Kathmandu Press

आङछिरिङको अर्बौंको उत्तराधिकारी को ?

काठमाडौं, फागुन १७ :  हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाप्रति अन्तिम

आङछिरिङको अर्बौंको उत्तराधिकारी को ?

काठमाडौं, फागुन १७ :  हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न उनका दाजु लाक्पा सोनाम शेर्पा शुक्रबार भावविह्वल मुद्रामा काठमाडौंको टुँडिखेल पुगेका थिए ।

सोनाम शेर्पा धेरै बोल्न सकेनन् । उनको गला अवरुद्ध भइहाल्यो । तैपनि, उनले भाइले अगाडि बढाएको व्यवसाय सम्हाल्ने छोटो प्रतिक्रिया काठमाडौं प्रेसलाई दिए । ‘भाइले धेरै सपना देखाएर गएको र भाइको सपना पूरा गर्न पूरै परिवार लाग्ने’ उनको भनाइ थियो ।

आङछिरिङ शेर्पाले पछिल्लो समय ‘यति वल्ड’ नामक होल्डिङ कम्पनी स्थापना गरी आफ्नो व्यवसायलाई कर्पोरेट ढाँचामा ढाल्दै थिए । छरिएर रहेका कम्पनीहरूलाई एउटा छातामुनि सञ्चालन गर्ने उनको सपना अधूरै रह्यो ।

Hardik ivf

गुमनाम बस्न रुचाउने आङछिरिङले कहाँ–कहाँ कुन व्यवसायमा कति लगानी गरेका छन् भन्ने ठम्याउन मुस्किल छ । पर्यटनको माध्यमद्वारा नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने शेर्पाको व्यवसाय भने पर्यटनमा मात्रै केन्द्रित थिएन । उनले हाइड्रोदेखि सुपरमार्केटमा समेत लगानी गरेका थिए । तामाकोशीदेखि सोलु क्षेत्रको दर्जनौ मिनी हाइड्रोमा उनको लगानी छ । उनले धादिङ र गोरखामा समेत मिनी हाइड्रोमा लगानी गरेका छन् ।

आङछिरिङ शेर्पाले छाडेर गएका १८ जहाज, ७ हेलिकप्टर, २ दर्जन महङ्गा होटल/रिसोर्ट र अर्बोको अन्य व्यवसायहरु सम्हाल्ने जिम्मा अब उनका दाइ लाक्पा सोनाम कि छोराहरु नोर्बु–पासाङको ? 

आङछिरिङ शेर्पाको निधनपछि अब उनका अनेकौ व्यवसायहरू कसले र कुन रुपले अघि बढाउँलान् भन्ने सर्वत्र चासो छ । हुन त उनले दाजु लाक्पा सोनाम शेर्पासँग मिलेर नै पर्यटन व्यवसाय सुरु र विस्तार गरेका थिए । तर, पछिल्लो समय सोनाम शेर्पाको जिम्मामा थामसेर्कु ट्रेकिङ कम्पनीमात्रै छ ।

भाइको निधनपछि सोनाम शेर्पा थामसेर्कुमा मात्रै सीमित नहुने निश्चित छ । उनका अर्का भाइ आङ टेण्डी शेर्पाको पनि सन् २००१ मा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भइसकेको थियो । सोनामको आफ्नै श्रीमती पासाङ ल्हामू शेर्पाको पनि सगरमाथा चढेर ओर्लने क्रममा मृत्यु भएको थियो ।

एकपछि अर्को प्रियजन गुमाएका सोनामको काँधमा फेरि एकपटक अर्बौको व्यवसाय सञ्चालन गर्ने जिम्मेवारी आएको छ । हुन त उनी अहिले नै पनि यति एयरलाइन्सका अध्यक्ष हुन् । तर, यतिको कार्यकारी व्यवस्थापन भाइकै जिम्मामा थियो ।

सोनाम, आङछिरिङ र आङ टेण्डी गरी तीन दाजुभाइका ६ छोराहरू छन् । तर, आङछिरिङको व्यवसायलाई अझ उचाईमा पुर्‍याउने जिम्मेवारी मुख्यतः उनकै दुई छोरामा जाने यति एयरलाइन्सका बजार प्रबन्धक भिम राई बताउँछन् । लामो समयदेखि यति एयरलाइन्समा कार्यरत राई भन्छन्, ‘दाजु सोनामकै नेतृत्वमा छोराहरुले सबै हेर्ने छन् ।’

आङछिरिङका दाइ र छोरा–भतिजहरू  आङछिरिङ जत्तिकै कुशल व्यवसायी नभए पनि उनीहरूको व्यवसाय कर्पोरेट हाउसमा रुपान्तरण भइसकेकोले खासै समस्या नहुने राईको बुझाइ छ ।

एयरलाइन्स कम्पनीमा छलाङ

एयरलाइन्स कम्पनी स्थापना गरेको दुई दशक पूरा हुँदा–नहुँदै यति समूहले हिमालय एयरलाइन्स मार्फत अन्तर्राष्ट्रिय उडान थाल्यो ।  

सन् १९९८ मा सुरु भएको यति एयरलाइन्ससँग अहिले ९ वटा जहाज छन्, जसमध्ये २ वटा एटिआर-७२ र ७ वटा जेटस्ट्रिम जहाज हुन् । सन् २००९ मा भगिनी संस्थाको रुपमा खोलिएको तारा एयर सँग पनि ६ वटा साना जहाज छन् । ताराले राष्ट्रिय ध्वजावाहकले सेवा दिन नसकेको दुर्गम क्षेत्रमा समेत उडान भर्दै आएको छ ।

