हावाहुरी पीडित विद्यार्थीको एसईई परीक्षा : आफन्त गुमे, पुस्तक हराए, टहरामै तयारी
फेटा (बारा), चैत २७ : प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं. २ भरि झण्डै दुई सातासम्म स्थगित भएर गत शनिबार सुचारु भएको एसईई परीक्षा आज बुधबार सकि....
फेटा (बारा), चैत २७ : प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं. २ भरि झण्डै दुई सातासम्म स्थगित भएर गत शनिबार सुचारु भएको एसईई परीक्षा आज बुधबार सकियो।
एसईई परीक्षा लम्बिँदा प्रदेश २ का परीक्षार्थीहरूले अनावश्यक कष्ट पाए। बारा जिल्लाका चक्रवात आँधी प्रभावित गाउँका परीक्षार्थीहरूले भने झन् धेरै कष्ट पाएका छन्।
गत चैत १४ गते दुई नं. प्रदेशभरि एसईई परीक्षा स्थगित भयो। त्यसको तीन दिनपछि अर्थात् चैत १७ मा चक्रवात आँधीले बारा र पर्सामा ठूलो क्षति पुर्यायो।
‘कतिको पाठ्यपुस्तक हावाले उडायो, कतिको घरमै पुरियो। उनीहरूले पाठ्यपुस्तकबिनै परीक्षा दिनुपर्यो।’
बाराका १६ स्थानीय तहमध्ये फेटा गाउँपालिका सबैभन्दा धेरै प्रभावित भयो। परवानीपुर, प्रसौनी, सवर्ण गाउँपालिका र कलैया उपमहानगरपालिकामा पनि निकै क्षति पुग्यो।
२६ जनाको मृत्यु भयो। ४ सय २० जना गम्भीर घाइते छन्। हावाहुरीले १२ सय ८ वटा घर पूर्ण रुपले ध्वस्त पारेको छ।
कतिपय परीक्षार्थीले परिवारजन गुमाए। कतिका बा–आमा अस्पतालमा अझै उपचाररत छन्। धेरैका घर छैनन्। टहरोमै बसेर बाँकी परीक्षाको तयारी गर्नुपर्यो।
किरण कुमारी दासकी दादीको घरले किचेर मृत्यु भयो। काका अझै अस्पतालमा छन्। उनले टहरोमै बसेर परीक्षा दिइन्। भन्छिन्, ‘धेरै गाह्रो भयो।’
बाराका ७ हजार ७ सय २६ एसईई परीक्षार्थीमध्ये ७६ जना हावाहुरी पीडित छन्। हावाहुरी पीडित परीक्षार्थी दिनेश पटेल भन्छन्, ‘जुन ठाउँमा तबाही देखियो, त्यही ठाउँमा परीक्षा दिनुपर्दा मानसिक पीडा हुँदो रहेछ। घटनास्थलभन्दा टाढा परीक्षा दिन पाएको भए नराम्रो झझल्को आउने थिएन।’
‘जुन ठाउँमा तबाही देखियो, त्यही ठाउँमा परीक्षा दिनुपर्दा मानसिक पीडा हुँदो रहेछ।’
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खुटुवा जवद्दी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रविन्द्र कुमार गिरीका अनुसार, कतिपय हावाहुरी पीडित परीक्षार्थीसँग त पाठ्यपुस्तक पनि थिएन। भन्छन्, ‘कतिको पाठ्यपुस्तक हावाले उडायो, कतिको घरमै पुरियो। उनीहरूले पाठ्यपुस्तकबिनै परीक्षा दिनुपर्यो।’
चक्रवात आँधी आएपछि धेरै संघसंस्थाका प्रतिनिधिहरू राहतका पोका बोकेर बारा पुगे। तर, राहत पोकामा एसईई परीक्षार्थीका लागि काम लाग्ने पाठ्यपुस्तक वा अन्य शैक्षिक सामाग्रीहरू भने थिएनन्।