Kathmandu Press

हिरो हुसैन

छिमेकी भारतको सबैभन्दा ठूलो फिल्म उद्योग बलिउडमा मुस्लिम मूलका तीन हिरोले तीन दशकदेखि राज गरिरहेका छन् । त्यहाँ आमिर,

हिरो हुसैन
रिवाज राई

छिमेकी भारतको सबैभन्दा ठूलो फिल्म उद्योग बलिउडमा मुस्लिम मूलका तीन हिरोले तीन दशकदेखि राज गरिरहेका छन् । त्यहाँ आमिर, सलमान र शाहरुखबाहेक पनि अन्य थुप्रै ‘ए लिस्ट’ हिरोहरू मुस्लिम छन् ।

भारतजस्तै धर्म निरपेक्ष एवं हिन्दू बहुल नेपालको फिल्म उद्योगमा भने मुस्लिम हिरोहरू एकादुई मात्रै छन् । तिनैमध्ये एक हुन् – नाजिर हुसैन ।

होस्टल रिटर्नस्बाट चर्चित भएका नाजिर हुसैन हिन्दू कलाकारको बाहुल्य रहेको नेपाली फिल्म उद्योगका दुर्लभ मुस्लिम हिरोमात्रै हैनन्, एकाध मधेसी अनुहारमध्ये एक पनि हुन् । सिमराको स्याउली चौकबाट काठमाडौं छिरेका २७ वर्षीय नाजिर मधेसी मूल र अनुहारका अभिनेताले पनि नेपाली फिल्ममा मुख्य हिरोको भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् ।

Hardik ivf

नाजिरकै शब्दमा भन्ने हो भने होस्टल रिटर्नस् अघि नेपाली फिल्ममा मधेसी अनुहारलाई ‘चटपटे बेच्ने मान्छे’ वा कुनै नकारात्मक पात्रको रुपमा मात्रै देखाइन्थ्यो । मधेसी पात्रलाई ‘बिग्रिएको मधेसी लवज’मै  संवाद बोल्न बाध्य पारिन्थ्यो । तर, होस्टल रिटर्नस् पछि मधेसी–मुस्लिम अनुहारलाई पनि हिरोको रुपमा स्वीकार्न थालिएको छ । 

नाजिरको मुख्य भूमिका रहेको पछिल्लो फिल्म राज्जा–रानी खासै चलेन, तर यसै साता ट्रेलर रिलिज भएको नयाँ फिल्म कागजपत्रले भने उनलाई अब्बल अभिनेताको रुपमा पुनर्स्थापित गर्ने सम्भावना छ । जसरी पनि विदेश जान मरिहत्ते गर्ने नेपाली पुस्ताको सपना, आकांक्षा र पीडाको विषयमा केन्द्रित कागज पत्र चैत ८ गते रिलिज हुँदैछ । 

अहिले काठमाडौंका विभिन्न नाट्य समूहमा मधेसका थुप्रै युवा आएका छन् । उनीहरू नाजिर हुसैन झै हिरो बन्न चाहन्छन् ।

यो फिल्ममा उनले एउटा सोझो गाउँले प्रेमीको भूमिका निर्वाह गरेका छन् । उनलाई एक्लैले दश जना गुण्डा ढाल्ने हिरोको भूमिका निर्वाह गर्नुभन्दा पनि गाउँ–समाजका साधारण पात्रलाई पर्दामा उतार्नु मन लाग्छ । उनी भन्छन्, ‘म भुइँमान्छे हुँ, मलाई भुइँमान्छेकै भूमिका खेल्न मन लाग्छ ।’ 

नाजिरकै शब्दमा भन्दा उनी ‘काले’ छन्, ‘ख्याउँटे’ छन्, हिरोजस्ता छैनन् । तर, पछिल्लो समय नाटकबाट फिल्ममा आएका कलाकारहरूले सुगठित शरीर, सेतो छाला र चिट्टिक्क अनुहार भएका अग्ला पुरुषहरू मात्रै हिरो हुनसक्छन् भन्ने सोंचलाई परिवर्तन गरेका छन् । 

तस्वीरहरूः रिवाज राई

नायकको परिभाषा बदल्ने दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने र मुकुन भुषालजस्ता अभिनेताकै पंक्तिमा छन्, नाजिर हुसैन । 

नाजिर खासमा एक नृत्य कार्यशालामा भाग लिन काठमाडौं आएका थिए । कार्यशाला सकिएपछि गाउँ फर्केनन् । यतै बसे । बारमा डान्स गरे । तर, मण्डला थिएटर पुगेपछि भने उनको जीवनको गोरेटो बद्लियो । उनले त्यहाँ अभिनय मात्रै सिकेनन्, रङ्गमञ्चका सैद्धान्तिक एवं प्राविधिक ज्ञान पनि बटुले । मण्डलामा चार वर्ष बिताउँदा उनीभित्रको अभिनेता बाहिर आयो ।

