केडिया अपहरणः <br>प्रहरीले भारतीय अपहरणकारीबाट ३० लाख खाएको खुलासा
वीरगंज, फागुन २५ : वीरगंजका उद्योगी सुरेश केडियाको अपहरणमा प्रहरीको संलग्नता रहेको खुलेको छ ।
वीरगंज, फागुन २५ : वीरगंजका उद्योगी सुरेश केडियाको अपहरणमा प्रहरीको संलग्नता रहेको खुलेको छ ।
केडिया अपहरणका मुख्य योजनाकार रहेको आरोपमा शुक्रबार पक्राउ परेका भारतीय नागरिक बब्लु पासवानले त्यो घटनामा प्रहरीको समेत संलग्नता रहेको रहस्य खोलेका हुन् ।
२०७३ जेठ १३ गते बा १० प ७२४० नम्बरको आफ्नै गाडीमा वीरगंज आउने क्रममा बाराको महागढीमाई नगरपालिका १ स्थित पसाहा पुलबाट केडियाको अपहरण भएको थियो । भारतीय नम्बर प्लेट भएको स्करपियो लिएर आएका ६ जना हतियारधारीको समूहले केडियाका गाडी चालक श्याम साहलाई गोली हानी उनले अपहरण गरेको थियो ।
बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगरपरिषद १७ बस्ने बब्लु पासवानले केडियाको अपहरण गर्न प्रहरीलाई भारतीय १८ लाख रुपैयाँ (नेपाली ३० लाख रुपैयाँ) बुझाएका थिए । उनले यो कुरा जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन् । तर, उनले नेपालका कुन प्रहरी अधिकारीले पैसा बुझेको भन्ने चाहिँ खुलाएनन् ।
केडियाको अपहरणमा नेपालका चंचल पाण्डे र विरेन्द्र रायलगायत ४ जनाको पनि संलग्नता रहेको पासवानले बताए ।
पासवानका अनुसार अपहरणको मुख्य योजनाकार चाहिँ बब्लु दुबे थिए । दुबेले अपहरण गर्ने दिनभन्दा ५ दिनअघि मात्रै पासवानलाई ‘एकबद्ध’ हुन अ¥हाएका थिए ।
दुबेले प्रहरीसँग कुरा मिलाइसकेको भन्दै अपहरणमा कुनै रोकटोक नहुने आश्वासन पासवान र उनका साथी विहार मोतिहारी जिल्ला राजहर्नाही ग्राम पंचायत ३ बस्ने विजय महतो कुशवाहा उर्फ नन्की महतोलाई दिएका थिए । अपहरणपछि त्यसवापत आउने फिरौती रकम एकआपसमा बाडफाड गर्ने सम्झौता पनि भएको थियो ।
अपहरण भएको ४ दिनपछि १० करोड रुपैयाँ फिरौती बुझाएर केडिया अपहरणमुक्त भएका थिए । तर, उनले बुझाएको फिरौती बाडफाड नगरी बब्लु दुवेले एक्लै कुम्ल्याएका थिए । यसैले, उनको गोली हानी हत्या गर्नु परेको पासवानले बताए । बब्लु दुबेलाई पटना उच्च अदालत अगाडिजनामा हत्या गरेको पासवानको भनाइ छ ।
दुबे केडिया अपहरणका मुख्य योजनाकार भए पनि पासवानले त्यसलाई कार्यान्वयन गरेका थिए । कुशवाहाले भने केडियालाई हालिएको गाडी चलाई भारतीय बोर्डरसम्म पु¥याएका थिए । दुबैलाई शुक्रबार विहान १ बजे पर्सा प्रहरीले पर्साको छिपहरमाई गाऊँपालिकामा पर्ने नेपाल भारतको सिमानाबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
यसरी भएको थियो अपहरण
केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडियाका छोरा र राजहंश खाद्य उद्योगका सञ्चालक समेत रहेका सुरेश केडिया धान बेचे वापतको १८ लाख रुपैयाँ लिएर वीरगंज आउँदै थिए । उनलाई बाराको महागढीमाई नगरपालिका १ बघवन स्थित पसाहा पुलबाट चालक पर्सा विन्दवासनीका श्याम साहलाई गोली हानी अपहरण गरिएको थियो ।
साहलाई कन्चटमा गोली हानी घाइते पारेर केडियालाई मोटरसाइकलमा लगेको र केही अगाडिबाट भारतीय अपराधीले बीआर ०५÷३२३९ नम्बरको स्कार्पियोमा राखेर हात र मुख बाँधी बरियारपुर चोक देखि दक्षिणको बाटो पशरामपुर हुँदै बाटोमा आउने यात्रु र बाख्रालाई ठक्कर दिदै प्रहरी चौकी तेलकुवा र सशस्त्र वेश क्याम्प मझरिया प्रहरीको सामुन्नेबाट भारत छिराएका थिए ।
