देश छैन दलितको !
पाँचखाल (काभ्रे), चैत ७ : राष्ट्रपति कार्यालयबाट एक किलोमिटर र प्रधानमन्त्री निवासबाट दुई किलोम
पाँचखाल (काभ्रे), चैत ७ : राष्ट्रपति कार्यालयबाट एक किलोमिटर र प्रधानमन्त्री निवासबाट दुई किलोमिटर दूरीमा रहेको त्रिवि शिक्षण अस्पतालको शवगृहमा एउटा लाश झण्डै तीन वर्षदेखि कुहिँदैछ।
यो बेवारिसे लाश होइन । बरु, बेवारिसे भनेर खोला किनारको बलौटे माटो खनीखोस्री गाडिएको तीन दिनपछि उधिनेर अस्पताल पुर्याइएको लाश हो।
यो जसको लाश हो, उनलाई ज्यूँदो छँदा ‘जमिनमाथि हिँड्न नदिने’ धम्की दिइएको थियो । तर, मरेपछि पनि उनले एक मुठी माटो पाउन सकेका छैनन्।
एक ब्राह्मण किशोरीसँग प्रेम गर्ने ‘अपराध’ गरेका यी दलित किशोरको दाहसंस्कार तत्काल हुने छाँट छैन । उनका आमाबुवाले न्याय नपाएसम्म छोराको अन्तिम संस्कार नगर्ने कसम जाे खाएका छन्।
यो उनै अजित मिजारको कथा हो, जसले ‘माथिल्लो जात’की किशोरीलाई प्रेम गरेकै कारण जीवन गुमाए।
‘नमारेर बरु जेल हाले हुन्थ्यो नि !’
जहाँ अजितको लाश कुहिँदैछ, त्यहाँबाट एक–दुई किलोमिटरको दूरीमा रहेका राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास त शान्त छन् । तर, करिब ५० किलोमिटर पूर्वमा पर्ने काभ्रेको पाँचखालस्थित मिजारटोल भने अशान्त छ।
अरनिको राजमार्गमा पर्ने तामाघाट बजारबाट झण्डै १५ मिनेट डाँडा उक्लिएपछि पुगिन्छ मिजार टोल, जहाँ अजितको सानो घर छ ।
उनी जन्मे–हुर्केको घर त भूकम्पले भत्कायो । अब त्यो ध्वस्त घरको भग्नावशेष मात्रै बाँकी छ । त्यही भग्नावशेषछेउ एउटा चारकोठे घर छ, जसको एउटा कुनामा अजितकी आमा ४२ वर्षीया काली मिजार आँशुको घुट्को पिउँदै बाँचिरहेकी छिन्।
हर रात उनको शिरानी आँशुले भिज्छ । गाँस निल्दानिल्दै छोरा सम्झेर रुन थाल्छिन् । तीन वर्षदेखि कुनै चाडपर्वमा पनि खुलेर हाँस्न सकेकी छैनन्।
काठमाडौं प्रेससँग कुराकानी गर्ने क्रममा काली पटक–पटक भक्कानिएर रोइन् । आँखाभरि आँशु पार्दै भनिन्, ‘मेरो छोराले अपराध गरेको भए बरु हातखुट्टा भाँचिदिए हुन्थ्यो, पक्रेर जेल हालिदिए हुन्थ्यो, त्यसरी मार्न चाहिँ नमारेको भए हुन्थ्यो।’
मायामा मृत्यु पाए, मृत्युमा माटो पाएनन्
१८ वर्षीय अजित पाँचखाल, तामाघाटकै सर्व मंगल माविमा १० कक्षामा पढ्थे । त्यही स्कुलमा पढ्थिन्, पराजुली थरकी एक १८ वर्षीया किशोरी । सहपाठीहरूका अनुसार, दुबै ८ कक्षादेखि नै प्रेममा थिए ।
हुन त किशोरीको घर काभ्रेकै ज्यामिते गाउँपालिका हो, तर उनी तामाघाटको स्कुलनजिक डेरामा बस्थिन् । अजित र उनी प्रायः सँगै स्कुल जान्थे।
उनीहरू प्रेममा छन् भन्ने कालीलाई थाहा थिएन।
२०७३ असार २५ गते काली आफ्नै खेतमा व्यस्त थिइन् । गाउँमा हल्ला फैलियो – अजितले विहे गर्यो !
