पाँच सय वर्ष पुरानो ढुङ्गेधारा मासिएपछि ट्याङ्करकाे भर
इखाछेँ (पाटन), चैत ८ : ७८ वर्षीया नानीमाया शाक्यले ट्याङ्करको पानी किनेर खानुपर्ने दि

इखाछेँ (पाटन), चैत ८ : ७८ वर्षीया नानीमाया शाक्यले ट्याङ्करको पानी किनेर खानुपर्ने दिन पनि आउला भनेर कहिल्यै सोचेकी थिइनन्।
आफ्नै टोलमा रहेको ५४० वर्ष पुरानो आल्को हिटी (ढुङ्गेधारा) को पानी पिउँदै हुर्किएकी नानीमाया भन्छिन्, ‘थपायसकं ल यागु दुख ला गबलें मजु।’
अर्थात्, यति साह्रो पानीको दुःख त कहिल्यै पाइएको थिएनँ !

यो नानीमायाको मात्रै होइन, सारा इखाछें टोलवासीकै समस्या हो । उनीहरू आँगनमै ढुङ्गेधारा र घर–घरमै सरकारी खानेपानीका पाइप हुँदाहुँदै पनि ट्याङ्करको पानीमा निर्भर छन्।
ट्याङ्करको पानी महङ्गो त छँदैछ, कहिलेकाहीँ त प्रदूषित पनि हुन्छ।
सयौँ वर्षदेखि ढुङ्गेधाराको स्वच्छ पानीमा निर्भर प्राचीन नेवार बस्तीहरूलाई सरकारले कसरी काकाकुल अवस्थामा पुर्याएको छ ? यसैको एउटा उदाहरण हो – इखाछेँ टोल।
पानीमा परनिर्भर
ललितपुर, पाटनको बगलामुखीनजिकै रहेको पुरानो नेवार बस्ती इखाछेँमा करिब २ सय घरपरिवार छन् । स्थानीय पुजारी ८० वर्षीय तुइसिं बज्राचार्यका अनुसार, ३० वर्षअघिसम्म पनि ईखाछेँमा छेलोखेलो पानी थियो । अधिकांश टोलबासीले त्यहीँ रहेकाे ५४० वर्ष पुरानो आल्कोहिटीको पानी उपभोग गर्थे।

