हरियो बाँस, कात्रो र टुहुराहरू : हुरी प्रभावित फेटामा जे देखियो
फेटा (बारा), चैत १८ : आइतबार राति चलेको भीषण हावाहुरीले सबैभन्दा बढी क्षति पुगेको गाउँ फेटा सोमबार द
फेटा (बारा), चैत १८ : आइतबार राति चलेको भीषण हावाहुरीले सबैभन्दा बढी क्षति पुगेको गाउँ फेटा सोमबार दिनभरि शोकमा डुब्यो। बारा जिल्लाको सदरमुकाम कलैयाबाट दक्षिण पश्चिममा पर्ने फेटा गाउँपालिकामा हावाहुरीले सबैभन्दा बढी १४ जनाको ज्यान लिएको थियो। मर्नेमा अधिकांश महिला–बालबालिका छन्।
फेटा गाउँपालिका–३ भलुही पुग्दा मानिसहरू लाश गाड्न लैजाने खट बनाउन हरियो बाँस काट्दै थिए। कोही भने सेतो कात्रोको जोहो गर्दै थिए। उनीहरूलाई एक होइन–दुई होइन, चौध जनाको लाश गाड्नु थियो।
छोराछोरी र श्रीमान गुमाएका महिलाहरू डाँको छाडेर रुँदै थिए। उनीहरूलाई सान्त्वना दिने प्रयास गरिरहेका स्थानीय वासिन्दाको आँखा पनि आँशुले सजल थियो।
स्थानीय व्यापारी र युवाहरूले चन्दा उठाएर हावाहुरी प्रभावित गाउँलेका लागि खाना बनाएर खुवाएका थिए। खाना खानेहरूको लहरमा टाउकोमा मल्हमपट्टी लाएकी एक बालिका पनि थिइन्, जसका बा–आमा दुबै आफ्नै घरले किचेर गम्भीर घाइते भएका रहेछन्। उनीहरू दुबैको वीरगञ्जमा उपचार भइरहेको छ (हेर्नुहोस् तस्वीर)।
ती बालिकाले मुखमा हालेको गाँस निल्न सकिनन्। गाँस चपाउँदा चपाउँदै रुन थालिन्। अरु बालबालिकाको पनि सातो हराएको जस्तो देखिन्थ्यो।
फेटा गाउँ उजाड थियो । मानौ, रातारात कसैले यो गाउँका सारा रुखहरू काटेर कतै लगेका छन्। घरका छाना, ट्रान्सफर्मरहरू पनि केही बाँकी थिएनन् । प्रधानमन्त्री केपी ओलीले सोमबार आकाशबाटै फेटाको निरीक्षण गरे । तर, यहाँ ओर्लिएनन् । कलैयामा केही मानिससँग कुरा गरी काठमाडौं फर्किए।