अपहरणको केही मिनेटमै बारा प्रहरीलाई खबर गरिएको थियो । तर, तेलकुवा प्रहरी चौकी र मझरिया क्याम्पका प्रहरीले अपहरणकारी आउँदैछन् भन्ने जानकारी भएर पनि रोक्न नसकेको उतिबेलाका तत्कालीन बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्माले स्वीकारेका थिए ।
अपहरणको भोलिपल्ट प्रहरीको मिलोमतोमा अपहरण गराएको भन्दै स्थानीयले विरोध गर्दै प्रहरी चौकी अगाडि चक्काजाम समेत गरेका थिए । प्रहरीको टाउको दुखाई बनेको केडिया अपहरणमा भारतीय प्रहरीको सहयोगमा व्यापक रुपमा खोजतलास गरिएको थियो ।
अपहरण पश्चात् नेपाल र भारत दुवै तर्फका उच्च सुरक्षा अधिकारीहरूले अपहरणविरुद्ध अभियान चलाएका थिए । अपहरणकारीको चुङ्गुलबाट जसरी भए पनि सकुशल उद्धार गर्ने नेपाल प्रहरी र भारतीय प्रहरीको चुनौति बनेको थियो । केडिया अपहरण काण्ड अनुसन्धान गर्दै जाँदा बब्लु दुबेकै निर्देशनमा वीरगंजका व्यापारीको अपहरण गरिएको खुल्न आएको थियो ।
अन्ततः बेतियाका तत्कालीन एसपी विनयकुमारले मोतिहारी, गोपालगंज हाईवे स्थित कोतवा भन्ने ठाउँमा १ बजे केडियालाई छाडेर भागेको भन्दै सकुशल उद्धार गरेर मोतिहारीका एसपी जितेन्द्र राणा र बेतियाका एसपी विनय कुमारले सम्पर्कमा ल्याई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । पत्रकार सम्मेलन मार्फत भारतीय प्रहरीले केडिया अपहरणमा संलग्न रञ्जन झालाई विदेशी पेस्तोल सहित त्यसमा प्रयोग हुने तीनवटा गोली सहित सार्वजनिक गरेको थियो ।
प्रहरी अनुसन्धानबीच पैसा गायब
राजहंश खाद्य उद्योगबाट खरिद विक्री गरी ल्याएको १८ लाख रुपैयाँको ब्रिफकेस प्रहरीले अनुसन्धान गर्दा गर्दै गायब भएको थियो । उक्त पैसा हाल सम्म केडिया परिवारले पाएका छैनन् ।
उतिबेला नेपालको ऋण चुकाए भारतिय प्रहरीले फिरौती तथा असुली र हत्यामा संलग्न भारतका मोष्ट वाण्टेडको रुपमा रहेका भारतीय कुख्यात अपराधी बब्लु दुबेलाई २०७० साल जेठमा अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको टोलीले काठमाडौँको सितापाइलाबाट पक्राउ गरी भारतका तत्कालीन मोतिहारीका एसपी विनय कुमारको जिम्मा लगाएको थियो । ३० भन्दा बढी अपराधमा संलग्नता रहेका दुबेलाई पक्राउ गरेर पु¥याएको योगदान केडिया अपहरण काण्डमा भारतीय प्रहरीले चुकाएको बताइएको थियो ।
उतिबेला फिरौतीको कुरा निराधार भएको दाबी, अहिले अंशबण्डा गरी अलग अलग
अपहरणको चार दिनपछि रिहाई भएका सुरेश केडियाका बारेमा अहिले टीकाटिप्णी शुरु भएको छ । खासगरी भारतीय सञ्चार माध्यम आजतक, एबिपिन्यूज टेलिभिजन र अनलाईन वेभसाईटहरुले फिरौतीमा १० करोड रुपैयाँ बुझाएर नेपाली व्यापारी केडीया रिहा भएको दाबी गरेका थिए । यस विषयमा रिहा भएका सुरेश केडियाका भाइ वीरगंज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रदीप केडियाले अनाहक बदनाम गर्न खोजेको बताएका थिए । यतिमात्र नभई केडियाले अपहरण भएपछिकै दिनदेखि आफूभित्रकै एकथरी समूह गलत अफवाह फैलाउन लागि परेको बताएका थिए तर अहिले १० करोड फिरौती बुझाएरै छुटाएको खुलेको छ ।
उतिबेला झुठो आरोप भनिएको फिरौतीकै कारण अहिले दाजु भाइ छुट्टिएका छन् । दुबैबीच अंशबण्डा भई दुबै परिवार अहिले छुट्टिएर बस्दै आएका छन् ।