तर, सरकारले घर–घरमै खानेपानीको पाइप पुर्यायो । घर–घरमै धारा जडान भएपछि आल्को हिटीको मर्मत सम्भारमा इखाछेंवासीले पहिले जस्तो ध्यान दिएनन् । घरमा धारा नहुने केही परिवारले मात्रै यो ढुङ्गेधाराको पानी प्रयोग गरिरहे।
विस्तारै आल्को हिटीमा लेउ जम्न थाल्यो । झार–बुट्यानहरू पलाउन थाले । कतिले फोहोर पनि फ्याँक्ने थाले । हेर्दाहेर्दै कुनै बेला कल्कल पानी बग्ने आल्को हिटी फोहोर फ्याँक्ने डम्पिङ साइटमा परिणत भयो तर सरकारले काठमाडौं उपत्यकामा पर्याप्त खानेपानी आपूर्ति गर्न सकेन ।
अन्यत्र झै इखाछें टोलमा जडित सरकारी धाराहरू सुक्न थाले । वि.सं. २०५० सालतिर सरकारी धाराबाट पानी होइन, हावा मात्रै आउँथ्यो । तर, त्यति बेलासम्म आल्को हिटी सुकिसकेको थियो।
.jpg)
ललितपुर महानगरपालिका वडा नं. ११ (इखाछेँ टोल) की वडा सदस्य आपुलु शाक्य भन्छिन्, ‘सरकारी धाराहरू सुके । सामुदायिक ढुङ्गेधारा पहिल्यै सुकिसकेको थियो । त्यसपछि एक गाग्री पानी ल्याउन पनि धेरै परसम्म जानुपर्ने अवस्था आयो ।’
त्यसपछि स्थानीय युवाहरूले आल्को हिटीलाई पुनर्जीवन दिने प्रयास गरे । त्यसका लागि आल्को हिटी खन्नुपर्ने भयो । स्थानीय बूढापाकाहरू त्यसको विपक्षमा थिए । जमिनमुनिको स्रोत खनेर हेरे इष्टदेव रिसाउँछ भन्ने उनीहरूको विश्वास थिजो । तर, पानी नपाएर छटपटिएका युवाहरूले अड्डी कसे । बूढापाकाको केही जोर चलेन।
त्यस बेला आल्को हिटीलाई पुनर्जीवन दिने प्रयासमा जुटेका स्थानीय युवा सुशील श्रेष्ठ भन्छन्, ‘बूढापाकालाई मनाउन धेरै कोशिस गर्नुपर्यो।’
आल्को हिटी खनेर हेर्दा उनीहरूले थाहा पाए – मुख्य पाइपलाई केही फिट तल झार्नेबित्तिकै फेरि २४ सै घण्टा निरन्तर पानी आउने रहेछ । उनीहरूले त्यसै गरे । सुकिसकेको ढुङ्गेधारामा फेरि पानी आउन थाल्यो । तर, घर–घरमा पानी पुर्याउन अर्को प्रयास गर्नुपर्ने भयो।
.jpg)
ढुङ्गेधाराको पानी अग्लो टावरमा राखिएको ट्याङ्कीमा जम्मा गर्न र त्यहाँबाट घर–घर पुर्याउन श्रेष्ठले टोलवासीसँग चन्दा उठाए । सुरुमा धेरैको सहयोग पाएनन् । पुराना पुस्ताका गणेशमान शाक्य र कृष्ण महर्जनले सहयोग गरे । अरु तयार भएनन् । सुरुमा उनीहरूले प्रत्येक घरबाट रु २,००० उठाए । तर, जम्मा ४० हजार मात्र उठ्यो । उनीहरूलाई चार लाख ५० रुपैयाँ हजार चाहिन्थ्यो।
श्रेष्ठले आफ्नैतर्फबाट ४० हजार रुपैयाँ थपेर टावरको जग निर्माण सुरु गरे । जग ठडिएपछि अन्य टोलवासी पनि पैसा दिन तयार भए । उनीहरूले करिब ३७ फिट अग्लो टावर बनाए । त्यहाँ ९ फिट अग्लो १० हजार लिटर क्षमताको ट्याङ्की राखे । त्यसका लागि ललितपुर उपमहानगरपालिकाले पनि सहयोग गर्यो।
.jpg)
२०६० साल बैशाखबाट उनीहरूले १५० घरधुरीलाई ढुङ्गेधाराको पानी वितरण गर्न थाले । पानी वितरण तथा व्यवस्थापन गर्न आल्कोहिटी संरक्षण तथा खानेपानी वितरण उपभोक्ता समिति पनि गठन गरियो ।
साँझ ५ः३० देखि ११ बजेसम्म पानी वितरण गर्ने समय तोकियो । वितरणका क्रममा जति पानी बाहिर गयो, त्यसको ९० प्रतिशत टयांकीमा सोही समयमा भर्ने ब्यवस्था समेत मिलाइएको थियो ।
पानी ढुङ्गेधाराको स्रोतबाट तानेर माथिको टयाकीमा जम्मा गरिन्छ । सुख्खा याममा भने एक दिन बिराएर पानी वितरण गरिन्थ्यो । पानी वितरण र ब्यवस्थापनका लागि तीन कर्मचारी पनि नियुक्त गरियो । उनीहरुको खर्च धान्न र बेलाबेलामा मर्मत कार्य गर्न प्रत्येक घरबाट महिनाको एक सय रुपैयाँ उठाउँन थाले।
इखाछेँवासीले आफ्नै पहलमा ढुङ्गे धारालाई पुनर्जीवन दिई सामुदायिक खानेपानी प्रणाली सुरु गरेपछि सरकारले थप सहयोग गर्नुको सट्टा इखाछेंमा वितरण हुने पानीअन्यत्र दिन थाल्यो । त्यहाँ जडान गरिएका पानीका लाइनहरू बन्द गरिए।
इखाछेंवासीले त्यस बेला खासै आपत्ति जनाएनन् । किनकि, उनीहरूसँगै आफ्नै ढुङ्गेधारा थियो । आफ्नै पानी व्यवस्थापन प्रणाली थियो । तर, समय सधैँ एकनाशले नचल्ने रहेछ । जनसंख्या वृद्धि भयो । आल्को हिटीको पानीले नपुग्ने भयो । पहिले प्रत्येक घरले दिनको ५०० लिटर सम्म पानी पाउँथ्यो, अब १०० लिटर पानी पाउन पनि मुश्किल पर्न थाल्यो । त्यो पानी खान र खाना पकाउन पुग्थ्यो । लुगा धुन र नुहाउन पुग्दैनथ्यो।
अहिले आल्को हिटीमा मात्र नभएर ललितपुरका प्रायः सबै जसो ढुङ्गेधारामा पानी आउँदैन । वा, एकदमै कम मात्रै आउँछ । इखाछेँभन्दा माथि अनि वरिपरिका घर–घरमा इनार खनेर पानी तान्ने काम सुरु भयो । पानी तानेको अनुपातमा जमिनमा पानीको पुनर्भरण हुन सकेन । यसकारण पनि आल्को हिटी लगायतका ढुङ्गेधाराहरू सुक्न थाले।
ईखाछेँसहित पाटनको भित्री क्षेत्र ओरालोमा पर्छ । ललितपुरको उचाइमा रहेको दक्षिण भेगबाट राजकुलोमार्फत लगनखेल हुँदै पाटनको भित्री क्षेत्रमा पानी बग्थ्यो । तर, सरकारले ललितपुरको दक्षिणमा रहेको चापागाउँ लगायतका क्षेत्रमा सडक विस्तार गर्दा पानी बग्ने महत्वपूर्ण बाटो अर्थात राजकुलोहरुमा खासै ध्यान दिइएन।
राजकुलोको संरचना मासिनाले पनि तलतिर पानी आउन थप्पै भएको सहरी योजनाकार पि एस जोशी बताउँछन् । उनी भन्छन्, ‘ती राजकुलोहरु मात्र जोगाउने हो भने ललितपुरका ढुङ्गेधाराहरुमा पुनः पानी आउँछ।’
आल्को हिटी संरक्षण समितिका संस्थापक सुशील श्रेष्ठ भन्छन्, ‘हामीले जे गर्यौँ, त्यो तत्कालको समस्या समाधान मात्रै हो । दीगो उपाय त सरकारले मात्रै दिन सक्छ । तर, यति लामो समय बितिसक्दा पनि मेलम्ची आउने छाँट छैन । सरकारले मेलम्ची आउँछ भन्दै झुक्याइ मात्रै रहेको छ।’
पानी नपुगेपछि आल्कोहिटी संरक्षण तथा उपभोक्ता समितिले नै ट्याङ्करबाट पानी किनेर लिटरको हिसाबमा बिक्री वितरण गर्दै आएको छ । यस विषयमा राज्यले के गर्न सक्छ त ? ललितपुर क्षेत्र नं. २ का सांसद कृष्णलाल महर्जन निरीहता प्रकट गर्छन् । उनी भन्छन्, ‘मेलम्ची नआउञ्जेल ट्याङ्करकै भर पर्ने हो।’











-(7)-1765197040.jpg)
