आकाशमुनि

फेटा (बारा), चैत १८ : आइतबार राति आएको शक्तिशाली हुरीबतासले बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा ठू

ग्राउन्ड जिरो फेटा : भीआईपीहरू आए–गए, हुरीपीडितको दोस्रो रात पनि खुला आकाशमुनि
जियालाल साह

फेटा (बारा), चैत १८ : आइतबार राति आएको शक्तिशाली हुरीबतासले बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति गर्‍यो।

तराईमा विरलै आउने यस्तो हुरीबतासको इपिसेन्टर भने बाराको फेटा गाउँपालिका थियो । जिल्ला सदरमुकाम कलैयाबाट दक्षिण–पश्चिममा पर्ने फेटा गाउँमा हुरीबतासका कारण मर्नेको संख्या सोमबार साँझसम्म १४ पुगिसकेको गृह मन्त्रालयले जनाएको छ । 

भारतीय सीमा नजिकै रहेको यो गाउँमा करिब दुई हजार घर छन् । तीमध्ये ८० प्रतिशत हुरीबतासले ढलेका छन् । तिनै घरमा च्यापिएर १४ जनाको मृत्यु भयो । दर्जनौ घाइते भए । उनीहरूको वीरगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

Hardik ivf

आजको रात कहाँ र कसरी बिताउने टुङ्गो नलागेर टोलाइरहेका एक हुरीपीडित

फेटा गाउँपालिकाकी कुन्ती देवी आइतबार राति हुरी आउँदा खाना बनाउँदै थिइन् । भात पाकिसकेको थियो । तरकारी पाक्न बाँकी थियो । यतिकैमा असिनापानी पर्‍यो । एकछिनमे ठूलो हुण्डरी चल्न थाल्यो । हुण्डरीले उनको घर गर्ल्याम्म ढाल्यो । घर छाउन प्रयोग गरिएको टालीले किचिएर उनको मृत्यु भयो ।

उनका श्रीमान र ११ वर्षीय छोरा पनि गम्भीर घाइते भए । उनका काखे बालक बाँचे, तर सोमबार दिनभरि जसो आमाको दूध खान नपाएर रोइरहेका थिए । कुन्तीकी ७५ वर्षीया आमा मोटोसरी देवी काखमा नाति बोकेर राहतको आशा गर्दै थिइन् ।  

घरले किचेर मृत्यु भएकी छोरी कुन्ती देवीका काखे छोरा काखमा लिँदै हजुरआमा

दिउँसोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशबाट फेटाको निरीक्षण गरे । उनी त्यहाँ ओर्लेनन् । हुरीबतासले सबैभन्दा धेरै क्षति पुर्‍याएको गाउँमा पाइलै नराखी कलैयामा उपचाररत पीडितसँग भेटी काठमाडौं फर्किए ।

‘हामीलाई हेर्न त धेरै आए, तर कसैले देखेनन् ।’

गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाल पनि सोमबार हुरी प्रभावित क्षेत्रमा आए । तर, उनीहरू पनि फेटा नपुगी फर्किए । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतमात्रै फेटा पुग्ने उच्च नेता थिए ।  

फेटामा दिनभरि जसो सुरक्षाकर्मी खटिएका थिए । तर, हुरीबतासले ढालेका घरका ढुङ्गा, माटो र इँटाहरू पन्छाउन कोही अघि बढेनन् । कसैले पनि फेटाका हुरीपीडितका लागि त्रिपालको व्यवस्थासमेत गरेनन् ।

हुरी आएपछि हिजो रातभर उनीहरू सुत्न सकेनन् । अस्पताल र यताउता चाहार्दै उज्यालो भयो । आज राति उनीहरू सुत्न त पाउलान्, तर खुला आकाशमुनि ।

हुरीबतासमा ज्यान गुमाएकी कुन्तीकी आमा मोटोसरीको सरकार र राहतमा संलग्न संघसंस्थासँग गुनासो छ । काठमाडौं प्रेससँगको कुराकानीमा उनले आफ्नै भाषामा धेरै कुरा भनिन् । जसको सार थियो – ‘हामीलाई हेर्न त धेरै आए, तर कसैले देखेनन् ।’ 


 

यो पनि पढ्नुहोस् : हरियो बाँस, कात्रो र टुहुराहरू : हुरी प्रभावित फेटामा जे देखियो

यो पनि पढ्नुहोस् : गम्भीर घाइते ११ लाई काठमाडौं ल्याइयो, ३४३ को तराईमै उपचार

प्रकाशित मिति: २१:४२ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्