Kathmandu Press

...र मुकुन चोपेन्द्र भए

‘ओ चोपेन्द्रजी !
हजुर
चा कस्तो थ्यो रे ?
चा अलि गुल्लो छ’

चोपेन्द

...र मुकुन चोपेन्द्र भए

‘ओ चोपेन्द्रजी !
हजुर
चा कस्तो थ्यो रे ?
चा अलि गुल्लो छ’

चोपेन्द्र अर्थात् मुकुन भुषालको पहिलो फिचर फिल्म बुलबुल रिलिज हुनै बाँकी छ । तर, उनी अहिले नै सेलिब्रिटी भइसके ।

मुकुनले चोपेन्द्रको जिब्रोमा एउटा सोझो र गाउँले युवकको बोली दुरुस्तै उतारेका छन्। उनको हेराई र हाउभाउ पनि ठ्याक्कै मिलाएका छन् । 

Hardik ivf

बुलबुलको टिजर र ट्रेलरमा चोपेन्द्रलाई हेरेकाहरूले सायदै सोच्दा हुन् – मुकुन काठमाडौंमा टेम्पो कुदाउने रणकलाको मायामा चुर्लुम्म डुबेका गाउँले युवक होइनन्, भारतबाट भर्खरै अभिनयको पढाइ पूरा गरी नेपाल फर्किएका सहरिया हुन् ।

शुक्रबार बिहान मुकुन काठमाडौं, वानेश्वरस्थित आफ्नै डेरा–घरको छतमा भेटिए । बुलबुलको ट्रेलरमा सेक्युरिटी गार्डको पोशाक लगाएर नाँच्ने चोपेन्द्र यिनै मुकुन हुन् भनी पत्याउँन मुश्किल थियो । 

उनले बाबाजीले जस्तै झ्याप्प कालो दाह्री पालेका थिए । कालै चश्मा लगाएका थिए । उनको लवज पनि बिल्कुलै भिन्न थियो । उनको रुप र भावमा चोपेन्द्रको छाया पनि देखिन्न थियो ।

एङ्ग्री यङ म्यान बन्ने सपना

२०४६ साल । अर्घाखाँची जिल्लाको एउटा दुर्गम गाउँको एक मध्यमवर्गीय बाहुन परिवारमा जन्मिए, मुकुन ।

त्यो बेला बलिउडमा एङ्ग्री यङ म्यानको दबदबा थियो । अमिताभ बच्चनका आइकनिक डायलगहरू भारतमा मात्र होइन, नेपालमा पनि सबैको मुखमा झुण्डिएका थिए ।

चलचित्र बुलबुलका नायक चाेपेन्द्र भुषााल

सन्नी देवलहरू पनि नयाँ एड्ग्री यङ म्यानको रुपमा उदाउन खोजिरहेका थिए । तर, बच्चनलाई टक्कर दिने कुनै अभिनेता जन्मेकै थिएनन्, छैनन् ।

मुकुन हरदम टीभीअगाडि हुन्थे, विजय दिनानाथ चौहानका डायलगहरू कण्ठ गर्दै । त्यो बेला उनको गाउँमा सिनेमा हल खुलेकै थिएन । हलमा फिल्म हेर्न घण्टौ हिँडेर बजारसम्म जानु पर्दथ्यो । उनले हलमा हेरेको पहिलो फिल्म थियो, शाहरुख खानको । तर, उनलाई अमिताभले जस्तो अरु कुनै बलिउड हिरोले प्रभाव पारेन । 

सन् १९७५ मा भारतमा इन्दिरा गान्धीले संकटकाल लगाइन् । त्यसबेलामा भारतमा जहीँतहीँ भ्रष्टाचार व्याप्त थियो । राजनीतिको अपराधीकरण भएको थियो । जोशिला र आदर्शवादी भारतीय नौजवानहरू व्यवस्थाप्रति रुष्ट थिए । बच्चनको एङ्ग्री यङ म्यानले ती निराश र रुष्ट भारतीय युवाको मात्रै मन जितेन, नेपालको एउटा पहाडी गाउँमा हुर्किरहेको मुकुनलाई पनि फिल्म क्षेत्रमा आकर्षित गर्‍याे ।

उनी पनि एड्ग्री यङ म्यान बन्ने सपना लिएर हुर्किन थाले । र, काठमाडौं आएर ओस्कार इन्टरनेशनल कलेजमा अभिनय पढ्न थाले । 

