एउटा गोल्डको गाथा
नेपाली क्रिकेट वा फुटबल टिम विदेशमा कुनै प्रतियोगिता जितेर घर फर्किने दिन हजारौ नेपालीहरू त्रिभुवन अ

नेपाली क्रिकेट वा फुटबल टिम विदेशमा कुनै प्रतियोगिता जितेर घर फर्किने दिन हजारौ नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन्, हात–हातमा राष्ट्रिय झण्डा, खादा र फूलका गुच्छा लिएर ।
त्यो दिन अर्थात् पुस १० गते पनि हजारौ नेपालीहरू विमानस्थल पुगेका थिए । प्रायः सबैको हातमा झण्डा, फूल र खादा थियो ।
विमानस्थलबाट बाहिरिँदै गरेका एक हवाई यात्रीले सोधे – ‘आज पनि क्रिकेट खेलाडीहरूको स्वागत हो ?’
‘आई लभ नेपाल’ लेखिएको सेतो टी–शर्टमाथि कालो लेदर ज्याकेट लगाएर झण्डा फर्फराइरहेका एक व्यक्तिले जवाफ फर्काए – ‘होइन ।’
ती यात्रीको जिज्ञासा मेटिएन । उनले अर्को अनुमान गरे – ‘त्यसो भए फुटबल खेलाडीहरू आउँदैछन् हो ?’
झण्डावालाले फेरि छोटो उत्तर दिए – ‘होइन, महेश्वरमान महर्जन आउँदैछन्।’
ती यात्री अलि अक्कमक्क परे – ‘को महेश्वरमान महर्जन ?’
झण्डावाला अब चाहिँ झर्किए – ‘महेश्वरमान महर्जन चिन्नुहुन्न ? अन्तर्राष्ट्रिय बडी बिल्डिङमा नेपाललाई गोल्ड मेडल दिलाउने पहिलो नेपाली !’
भिडियो रिपोर्ट
महेश्वरमान महर्जनले थाईल्याण्डको च्याङ म्याईमा गत पुस १ गते दशौं विश्व बडी बिल्डिङ च्याम्पियनशीपको ७५ केजी तौल समूहमा गोल्ड मेडल जितेर इतिहास रचे ।
इतिहास यस अर्थमा कि त्यसअघि कुनै नेपालीले पनि अन्तर्राष्ट्रिय बडी बिल्डिङ प्रतिष्पर्धामा गोल्ड मेडल जित्न सकेका थिएनन् । बढीमा सेल्भर मेडलमै चित्त बुझाउनु परेको थियो ।
तर, नेपाल र सारा नेपालीलाई गौरवान्वित बनाएर पनि महर्जन अझै सरकारी उपेक्षाको शिकार भइरहेका छन् । क्रिकेटर र फुटबलरको हाईहाई हुने यो देशमा बडी बिल्डिङ वा अन्य खेलमा लागेकाहरू सधैं उपेक्षित हुँदै आएका छन् ।
भर्खरै नेपाली क्रिकेट टोलीले युएईमा एक दिवसीय क्रिकेट श्रृंखला जित्दा होस् वा रोहित पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका क्रिकेटरको कीर्तिमान रच्दा, प्रधानमन्त्री केपी ओलीले ट्वीटरमार्फत बधाई दिए । तर, महर्जनले स्वर्ण पदक जित्दा समेत प्रधानन्त्रीले उनका लागि एउटा बधाई–ट्वीट समेत लेखेनन् ।
क्रिकेटरहरू घर फर्किएकै दिन सरकारले हरेकलाई पाँच–पाँच लाख दिने घोषणा गर्याे। तर, महर्जनले अझै पनि सरकारबाट कुनै सहयोग–सुविधा पाएका छैनन् ।
३५ वर्षीय महर्जनको आगामी लक्ष्य छ – सन् २०२० मा हुने मिस्टर युनिभर्स । आजसम्म नेपाली बडी बिल्डरले यो प्रतियोगितामा पदक जित्नु त के, भाग लिने मौका समेत पाएका छैनन् ।
महर्जन यो विश्व–प्रतिष्ठित प्रतियोगितामा भाग लिन मात्र होइन, पदक जित्न पनि चाहन्छन् । तर, त्यसका लागि उनले धेरै मेहनत गर्नुपर्ने छ । सबैभन्दा पहिले त उनले आफ्नो तौल कम्तीमा १०० केजी बनाउनु पर्नेछ । त्यसका लागि हेभी वर्कआउट, डाइट र सप्लिमेन्ट आवश्यक पर्छ ।