तिब्बत एयरको भेन्चरमार्फत सन् २०१५ मा स्थापना भएको हिमालयसँग तीन एयरबस ३२०–२०० सिरिजका जहाज छन्, जसले ६ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका छन् । हिमालय वाइडबडी जहाज ल्याउने प्रक्रियामा पनि छ ।

हिमालय क्षेत्रमा उद्दार गर्ने पुरानो कम्पनी एयर डाइनेष्टीसँग पाँच थान हेलिकप्टर छन् । सन् १९९३ मा स्थापना भएको एयर डाइनेष्टीमा पनि आङछिरिङको बहुमत सेयर छ । एयर डाइनेष्टीकै हेलिकप्टर बुधवार ताप्लेजुङको पाथीभरामा दुर्घटना भएको हो, जसमा आङछिरिङ र पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत सात जनाको मृत्यु भएको थियो । थप तीन हेलिकप्टर ल्याउने प्रक्रियामा एयर डाइनेष्टी थियो । अल्टिच्यूड एयर नामक अर्को हेलिकप्टर कम्पनीमा पनि आङछिरिङकै लगानी छ । सन् २०१६ मा स्थापना भएको यो कम्पनीमा २ वटा हेलिकप्टर छन्, जसको जिम्मा दाजु सोनाम शेर्पाले लिएका छन् । हवाई क्षेत्रमा मात्रै आङछिरिङको पूँजी कति छ ठ्याक्कै भन्न सकिन्न । तर, अहिलेको बजार मूल्यको आधारमा सोझो हिसाब गर्ने हो भने पनि अर्बौ पुग्छ ।

जिएसए कम्पनीमा एकछत्र

यति इन्सेन्टिभ कम्पनी स्थापना गरेर आङछिरिङ शेर्पाले आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीको जनरल सेल्स एजेन्ट (जिएसए) लिएका छन् ।  इन्सेन्टिभ कम्पनीको जिम्मा भने आङछिरिङका छोरा नोर्बुले लिँदैं आएका छन्  । कम्पनीले  थाइल्यान्डको थाई लायन, कुवेतको वातानीय, मलेसियाको मालिन्दो एयर र भुटानको ड्रुक एयरको जिएसए लिएकाको छ । 

ट्राभल र ट्रेकिङमा भ्याइ नभ्याई

सन् १९८८ मा स्थापना भएको थामसेर्कु ट्रेकिङ एन्ड एक्सपिडिसन कम्पनीले वर्षमा ३ हजारभन्दा बढी पर्यटक नेपाल ल्याउने गरेको छ, जसमध्ये सबैभन्दा बढी हिमाल आरोहण र ट्रेकिङमा जाने गरेका छन्  । कम्पनीमा आवद्ध गाइड, मजदुर तथा भरियाहरू नै सयौको संख्यामा छन् । कोरा टुर र यति होलिडेज नामको ट्राभल कम्पनी समेत सञ्चालनमा छन् । हिमालयन सोसाइटी ट्राभल कम्पनी आङछिरिङकै श्रीमती चन्दा शेर्पा राईले हेर्दै आएकी छन् ।

नाम चलेका होटल र रिसोर्टमा स्वामित्व

गणतन्त्र आएपछि आङछिरिङ शेर्पाले ठूलै शक्ति लगाएर पूर्वराजा ज्ञानेन्द्रको स्वमित्वमा रहेको भनिएको गोकर्ण फरेष्ट रिसोर्टको स्वामित्व लिएका थिए । गोकर्ण फरेष्ट रिसोर्टको ख्याति विश्वभर छ ।

लुम्बिनीको होके होटल पनि उनकै हो । पोखराको रानीबन रिट्रिट रिसोर्टमा पनि उनकै सेयर छ । पछिल्लो समय नारायणहिटी संग्रहालयको जग्गा लिजमा लिएर उनले भवन निर्माण गरिरहेका थिए, जहाँ होटल चलाउने उनको लक्ष्य थियो । लैनचौरमा बन्दै गरेको २१ तले भवनमा पनि उनकै लगानी छ, जुन एनसेललाई अग्रिम भाडामा दिइएको छ ।

सगरमाथा क्षेत्रका पाँच महङ्गा होटल तथा रिसोर्ट पनि उनकै हुन् । जसमा माउन्टेन होम काङ्दे, यति माउन्टेन होम फाकदिङ, यति माउन्टेन होम लुक्ला, यति माउन्टेन होम नाम्चे र यति माउन्टेन होम छन् ।

चार हजार २ सय ५० मिटर उचाईमा रहेको यति माउन्टेन होम कोङ्दे विवादमा आएको थियो । सरकारी जग्गा किर्ते गरेर कब्जामा लिई रिसोर्ट खोलेको आरोप आङछिरिङमाथि लागेको थियो । माओवादीले सल्लेरी आक्रमण गरेको रात उनले आफ्नो नाममा जग्गा पारेको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको उक्त जग्गा उनले पछि ९९ वर्षका लागि लिजमा लिएका थिए ।  आङछिरिङले कोर एन्ड ड्वेनी नामक होटल तथा रिसोर्ट पनि अन्नपूर्ण क्षेत्रमा सञ्चालन गर्दै आएका थिए ।

पछिल्लो समय उनले के-के सुपरमार्ट पनि चलाइरहेका थिए, जसको जिम्मा आङ टेण्डीका जेठा छोराको छ । अहिले के-के उपत्यकासँगै देशैभरि सञ्जाल विस्तार गर्ने अभियानमा छ ।

पर्यटन र हवाई व्यवसायमा यति ठूलो साम्राज्य खडा गरेका आङछिरिङ शेर्पाको अन्तिम संस्कार आइतबार टेकुमा गर्ने तय भएको परिवार स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०:०२ बजे, शुक्रबार, फागुन १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्