त्यो दिन अजितले ती किशोरीलाई भगाएर भक्तपुर, दुवाकोटस्थित दिदीको घरमा पुर्याएका रहेछन् । उनीहरू दुई रात त्यतै बसे।
यता पाँचखालमा किशोरीको खोजी हुनथाल्यो । उनका दाइ र बुबाले मिजार परिवारलाई छोरी फर्काउन दबाब दिए । असार २७ गते अजित र किशोरी पाँचखाल फर्किए । उनीहरूलाई पाँचखाल प्रहरी चौकी पुर्याइयो र उमेर नपुगी विहे गरेको भन्दै आ–आफ्नो परिवारको जिम्मा लगाइयो ।
किशोरीका आफन्तहरूले अजितका आमाबुवालाई छोरा सम्हालेर राख्न धम्की दिए । अजितले ती किशोरीलाई फेरि भेटे, बलात्कारको आरोपमा जेल हाल्ने र ‘माटोमाथि हिँड्न नदिने’सम्मका धम्की दिए।
असार २८ गते दिउँसो मोबाइलको चार्जर किन्न भनी आमासँग सय रुपैयाँ मागेर अजित तामाघाट बजार गएका थिए । तर, फर्केनन् । उनका साथीभाइ, आफन्त र ती किशोरीको परिवारलाई समेत फोन गरियो । तैपनि, अजितको पत्तो पाइएन।
साउन १ गते अजितका साथीहरूले फेसबुकमा एउटा समाचार देखे, ‘धादिङमा एक युवकद्वारा झुण्डिएर आत्महत्या।’
अजितकी आमा त फेसबुक चलाउँदिनन् । तर, त्यो समाचार उनको कानमा पनि पयो । समाचार सुन्नेबित्तिकै उनको मनमा चसक्क भयो - मेरो छोरा पो हो कि !
उनले अजितका एक साथीको मोबाइलमा त्यो समाचार हेरिन् । त्यहाँ लाशको फोटो पनि थियो । देख्ने बित्तिकै चिनिहालिन् - अजितै हो ।
झुण्डेर मर्न गाडी चढी जान्थ्यो र?
अजितको घरमा रुवाबासी चल्यो । अजितका बुबा हरिभक्त मिजार धादिङको गजुरी पुगे । तर, अजितको शव बेवारिसे भनेर दरौदी खोला किनारमा गाडिसकिएको रहेछ।
हरिभक्तले पोस्टमार्टमका लागि लाश खनेर निकाल्छु भने । गजुरी प्रहरी चौकीका इन्चार्ज सई प्रकाश लिम्बूले ‘पोस्टमार्टम भइसकेको हो, लाश निकाल्नु पर्दैन’ भने । हरिभक्तले फेरि पोस्टमार्टम गर्नुपर्ने माग राखे।
प्रहरीले ‘लाश क्षतविक्षत अवस्थामा छ र धेरै गहिरो गाडिएको छ’ भन्दै हरिभक्तलाई पन्छाउने खोज्यो । तर, हरिभक्त पन्छिएनन् । उनले आफ्नै खर्चमा छोराको लाश खनेर शववाहन भाडामा लिई काठमाडौं पुर्याए।
शिक्षण अस्पतालका डाक्टरले शुरुआतमा ‘घाँटीबाहिर सामान्य दाग छ तर घाँटीको हड्डी भाँचिएको छैन’ भन्दै अजितले आत्महत्या गरेको नभई उनलाई मारेर त्यहाँ झुण्ड्याइएको संकेत गरे । त्यसपछि हरिभक्तले आफ्नो छोराको हत्या गरेको भन्दै किशोरीका बुबा, दाइ र दिदीविरुद्ध किटानी जाहेर दिए।