मिस्टर युनिभर्समा भाग लिने बेलासम्म कम्तीमा ७० लाख रुपैयाँ खर्च हुने अनुमान महर्जनको छ । उनलाई यति ठूलो रकम सरकारले देला भन्ने आशै छैन । यसैले, उनी अन्य सहयोगीहरू खोजिरहेका छन् ।
सरकारले कम्तीमा ७ लाख देओस् भन्ने चाहना महर्जनको थियो । यही अनुरोध लिएर उनी केही साताअघि राष्ट्रिय खेलकुद परिषद् पुगे । तर, परिषद्का अधिकारीहरू २ देखि ३ लाख दिनमात्रै तयार भए ।
‘त्यति पैसा सरकारले आफै राखोस्’ भन्दै महर्जन परिषदबाट बाहिरिए । उनलाई फेरि त्यहाँ गएर दुई हात जोर्ने इच्छा छैन । तर, सरकारले सहयोग नगरे विश्वकै प्रतिष्ठित बडी बिल्डिङ प्रतिष्पर्धामा भाग लिएर पदक जित्ने आफ्नो सपना अधूरै रहन्छ भन्ने हेक्का उनलाई छ ।
उनी भन्छन्, ‘सरकारले सहयोग नगरे म सायद मिस्टर युनिभर्समा भाग लिनै जाँदिनँ ।’
थाईल्याण्ड विश्व बडी बिल्डिङ च्याम्पियनशीपमा गोल्ड मेडल जितेपछि
थाईल्याण्ड जाँदा महेश्वरमान महर्जन अलि नर्भस थिए । त्यहाँ अरु देशबाट आएका बडी बिल्डरको ज्यान हेरेर उनी झन् नर्भस भए । विदेशी बडी बिल्डरको अगाडि आफू निकै पिलन्धरे भएको भान उनलाई पर्याे।
प्रतियोगिता हुने मञ्च पछाडि कुनै ऐना थिएन, जहाँ आफ्नो शरीर हेरेर उनले आफैलाई आश्वस्त पार्न सकून् । आफूसँगै रहेका एक नेपाली साथीले मोबाइलबाट फोटो खिचेर उनलाई देखाउँदै भने – ‘चिन्ता नगर, तिम्रो ज्यान पनि अरुको भन्दा केही कम छैन ।’
त्यसपछि उनलाई अलि आँट आयो । तर, उद्घोषकले आफूलाई विजयी घोषणा नगर्दासम्म उनको मुटु ढुकढुक गरिरहेकै थियो । किनकि, अन्य प्रतिष्पर्धीभन्दा अब्बल भएर पनि हारेको अनुभव उनलाई थियो ।
मिस्टर एसिया २०१६ मा गोल्ड मेडल जितेर पनि उनले राष्ट्रिय प्रतिष्पर्धा भने जित्न सकेका थिएनन् । उनी ३ पटकसम्म राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न असफल रहे । धेरैले ‘अब महेश्वरमान महर्जन सकिएको’ टिप्पणी गरे । त्यसले उनमा झन् बढी इख पलायो ।
विश्व बडी बिल्डिङ च्याम्पियनशीपमा पाएको मेडलले राष्ट्रिय प्रतिष्पर्धा जित्न नसकेको चोटमा मल्हम लगायो । स्वर्ण पदक जितेपछि उनले आफ्नी आमा, श्रीमती र साथीभाइ सम्झिए, जसले उनलाई सधैं सहयोग र प्रेरणा दिए ।

महेश्वरमान महर्जन खेलकुद भनेपछि सानैदेखि हुरुक्क हुन्थे । कक्षा ३ देखि नै उनले विद्यालयमा हुने हरेक खेलकुद प्रतियोगितामा भाग लिन थालेका थिए ।
उनका बुबा हल्का बडी बिल्डिङ गर्थे । बुबाको सुगठित शरीर देखेर उनलाई पनि बडी बिल्डिङ गर्ने रहर पलायो । नियमित वर्कआउट गर्दै जाँदा उनको शरीर तीव्र रुपले सुगठित हुन थाल्यो । कोचले उनलाई धर्मश्री प्रतियोगितामा भाग लिन सल्लाह दिए । सन् २००४ मा आयोजित १० औं धर्मश्री प्रतियोगितामा उनले कुनै पदक जितेनन् । ७० केजी तौल समूहका १७ खेलाडीमध्ये उनीे ५ औं भए । त्यसपछि उनले झन् बढी मेहनत गर्न थाले ।
बडी बिल्डिङमा धेरै मेहनत गर्नुको अर्थ हो, धेरै खर्च गर्नु । विदेशबाट डाइट प्लान र सप्लिमेन्ट मगाएर खानु निकै महङ्गो पर्थ्यो। तर, उनी हरेस खाएनन् । तलब जति प्रायः सधैं डाइट सप्लिमेन्ट र वर्कआउटमै खर्च गरे ।
उनी भन्छन्, ‘हिसाब गर्ने हो भने मैले काठमाडौंमा २ वटा घर किन्ने पैसा वर्कआउट र सप्लिमेन्टमै सकाएँ ।’
काठमाडौं, नरदेवीमा रहेको उनको घरसँगै जिम सेन्टर थियो, जहाँ उनी दिनहुँ कडा मेहनत गर्थे । उनले गह्रौ फलामहरू उचालेको दृश्य उनको आमाको आँखाबाट छिप्थेन । घर आएपछि आमा भन्थिन्, ‘कति जिम जानुपर्ने ? ल आज तिम्रो लागि लास्ट हो । भोलिदेखि जानुपर्दैन ।’
तर, उनले जिम जान छाडेनन् । त्यो उनको जिन्दगीको हिस्सा भइसकेको थियो । उनले धेरै जागिर परिवर्तन गरे । तर, जिम जाने बानी चाहिँ फेरेनन् । आमाको मन न हो । छोराको माया लागिहाल्ने । अलिपछि आमाले नै उनको डाइटप्लानदेखि हरेक स–सानो कुराको ख्याल राख्न थालिन् ।
प्रायः सबै मानिस आफ्ना छोराछोरीले आफ्नो बिँडो थामून् भन्ने आशा राख्छन् । तर, महर्जन चाहिँ आफ्नो छोरालाई यो क्षेत्रमा ल्याउँन चाहँदैन । किनकि, उनको भनाइमा बडीबिल्डिङप्रति आम मानिसको धारणा परिवर्तन हुँदै गए पनि अझै यसको स्कोप राम्रो छैन ।
उनी भन्छन्, ‘जबसम्म सरकारले अरु खेलकुदमा जस्तै बडीबिल्डिङमा पनि लगानी गर्दैन, तबसम्म यो क्षेत्रको विकास हुँदैन ।’












-(7)-1765197040.jpg)