तर, मुकुन काठमाडौं आउँदा बलिउडमात्र होइन, नेपाली फिल्म उद्योगमा पनि ठूलो बद्लाव आउँदै थियो । राजेश हमाल र निखिल उप्रेतीहरूलाई दयाहाङ राई र सौगात मल्लले विस्थापित गर्दै थिए । रुखको फेदमा नाच्ने, एक्लैले १० जना ढाल्ने र किताब पढेको जस्तो संवाद बोल्नेहरू भन्दा गाउँ, सहर र गल्लीका लवज बोल्ने र शरीरले होइन आँखाले भाव व्यक्त गर्नेहरू दर्शकको रोजाईमा पर्दै थिए । 

चलचित्र क्षेत्रमा आएको यो परिवर्तन सामान्य रुप, कद र बनोटका मुकुनका लागि शुभ संकेत थियो । मुकुनले पनि स्टारडम होइन, कन्टेट महत्वपूर्ण रहेछ भन्ने बुझे । 

उनी भन्छन्, “गत साल बलिउडमा तीनै खानका फिल्म फ्लप भए । राजकुमार राव र विक्की कौशलका फिल्म हिट भए । यसले पनि दर्शकहरू अब स्टार होइन, कन्टेन्ट खोज्छन् भन्ने देखाएको छ ।” 

र, मुकुन चोपेन्द्र भए

समीक्षकहरुले रुचाएकाे चलचित्र साघुँराेका लेखक विनोद पौडेल काठमाडौंमा टेम्पो कुदाउने एक युवतीको बारेमा फिल्म बनाउन चाहन्थे । टेम्पो चालक महिलाहरू कसरी बोल्छन्, प्रायः के विषयमा गफ गर्छन् र रिसाउँदा के गर्छन् ? उनलाई यी सबकाे मिहिन अध्ययन गर्नु थियो । ओस्कार कलेजका सिईओ एवं प्रिन्सिपल रहेका उनले यो काममा आफ्ना विद्यार्थी मुकुनलाई खटाए ।

भिडियो रिपोर्ट

मुकुनले तीन सातासम्म हरेक दिन टेम्पो चढे । अगाडि सिटमा बस्थे । र, महिला चालकसँग कुरा गरिरहन्थे । त्यो उनको रिसर्च थियो । एकसरो रिसर्च सकेपछि उनले पौडेललाई पनि आफूसँगै टेम्पो चढ्न लगे । त्यसबेला पौडेलले चाहिँ मुकुनको रिसर्च गरिरहेका रहेछन्, जुन उनलाई थाहै भएन ।

पौडेललाई लाग्यो – चोपेन्द्रको भूमिकामा मुकुन बाहेक अर्को कलाकार उपयुक्त हुँदैन ।

पौडेलले बुलबुल लेख्न थाले, चोपेन्द्रको भूमिका मुकुनलाई नै मिल्ने गरी । मुकुन चाहिँ अभिनयमा स्नातकोत्तर गर्न भारतको नोयडा स्थित मर्वा स्टुडियोमा भर्ना भए । त्यहाँ उनले दर्जनौ शर्ट फिल्म बनाए । कतिपयमा आफै खेले । 

पढाई सकेपछि सुनवल हुँदै नेपाल फर्किए । काठमाडौं गएकै थिएनन् । बुटवलका सडकमा एक्लै हिँड्दै थिए । उनको मोबाइलमा पौडेलको फोन आयो । 

पौडेलले सोधे – “एउटा फिल्म छ, खेल्छौँ ?”

मुकुनले ‘हुन्छ’ भने । कुन फिल्म, कस्तो भूमिका र पैसा कति पाइने जस्ता प्रश्न गरेनन् । उनले कुनै सानोतिनो फिल्म होला भन्ने सोचेका थिए । काठमाडौं पुगेपछि थाहा पाए – स्वस्तिमा खड्काको अपोजिट भूमिका रहेछ । अनि चाहिँ फुरुङ्ग परे ।

बुलुबुलको शुटिङ सकिना साथ मुकुन पनि चोपेन्द्रको भूमिकाबाट बाहिर आइसकेका छन् । उनी फेरि चोपेन्द्र बन्न चाहँदैनन् । हरेक फिल्ममा फरक भूमिकामा देखिने उनको चाहना छ ।

बुलुबुलको ट्रेलर हेरेकै आधारमा कतिले उनलाई नेपाली फिल्म उद्योगको नेक्स्ट् बिग थिङ भन्न थालिसकेका छन् । हरेक फिल्ममा चोपेन्द्रजस्तै प्रभावकारी तर चोपेन्द्रभन्दा पृथक भूमिकामा देखिए उनी साँच्चै नेक्स्ट् बिग थिङ हुनेछन् । 

प्रकाशित मिति: १२:३५ बजे, शनिबार, माघ १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्