नागढुङ्गा–नौबिसे सुरुङको जिम्मा जापानी कम्पनी हाजमालाई
काठमाडौं, चैत १० : राजधानी प्रवेश गर्दा खेप्नु पर्ने जामबाट मुक्ति पाइने भएको छ । नागढुङ्गा–नौ
काठमाडौं, चैत १० : राजधानी प्रवेश गर्दा खेप्नु पर्ने जामबाट मुक्ति पाइने भएको छ । नागढुङ्गा–नौबिसे सडकको सास्ती हटाउँन सुरुङमार्ग निर्माण हुने भएको छ।
जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा काठमाडौं उपत्यकाबाट आवातजावत गर्ने मुख्य नाका नागढुंगा–नौबिसे जोड्ने सडकमा दुई किलोमिटर ६ सय ८८ मिटर लामो सुरुङमार्ग बनाउन लागिएको हो । यसको ठेक्का सम्झौता हुने अन्तिम तयारी भइरहेको छ । स्रोतका अनुसार, सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी ‘हाजमा’सँग संभवतः भोलि नै सम्झौता हुनेछ ।
सुरुङमार्गको निर्माणपछि यो सडकको दूरी पाँच किलोमिटर छोटो हुनेछ । नागढुंगा–नौबीसे सडकका नागबेली घुम्ती पनि अब काट्नु पर्ने छैन । सुरुङमार्ग निर्माणपछि राजधानी आवतजावत गर्ने यात्रुले जामको समस्याबाट मुक्ति पाउने छन्।
सरकारले सुरुङमार्ग निर्माणका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा ६ वटा कम्पनीले आवेदन दिएका थिए । सडक विभाग स्रोतका अनुसार, पाँच वटा चिनियाँ र एउटा जापानी कम्पनीले आवेदन दिएका हुन् । तीमध्ये जापानी कम्पनी ‘हाजमा’सँग सम्झौता गर्ने तयारी भएको हो।
सडक विभागबाट प्राप्त जानकारीअनुसार, ती कम्पनीहरूको प्रारम्भिक अध्ययनपश्चात् हाजमा कम्पनीको प्राविधिक प्रस्ताव उत्कृष्ट सूचीमा परेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पनि हाजमाले नै पाउने पक्कापक्की भएको विभाग स्रोतले बतायो।
सम्झौता भएको तीन महिनाभित्र कम्पनीले काम अगाडि बढाउने तयारी गरेको छ । पहिलो चरणमा मुआब्जा वितरणको काम गरिने छ।
यस्तो बन्ने छ सुरुङमार्ग
धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिन र काठमाडौंबाट बाहिरिन निकै सहज हुनेछ । सुरुङ मार्गलाई सिधै सीतापाइलासँग जोड्न लिंक रोड निर्माण गरिने पनि विभागले जनाएको छ।
सुरुङमार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौं पुगिने सडक विभागको अनुमान छ । बलम्बूबाट सिस्नेखोलासम्म अहिलेकोे दूरी साढे १० किलोमिटर छ । सुरुङमार्ग निर्माण भएपछि त्यो दूरी साढे पाँच किलोमिटरमा छोटिने छ।
सीतापाइलाबाट लिंक रोडसहित ६ किलोमिटरको यस खण्डमा सुरुङ भने धादिङको सिस्नेखोलादेखि नागढुंगाभित्र पर्ने बस्नेत छापसम्म मात्र हुनेछ । सुरुङको लम्बाइ दुई किलोमिटर ६ सय ८८ मिटर हुनेछ।
यस खण्डमा दुइटा पुल र दुइटा कल्भर्ट निर्माण हुनेछन् । १२ मिटर चौडाइको यो सडकमा दुवैतिर एक÷एक मिटरको फुटपाथ राखिने छ । सुरुङमा १४ वटा ‘भेण्टिलेटर’ र ‘जेट फ्यान’ जडान हुनेछन्।
सुरुङमार्ग ‘टू प्लस वान लेन’ मापदण्डको हुन्छ । ‘टू प्लस वान लेन’ सडक खण्डमा दुवै साइडका सडक बेलाबेलामा दुई लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ । एकपट्टिको सडक दुई लेन हुँदा अर्कोपट्टिको सडक एक लेनमा परिणत हुन्छ।
सुरुङमार्गको मुख नागढुंगाबाट केही पर दहचोकको टुटीपाखामा हुनेछ । सुरुङमार्गमा पुग्ने सडक अहिले नेपाल टेलिकमको स्याटेलाईट अर्थ स्टेसन रहेको बलम्बु नजिकबाट दाहिनेतिर मोडिने विभागले जनाएको छ । बलम्बुबाट टुटीपाखा पुग्न लगभग २.३ किलोमिटर सडक पार गर्नुपर्नेछ।
यो सडकमा पुग्न बलम्बुमा ओभरब्रिज पनि बन्नेछ । सुरुङमार्ग प्रयोग गर्ने गाडीहरू बलम्बुको ओभरब्रिजबाट दाहिने मोडिनेछन् भने नागढुंगा भञ्ज्यांग हुँदै जाने गाडीहरूले अहिलेको त्रिभुवन राजपथलाई नै प्रयोग गर्नेछन्।
सुरुङमार्गमा दुई लेनको सडकसहित पेट्राल पम्प, सर्भिस सेन्टरलगायतका सुविधाहरू पनि राख्ने जनाएको छ।
२२ अर्ब लगानी
जाइकाले आर्थिक सहयोग उपलब्ध गराएको सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ।
नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार, जाइकाले सुरुङमार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने छ। यो रकम मुआब्जा वितरण र निर्माण क्षेत्रमा खटिने कर्मचारीको तलब भत्तामा प्रयोग हुनेछ।
जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिन लागेको छ । ऋण रकमलाई सरकारले सुरुङमार्गमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो। यसमा अपुग ६ अर्ब रुपैयाँ नेपाल सरकारले व्यहोर्ने छ । सरकारले चालू आर्थिक वर्षमा सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४४ करोड रकम विनियोजन गरेको छ । यसमध्ये ४० करोड वैदेशिक सहयोगबाट र बाँकी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ।
गत आर्थिक वर्षमा पनि सुरुङमार्ग निर्माण कार्यका लागि सरकारले १० अर्ब बजेट बिनियोजन गरेको थियो । तर, काम अगाडि नबढेपछि रकम फिर्ता पठाइएको थियो । सुरुङमार्ग निर्माणका लागि काठमाडौंमा दुई सय ६७ र धादिङमा एसय सय नौ रोपनी जग्गा अधिग्रहण गरिनेछ।
सुरुङमार्गको सम्पूर्ण निर्माण कार्य साढे तीन वर्षमा सम्पन्न हुने गरी कार्यतालिका बनाइएको छ।