प्रहरीले उनीहरूलाई पक्राउ पनि गर्यो । तर, २०७५ वैशाख १३ गते काभ्रे जिल्ला अदालतले उनीहरूलाई निर्दोष भन्दै रिहा गर्न प्रहरीलाई आदेश दियो । अदालतले त्यस्तो आदेश दिनुको मुख्य आधार थियो, अजितको पोस्टमार्टम रिपोर्ट जहाँ उनले आत्महत्या गरेको उल्लेख थियो।
हरिभक्तले अझै बुझेका छैनन्, शुरुआतमा घाँटीको हड्डी भाँचिएको छैन भन्ने डाक्टरले पछि कसरी अजितले झुण्डेर आत्महत्या गरे भन्ने रिपोर्ट दिए ? लाशको फोटोमा छोराका दुवै खुट्टाले मज्जाले भुइँ छोएका देखेका हरिभक्तले अझै बुझेका छैनन्, त्यति होचो ठाउँमा कसैले कसरी आत्महत्या गर्न सक्छ?
कालीले अझै बुझेकी छैनन्, आत्महत्या नै गर्नु थियो भने अजितले घरमै वा काभ्रेतिरै गर्ने थिए, झुण्डिएर मर्नलाई उनी गाडी चढेर किन धादिङ पुग्थे?
उनीहरू पोस्टमार्टम रिपोर्टमै गडबडी भएको ठान्छन् । यसैले, उनीहरूले घटनाको स्वतन्त्र छानबिनको माग गरेका छन् । उनीहरू न्यायका लागि सर्वोच्च अदालत जाने तयारीमा छन् ।
अजितका आमाबुवाले न्यायको आशा मारिसकेका छैनन् ।
काली भन्छिन्, ‘मैना सुनारकी आमा त न्यायका लागि अझै लडिरहेकी छिन् भने म अहिले नै किन थाक्छु?’
प्रेममा पाँच दलितकाे मृत्यु
प्रेम गर्दा ज्यान गुमाउने अजित एक्ला दलित होइनन् । नेपालको संविधानले जातीय विभेदलाई अपराध घोषणा गरिसकेपछि मात्रै पनि पाँच जना दलित युवायुवतीले ‘माथिल्लो जात’का युवायुवतीलाई प्रेम गरेकै कारण ज्यान गुमाएका छन्।
सायद उनीहरूलाई थाहा थिएन, प्रेम गर्दा ज्यान गुमाउनु पर्छ भन्ने । दैलेखका सेते दमाईका छोराको आफ्नै उमेरकी गैर दलित युवतीसँग प्रेम भयो । दुवैले राजीखुशीमा प्रेमलाई बिहेमा परिणत गरे । तर, गैर दलित प्रेमिकाकी परिवारले सेतेका छोरालाई आक्रमण गर्यो । छोरालाई बचाउँदा उनी आफै मारिए ।
सप्तरीका शिवशंकर दासले पनि गैर दलित युवतीसँग बिहे गर्दा ज्यान गुमाए।
झापाकी अस्मिता तोलामी सार्की र तनहुँकी संगिता परियारले प्रेम गरेकी कारण ज्यान गुमाउनु पर्यो । गैर दलित युवकसँग प्रेममा रहेका उनीहरूले दुवैको राजीखुशीमा बिहे गरे । तर, दुलाहाका परिवारलाई पचेन । अस्मिता र संगीताले ज्यान गुमाए।
धारो छुँदा जनप्रतिनिधिकै हत्या
कालिकोटको नरहरिनाथ गाउँपालिका–९ की वडा सदस्य मना सार्कीमाथि गत जेठ १९ गते सार्वजनिक धारा छोएको भन्दै कुटपिट भयो ।
शनिबारको दिन भएकाले उनले आफ्नै खेतबारीमा दिनभरि मकै गोडमेल गरेकी थिइन् । बारीको काम सकेर घर फर्किदा साँझ सार्वजनिक धारामा हातखुट्टा धुन पुगिन् । त्यही बेला उनलाई ‘पानी प्रदूषित’ पारेको भन्दै स्थानीय राजिन्दा शाही र सिर्जना शाहीले कुटपिट गरे ।
