Kathmandu Press

कुन वर्गको समृद्धि ?

समृद्धि र सुशासन जस्ता अवधारणा वर्ग सापेक्ष हुन्छन् । तर, अहिले नेपालमा समृद्धिलाई विचार र मूल्य निरपेक्ष अवधारणाको र

कुन वर्गको समृद्धि ?
काठमाडौं प्रेस इलुस्ट्रेशन

समृद्धि र सुशासन जस्ता अवधारणा वर्ग सापेक्ष हुन्छन् । तर, अहिले नेपालमा समृद्धिलाई विचार र मूल्य निरपेक्ष अवधारणाको रुपमा बुझ्न र बुझाउन खोजिँदैछ । 

अहिले नै पनि एउटा वर्गले त समृद्धि र सुशासनको अनुभव गरिरहेकै  छ ।  यो वर्गलाई सबैजसो सेवा–सुविधाहरू सजिलै प्राप्त हुन्छन् । 

वर्तमान सरकारले समृद्धिको सपना बाँडेको छ । तर, यो समृद्धि कसका लागि हो ? यो स्पष्ट भएपछि मात्रै समृद्धि हासिल गर्न के कस्ता क्रियाकलाप भएका छन् वा हुनुपर्छ भन्ने विषयमा बहस गर्न सकिन्छ।

Hardik ivf

मार्क्सवादी दर्शनले भन्ने समाजवाद उन्मुख समृद्धि यस्तो वर्ग निरपेक्ष समृद्धि हुँदै होइन । नेपालको संविधानले पनि सायद वर्ग निरपेक्ष संमृद्धिको कल्पना गरेको होइन । हरेक नागरिकलाई समान रुपले हेर्नुपर्छ भन्ने संविधानको मर्म हो । त्यो भनेको अहिले विद्यमान वर्गीय व्यवस्थाको परिवर्तन हो । यसर्थ, समृद्धिको बहसमा वर्ग र सिद्धान्तलाई बेवास्ता गर्न सकिँदैन । निरपेक्ष समृद्धिको नाराले यो बहसलाई कमजोर बनाउँछ । 

डा. खगेन्द्र प्रसाई

समाजवादी समृद्धिका मार्ग 
अहिलेको सरकारले पनि वर्ग वा सिद्धान्त सापेक्ष समृद्धिको कुरा गरिरहेको देखिँदैन । तर, यस विषयमा यो सरकारलाई मात्रै दोष दिन मिल्दैन । किनकि, यसअघिका सरकारहरूले पनि समृद्धिलाई यसरी नै परिभाषित गरेका थिए । 

हाम्रो जस्तो उत्पादकत्व कम भएको अर्थतन्त्रमा आर्थिक रुपमा कमजोर वर्गको समेत हित हुने समृद्धि हासिल गर्न गाह्रै छ । समाजवाद सापेक्ष समृद्धिका दुई मुख्य पूर्वशर्त छन् –उत्पादन वृद्धि र यसको न्यायोचित वितरण ।

नेपालमा पूँजीवादको राम्रो विकास भइसकेको भए त्यसमार्फत समाजवादमा जान सायद सहज हुन्थ्यो । तर, हाम्रो जस्तो उत्पादकत्व र उत्पादनका स्रोत एवं माध्यम  दुबै कमजोर भएको मुलुकमा पूँजीवाद हुँदै समाजवाद पुग्न गाह्रो छ ।  

पूँजी वृद्धिका विकल्प 
पूँजीवादी बाटोबाट समाजवादमा जाने हो भने उत्पादन सकेसम्म वृद्धि गर्नुपर्ने हुन्छ । त्यसका लागि पूँजीलाई स्वतन्त्रता दिनुपर्ने हुन्छ, पूँजीपतिहरूलाई बढी महत्व दिनुपर्ने हुन्छ । त्यसो गर्दा राज्यको वर्ग पक्षधरता पूँजीपतितिर देखिन जान्छ । नेपालको सन्दर्भमा सरकारमा भएको शक्ति मार्क्सवादी कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टीले आर्थिक स्तर कमजोर भएकाहरूको पक्षमा लड्ने वाचा गरेको हुन्छ ।