मण्डलामा नाटक खेल्दा–खेल्दै उनलाई फिल्मको प्रस्ताव आयो । उनको पहिलो फिल्म पुण्टे परेड राम्रो चलेन । तर, उनको सजीव अनुहार र जीवन्त अभिनयको प्रशंसा भयो । यसैले, उनले एकपछि अर्को फिल्म पाउँदै गए ।

‘म भुइँमान्छे हुँ, मलाई भुइँमान्छेकै भूमिका खेल्न मन लाग्छ ।’ 

तर, उनी केही फिल्म आफ्नो पहिचान र वर्णकै कारण हातबाट फुत्किएको बताउँछन् । उनी भन्छन्, ‘मलाई दुई तीन वटा राम्रो फिल्मको अफर आएको थियो । निर्देशकहरू मसँग काम गर्न चाहन्थे । प्रोड्यूसरहरूलाई मेरो फिल्मले व्यापार गर्नेमा शंका थियो ।’

मधेसी र मुस्लिम भएकै कारण नाजिरलाई कसैले सोझै विभेद त गरेका छैनन्, तर उनी कहिलेकाहीँ आइसोलेटेड महशुस गर्छन् । भन्छन्, ‘कतै म आफैं छुट्टिइरहेको वा मलाई (अरुले) छुट्टाइरहेको महशुस हुन्छ ।’

नाम र अनुहारका कारण अरुले नाजिरलाई मधेसी र मुस्लिम देखे–सम्झे पनि उनी सबै धर्मप्रति समभाव राख्छन् । नमाज पढ्छन् । दशैं पनि मनाउँछन् । उनले एकपटक भाइटीका लाएको फोटो सार्वजनिक गरेका थिए, जसकारण उनले मुस्लिम समुदायबाटै आलोचना खेप्नुपर्यो । 

कतिले उनलाई चर्चामा आउन र आफ्नो फिल्मको प्रचार गर्न यस्तो ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप पनि लगाए ।

तर, सबै धर्मलाई उत्तिकै श्रद्धा गर्ने स्वभाव आफूले आमाबाट सिकेको नाजिर बताउँछन् । उनकी आमा हिन्दू थिइन् । मुस्लिमसँग विहे गरिन् । तर, आमाले विवाहपछि पनि हिन्दू चाड र संस्कार छाडिनन् ।  

उनी भन्छन्, ‘हिजो म सतहको मान्छे हुँदा पनि हिन्दू  चाड मनाउँथे, आज पव्लिक फिगर हुँदा पनि आमाले सिकाउनुभएको संस्कार भुलेको छुइनँ ।’ 

नाजिरमा सबै धर्म र संस्कारलाई माया गर्ने स्वभाव मात्र होइन, कलाप्रतिको प्रेम पनि आमाकै कारण जागृत भएको थियो । उनकी आमाका औंलाहरू मादल बजाउन खप्पिस थिए । आमाको मादलको तालमा उनी नाँच्ने गर्थे । रेडियो नेपालमा नाटक सुनेर प्रायः सबै संवाद कण्ठस्थ पार्थे । यसैले, उनको भोजपुरी मात्र होइन, नेपाली भाषा र लवज पनि शुद्ध भयो । गाउँमा हुने हरेक साँस्कृतिक कार्यक्रममा उनीबिना नाटक मञ्चन नै हुन्थेन । उनका बुबा आयुर्वेद डाक्टर थिए । छोरा मेडिकल डाक्टर बनोस् भन्ने बुबाको चाहना थियो ।  

तर, उनले बुबाको सपना पछ्याएनन्, आफ्नै सपना पछ्याए । आफ्नो सपना बाँच्न पाएकोमा उनी खुशी छन् । आफूले मधेसका अन्य युवालाई पनि नेपाली फिल्ममा हिरो बन्न प्रेरित गर्न सकेकामा उनी दङ्ग छन् । 

अहिले काठमाडौंका विभिन्न नाट्य समूहमा मधेसका थुप्रै युवा आएका छन् । उनीहरू नाजिर हुसैन झै हिरो बन्न चाहन्छन् । ‘उनीहरूलाई एउटा नयाँ बाटो देखाउन सकेकोमा म खुशी छुँ,’ उनी भन्छन् ।  

प्रकाशित मिति: १३:२९ बजे, शनिबार, फागुन ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्