मना चिच्याउन थालिन् । उनका कान्छा छोरा नेत्र सार्की दगुर्दै त्यहाँ पुगे । त्यस बेला मना अचेत अवस्थामा पुगिसकेकी थिइन् । अर्का छोरा पदम सार्की पनि त्यहाँ पुगे । तर, मनालाई बचाउन सकिएन । त्यसै रात ११ बजेतिर उनको ज्यान गयो ।
उनका छोरा पदम भन्छन्, ‘पानी छुँदा, मन्दिर पस्दा र बाटो काट्दा समेत कुटाई खानु परेको छ । हामी दलितको त ज्यानै समस्यामा छ । के जातीय विभेद उन्मुलन भएको देश भन्नु ?’
कानून एकातिर, व्यवहार अर्कोतिर
नेपालमा कानुनी रुपमा छुवाछुतको अन्त्य भएको धेरै भयो । २०६२–६३ को जनआन्दोलन लगत्तै २०६३ जेठ २१ गते नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्त देश घोषणा गरियो । २०६८ जेठ १८ गते जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ पनि ल्याइयो । नेपालको संविधान २०७२ ले पनि जातीय भेदभावलाई दण्डनीय अपराध मान्दै सबै नेपालीले सम्मान, समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षा गरेको छ।
तर, अहिले पनि नेपालका गाउँघरमा दलितहरूले धारा, कुवा र मन्दिरजस्ता सार्वजनिक स्थलको नजिक पनि जान पाउँदैनन् । कुनै मन्दिरमा दलित पसे सुनपानी छर्केर त्यसलाई ‘चोख्याइन्छ’ वा त्यस्तो ‘अपराध’ गर्नेलाई मरणासन्न हुने गरी कुटिन्छ ।
संविधान र कानुनले दलितको समान रुपमा र स्वतन्त्रतापूर्वक बाँच्ने पाउने हक सुनिश्चित गरे पनि यो संरचनागत रुपमै उत्पीडित जातिले किन अझै पनि भय र सन्त्रासमा बाँच्नु परेको छ त ?
यसका कारणहरू धेरै हुनसक्छन्, तर दलित अधिवक्ता प्रकाश नेपाली मुख्यतः दुई कारण औंल्याउँछन्, सरकारी कानुनभन्दा सामाजिक कानुन बलियो हुनु र कानुन कार्यान्वयन गर्ने निकायहरूमा दलितको पहुँच नहुनु।
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८लागु भएयता छुवाछुतकै कारण ज्यान गुमाउने दलितहरू
१. सेते दमाई (दैलेख)
२. मनविरे सुनार ( कालीकोट)
३. मना सार्की (कालीकोट)
४. शिवशंकर दास (सप्तरी)
५. अजित मिजार ( काभ्रे)
६. लक्ष्मी परियार (काभ्रे)
७. राजेश नेपाली (पर्वत)
८. श्रेया सुनार ( काश्की)
९. अस्मिता तोलामी सार्की (झापा)
१०. संगिता परियार (तनहुं)
११. झुमा वि.क. ( तात्लेजुङ)
१२.माया वि.क. (कैलाली )
१३. दितिया (रेस्मा) रसाईली (धनुषा)
१४. रुपमती कुमारी दास (मोरङ)