उत्पादन कमजोर हुँदा समाजवाद लागु गर्न गाह्रो हुन्छ ।  एकैचोटि पूँजीपति र सर्वहारालाई खुशी पार्न असम्भवप्रायः हुन्छ । यूरोपमा उत्पादनका माध्यम बलिया भएकाले उत्पादकहरूसँग कर लिएर कामदार वर्गमाझ त्यसको न्यायोचित वितरण गरिन्छ । त्यहाँ पूँजीपतिहरूलाई उद्योगधन्दा स्थापना गर्न राम्रो वातावरण दिई दुवै वर्गलाई खुशी राख्ने प्रयास धेरै हदसम्म सफल देखिएको छ । हाम्रो सन्दर्भमा त्यसो गर्न असम्भव नै नभए पनि असाध्यै कठिन छ ।  एउटा वर्गलाई खुशी पार्न खोज्दा अर्को वर्गले केही न केही गुमाउँछ नै ।

सार्वजनिक क्षेत्र वा सहकारी मार्फत लाभको समाजवादी वितरण गर्ने हो भने पनि त्यहाँ काम गर्नेहरूलाई पर्याप्त सेवासुविधा दिनुपर्छ । नाफा घट्यो वा घाटा भइरह्यो भने त्यहाँ राज्यले पुनः लगानी गरिरहन सक्ने अवस्था हुँदैन । यो पूँजी र न्यायबीचको अन्तरविरोध हो । जति नै सक्षम सरकारलाई पनि यो सैद्धान्तिक संकट पार गर्न गाह्रो हुन्छ । 

राजनीतिक नेतृत्वसँग निजी क्षेत्र, सार्वजनिक क्षेत्र र न्यायोचित वितरणलाई सँगसँगै अघि लिएर जान सक्ने चेतना, क्षमता र सीप छ भने बेग्लै कुरा हो । अहिलेकै अवस्थामा यसो गर्नु असाध्यै कठीन छ । यसका लागि राज्यले निजी क्षेत्र, सार्वजनिक क्षेत्र, सहकारी र सरकारले लगानी गर्ने क्षेत्र र त्यसभित्र लगानीको आकार निर्धारण गर्न सक्छ । यो सजिलो काम भने होइन । 

उदाहरणका लागि राज्यले कस्तो नीति बनाउन सक्छ भने ठूलाठूला होटलमा निजी क्षेत्रले लगानी गर्ने र औषधि, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा सरकारले । यस्तो नीति स्पष्ट रुपमा बनाउन सक्ने हो भने सम्बन्धित क्षेत्रमा कसले र कति लगानी गर्न पाउँछ भन्ने स्पष्ट हुन्छ ।  अहिले, यस्तो स्पष्टता छैन । 

जहाँ चाँडै नाफा हुने सुनिश्चित हुन्छ, निजी क्षेत्र र पूँजीपति वर्गले त्यहीँ लगानी गर्छन् । अहिले निजी क्षेत्रले स्वास्थ्य र शिक्षामा अत्यधिक लगानी गरेको छ  । किनकि, त्यहाँ थोरै लगानीमा छिटो नाफा करिब करिब  सुनिश्चित जस्तै छ । निजी क्षेत्रलाई असीमित लगानी गर्न दिने हो भने समाजवादी समृद्धि सम्भव हुँदैन । उदाहरणका लागि नेपालका १० जना पूँजीपतिको सम्पत्ति अरु सबैको बराबर भयो भने त्यसलाई समाजवादी समृद्धि भन्न मिल्दैन । यस्तो प्रकारको आर्थिक वृद्धिले समानता ल्याउँदैन, झन् उल्टै असमानतातिर लैजान्छ । 

अहिले केही नेताहरुले निजी, सार्वजनिक र सरकारी क्षेत्रलाई सँगै लैजान सकिन्छ भनेका छन् । तर माथि व्याख्या गरिएका कारणहरुले यो ठूलो चुनौति हो । एउटा क्षेत्रलाई महत्व दिँदा अर्को मर्कामा पर्ने सम्भावना जहिले पनि हुन्छ । उदाहरणका लागि ठूलो लगानीसहितको निजी क्षेत्रलाई कृषिमा लगानी गर्न दिँदा कृषिमा सानो सहकारी सञ्चालन गर्ने र निर्वाहमुखी कृषि अँगाल्ने किसानहरुको हितमा धक्का पुग्छ नै  ।

समृद्धि बहसमा गैर आर्थिक पक्ष

समृद्धि बहसमा अरु केही पक्ष पनि विचार गरिनुपर्छ ।  जस्तो, आर्थिक वृद्धिले पर्यावरणमा पार्ने असर ख्याल राख्नै पर्छ । पर्यावरणलाई बिगारेर आर्थिक उन्नति हुन सक्छ, तर त्यसलाई समृद्धि भन्ने कि नभन्ने ? मौसम परिवर्तन अथवा पृथ्वीको तापमानमा अस्वाभाविक वृद्धि (ग्लोबल वार्मिङ)को विषयमा गम्भीर हुनै पर्छ । 

समृद्धिलाई आर्थिक आँकडाका भरमा मात्रै मापन गर्न पनि हुँदैन । समृद्धिलाई प्रतिव्यक्ति आय वा उपभोग क्षमताजस्ता आर्थिक सूचकांकका आधारमा मात्रै मापन गर्नु अर्को गल्ती हुन्छ । पूँजीवादी अर्थशास्त्रीहरु पनि यस्तो तर्कमा सहमत देखिन्छन् । यसका केही कारण छन् । पहिलो – यी सूचकांक नाप्ने प्रक्रिया नै गलत हुन सक्छन् । दोस्रो – यसले मानिसहरुको जीवनको गुणस्तर स्पष्टसँग नदेखाउन सक्छ । 

उदाहरणका लागि, कार किनेर चढ्दा त्यसले कार चढ्नेको मात्र होइन, उत्पादन गर्ने, बेच्ने, मर्मत गर्ने सबैको आम्दानी बढाइरहेको हुन्छ । साइकल चढ्दा त्यस्तो नहोला । तर साइकल चढेर हिंड्नेका जीवनको गुणस्तर राम्रो हुनसक्छ । आर्थिक सूचकांक राम्रो देखिए पनि जीवनको गुणस्तर नराम्रो भइरहेको पनि हुनसक्छ । 

आर्थिक विकासको मोडलले तद्नुरुप स‌ँस्कृति निर्धारण गर्छ । कार चढ्ने संस्कार बढी भएका मुलुकमा मानिस आत्मकेन्द्रित हुँदै जाने र सार्वजनिक यातायात प्रयोग गर्ने ठाउँमा मानिसको सामाजिकीकरण बढी हुने देखिएको छ । त्यसैले कतिपय मुलुकहरुमा सार्वजनिक यातायातलाई प्रवद्र्धन गरिन्छ । 

उत्पादन र वितरणमा सन्तुलन र स्वामित्व 
उत्पादन र वितरणको प्रक्रियालाई छुट्याएर हेर्नु हुँदैन । पहिला उत्पादन बढाएपछि मात्र वितरण प्रभावकारी बनाउन लाग्छौँ भनेर हुँदैन । उत्पादनको प्रक्रियामा नै पछि परेका वर्गको सहभागिता, स्वामित्व र सुरक्षा सुनिश्चित गर्नुपर्छ । समाजवादको मुलभूत बाटो नै यही हुन सक्छ । यो प्रक्रिया सजिलो भने छैन । नत्र, उत्पादनको प्रक्रियामा पछि परेको वर्ग सँधै पछि नै परिरहने सम्भावना बढी हुन्छ । नेपालले कृषि क्षेत्रमा यस्तो प्रयोग गर्न सक्छ, तर यसमा प्रयास भएको देखिँदैन । 

कृषिबाट उत्पादकत्व वृद्धि गर्न सक्ने हो भने यसबाट हुने मुनाफा अन्य क्षेत्रमा लगाउन सकिन्छ । तर यसतर्फ सोचिएको देखिंदैन । अहिले त उल्टै, कृषि पेशा नाफामुलक बनाउन नसकेपछि विदेश जाने प्रचलन देखिएको छ । 

समाजवादमा जान  वा समाजवाद उन्मुख हुन उत्पादन र वितरणको त्यस्तो सन्तुलन मिलेको हुनुपर्छ । अहिले त्यस्तो अवस्था छैन र त्यसतर्फ तयारी भएको पनि देखिंदैन । समाजवादमा जाने भनेको क्रान्ति गर्ने हो, फड्को मार्ने हो । यसमा विस्तारै जाने, आफ से आफ हुने भन्ने हुँदैन । अहिले विद्यमान उत्पादन र वितरण प्रणालीबाट समाजवादमा जान सकिंदैन । अहिलेको उत्पादन र स्वामित्वको सम्बन्ध क्रान्तिकारी ढंगले परिवर्तन गर्न सरकार लागेको छैन । यो सबैले अनुभव गर्न सक्ने कुरा हो । 

आर्थिक रुपमा कमजोर मानिसहरुको आर्थिक अवस्था र जीवनस्तर उकास्ने दुइटा तरिका हुन सक्छन् । पहिलो, पूँजीवादी बाटोमा गएर कर असुली उच्च बनाउने र सँगसँगै काम गर्ने वर्गको आम्दानी बढाइदिने । कामदार वर्गको जीवनस्तर सुध्रिँदा कतिपयले त्यसलाई समाजवाद पनि भन्लान् । यसलाई पूँजीवाद भित्रको कल्याणकारी बाटो पनि भन्न सकिन्छ ।  दोस्रो बाटो, उत्पादनका साधनमा  काम गर्ने वर्गको स्वामित्व जोडिदिने हो, यो प्रभावकारी समाजवादी बाटो हो । अहिले त्यस्तो भइरहेको देखिंदैन । 

ठूला परियोजना र समृद्धि
अहिलेको सरकारले रेलमार्ग बनाउने, पानी जहाज ल्याउने जस्ता कुराहरू पनि गरिरहेको छ । आलोचकहरुले यी प्राथमिकतामा पर्नु पर्ने विषय होइनन् भनेका छन् । यस्ता विकास परियोजनाहरुको पनि निरपेक्ष मुल्यांकन हुन सक्तैन । रेल, पानीजहाज आएर नेपाली जनताको आर्थिक स्तर सुधारिने हो कि होइन, सुधारिने भयो भने कुन वर्गको हो भनेर हेर्नुपर्छ । रेल वा पानीजहाजले तल्लो तहका जनताको आर्थिक अवस्था सुधार गर्छन् भने त्यो ठीक छ, नत्र त्यसलाई कसरी राम्रो भन्ने ? 

भारतमा अंग्रेजहरुले ठूलो रेल सञ्जाल बनाए तर त्यसले भारतलाई उल्टै गरिब बनाएको विश्लेषण शशी थरुर जस्ता विद्वानहरुले गरेका छन् । प्रतिफल नहेरी र प्रतिफल पाउने वर्ग पहिचान नगरी विकास परियोजनाले समृद्धि ल्याउँछन् ल्याउँदैनन्, तोकेर भन्न सकिँदैन । 

समाजवादी समृद्धिका लागि चुनौति 
नेपालको अर्थतन्त्रलाई तल्लो तहको वर्गलाई फाइदा पुर्‍याउने समाजवादी तरिकाले विकास गर्ने उपाय खोज्नु पूर्व यहाँ समाजवादी मार्ग अपनाउन सम्भव छ कि छैन मनन गर्नु आवश्यक छ । नेपालका दुबै छिमेकमा बलियो पूँजीवाद छ । चीन कम्युुनिष्ट मुलुक भनिएको  भए पनि व्यवहारिक रुपमा त्यहाँ पुँजीवाद नै छ । आधारभूत रुपमा त्यहाँको आर्थिक वृद्धि पूँजीवादी प्रणालीबाटै भएको हो । यसलाई चीनले खुला रुपमै स्वीकार गरेको छ, कसैलाई  ढाँटेको छैन । चीनले समाजवादी प्रक्रियामा जान धेरै नै फड्को मार्नु पर्ने हुन्छ । यस्तो परिवेशमा नेपालजस्तो सानो मुलुकले  समाजवादी मार्ग अवलम्बन गर्न गाह्रो छ । 

क्युबा, बोलिभिया र भेनेजुएला जस्ता मुलुकले अन्तर्राष्ट्रिय पूँजीवादलाई चुनौती दिँंदै समाजवादी बाटो अवलम्बन गरे । यस्तो अवस्थामा पूर्णरुपमा समाजवादी बाटोमा जान गाह्रो भए पनि केही क्षेत्रहरुमा समाजवादी अर्थतन्त्र प्रयोग गर्न सकिन्छ । समाजवादी मार्ग अवलम्बन गर्न खोज्दा ठूलो अन्तर्राष्ट्रिय अवरोध आउने गरेको देखिएको छ । कु कै प्रयास समेत हुने गरेका छन् । भेनेजुएला त्यसको एउटा उदाहरण हो । भेनेजुएलाले  सन् १९९९ पछि शिक्षा, स्वास्थ्य, आवास व्यवस्थापन जस्ता क्षेत्रमा  हासिल गरेको सफलता प्रशंसयोग्य थियो । अहिले केही समस्या आएको भए पनि प्रचार गरिएको जस्तो कमजोर देश र समाज भेनेजुएला होइन । 

अहिलेको विश्व पूँजीवादी अर्थतन्त्रको यात्रा नबुझिकन समाजवादको यात्रा तय गर्नु गाह्रो छ । समाजवादमा जाने क्रममा केही क्षेत्रहरुमा राष्ट्रियकरणमात्रै गर्न खोज्ने हो भने पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै पूँजीवाद त्यसको विरोधमा आउँछन् । जस्तो नेपालको सन्दर्भमा सबै स्वास्थ्य सेवा प्रदायकहरुलाई राष्ट्रियकरण गर्न खोज्ने हो भने पनि ठुलो अवरोध आउने छ । यो नबुझीकन समाजवादतर्फ जाने भनेर मात्र हुँदैन । 

शास्त्रीय रुपमा माक्सवादी दृष्टिकोणबाट त एउटा देशमा मात्रै समाजवाद आउन सक्तैन । सोभियत संघले एउटा राष्ट्रमा समाजवाद प्रयोग गर्ने भन्यो र ७० वर्षमा त्यस्तो शासन चलायो पनि । 

पूँजीवादसँग संघर्ष गर्दै आंशिक रुपमा समाजवादी कार्यक्रम लागु गर्न सकिन्छ । कतिपय पूँजीवादी भनिएका मुलुकले पनि समाजवादी कार्यक्रम लागु गरेका छन् । छिमेकी भारतकै कतिपय राज्यमा शिक्षा र स्वास्थ्यमा राज्यले धेरै सुविधा दिएको छ । सिंगापुरलाई पूँजीवादी राष्ट्रको राम्रो उदाहरणको रुपमा लिइन्छ, तर त्यहाँको आर्थिक विकासमा राजकीय तागत (राज्यको भूमिका) कति छ भनेर कमैलाई मात्रै थाहा छ । 

पूँजीवादका कारण समाजवादी कार्यक्रम लागु गर्न सक्दै सकिंदैन भनेको होइन । पूँजीवादलाई सुक्ष्म रुपमा नबुझी समाजवाद लागु गर्न गाह्रो हुन्छ । समाजवाद लागु गर्ने क्रममा पूँजीवाद कहाँ अवरोध बनेर आइपुग्छ भन्ने अनुमान गर्न पनि पुँजीवादको बारेमा सुक्ष्म रुपमा बुझ्नु आवश्यक छ । चीन जस्तो शक्तिशाली राष्ट्रमा पूँजीवादी राष्ट्रहरुले हस्तक्षेप गरिहाल्न सक्दैनन्, तर साना र कमजोर मुलुकमा उनीहरुले प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेप गर्न सक्छन् ।

(मार्क्सवादी विचारक प्रसाईसँग गरिएकाे कुराकानीमा आधारित)


 

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, फागुन २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्