Kathmandu Press

चिकित्सक आन्दोलनः फोक्सोमा पाइप जोडेर डाक्टर बेपत्ता, बेडमा छट्पटाउँदै बिरामी

काठमाडौं, चैत २६ :   बझाङबाट दुई दिन लामो बस यात्रापछि काठमाडौं आएका ४२ वर्षीय दिनेश धमेना जुन दिन वीर अस्पताल भर्ना भए, त्यही दिन चिकित्सकह....

चिकित्सक आन्दोलनः फोक्सोमा पाइप जोडेर डाक्टर बेपत्ता, बेडमा छट्पटाउँदै बिरामी

काठमाडौं, चैत २६ :   बझाङबाट दुई दिन लामो बस यात्रापछि काठमाडौं आएका ४२ वर्षीय दिनेश धमेना जुन दिन वीर अस्पताल भर्ना भए, त्यही दिन चिकित्सकहरूको देशव्यापी हडताल सुरु भयो। चैनपुर निवासी धमेना क्षयरोगी हुन्। क्षयरोगका कारण फोक्सोमा पानी र हावा जमेपछि उनी काठमाडौं आएका हुन्।  

गत शुक्रबार धमेना अस्पताल भर्ना भए। छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले उनको फोक्सोमा जमेको पानी र हावा बाहिर फ्याँक्न पाइप जोडिदिए। तर, त्यसपछि डा. ढुङ्गाना अस्पताल फर्केर आएका छैनन्। पाँच दिन भइसक्यो। चिकित्सकहरूको आन्दोलन जारी छ। डा. ढुङ्गाना अस्पताल फर्किने टुङ्गो छैन। वीर अस्पतालको बेड नं. ३ मा धमेना हर क्षण पीडाले छट्पटाइरहेका छन्।

धमेनाका मनमा अनेक प्रश्नहरू छन्–पाइप लाइराख्ने हो कि निकालेर फ्याँक्ने हो? लाइराख्ने हो भने कहिलेसम्म? फ्याँक्ने हो भने कसरी? शल्यक्रिया गर्नुपर्ने हो कि होइन? हो भने कहिले हुन्छ?

Hardik ivf

धमेना आफ्नो दुःख छोरा सुनिलसँग बाँड्छन्। सुनिलले हरेक दिन डा. ढुङ्गानालाई भेट्ने प्रयत्न गर्दै आएका छन्। तर, डा. ढुङ्गानाको अत्तोपत्तो छैन। नर्सहरूसँग सोधिखोजी गर्छन्। नर्सहरू केही बताउँदैनन्।

धमेनाको फोक्सोमा पाइप जोडेर अस्पताल नजाने डा. ढुङ्गाना मङ्गलबार साँझ काठमाडौं प्रेसको सम्पर्कमा आए। उनले भने, ‘म अस्पताल नगएर के भो? जुनियर डाक्टरहरूले त उहाँ (धमेना)लाई हेरिरहेकै होलान् नि!’

सुनिलका अनुसार, अरु चिकित्सकहरू बेलाबेला अस्पताल त झुल्किन्छन्, तर आन्दोलन चलिरहेको छ भन्दै बिरामी हेर्न मान्दैनन्।

बुवाको उपचार अनिश्चित बन्दा सुनिललाई अर्को चिन्ताले पनि सताउँदैछ–गाउँबाट ऋण काढेर ल्याएको पैसा सकिन लाग्यो। तत्काल बुवाको उपचार नभए फेरि ऋण खोज्न बझाङ फर्किनुपर्छ।

मङ्गलबार उनले निराश हुँदै काठमाडौं प्रेससँग भने, ‘साह्रै गाह्रो भइरहेको छ । हामी टाढाबाट आएकाहरूलाई त यस्तो दुःख नदिए हुन्थ्यो!’

उनी थप्छन्, ‘डाक्टरहरूले किन आन्दोलन गर्‍या हुन्, थाहा छैन। सायद जायज कारण नै होला। तर, हामी दुर्गमका गरीब जनता भने मर्कामा पर्‍यौँ।’ 

देश संघीयतामा गए पनि दूरदराजका नेपालीलाई जटिल शल्यक्रियाका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ। ऋण काढेर र घण्टौं बस यात्रा गरेर उपचारका लागि राजधानीका सरकारी अस्पतालहरूमा भर्ना भएका बिरामीहरू चिकित्सक आन्दोलनको मारमा परेका छन्।

चिकित्सकहरू किन आन्दोलित छन्?

सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा देशभरका सरकारी चिकित्सकहरूले गत शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्। गोदानले सरकारी चिकित्सक समायोजन नीतिको बिरोध गर्दै आन्दोलन गरेको हो।

गोदानले समायोजनका नाउँमा सरकारी चिकित्सकहरूलाई स्थानीय सरकार मातहत राख्न खोजिएको भन्दै सरकारी नीतिको बिरोध गरेको हो। गोदानले गत महिना पनि आन्दोलनको कार्यक्रम तय गरेको थियो। तर, प्रधानमन्त्री केपी ओलीले माग पूरा गर्ने आश्वासन दिएपछि गोदानले आन्दोलन फिर्ता लिएको थियो।

तर, प्रधानमन्त्री ओलीले आश्वासन पूरा नगरेको भन्दै गोदानले देशव्यापी आन्दोलन सुरु गरेको हो। सरकारले गोदानको माग पूरा नगर्ने स्पष्ट पार्दै काममा नफर्किने सरकारी चिकित्सकलाई बर्खास्त गर्ने चेतावनी दिएको छ। गोदानले भने सरकारले कारबाही गरे सामूहिक राजीनामा दिने धम्की दिएको छ।

गोदानका माग कति जायज?

गोदानको मागको सार हो–संघ मातहत रहेका सरकारी चिकित्सकहरूले संघ मातहत नै रहन पाऊन्। प्रदेश वा स्थानीय सरकार मातहत जान बाध्य नहोऊन्। देश संघीयतामा जानुअघि नेपालमा एक तहको मात्रै सरकार थियो। सबै सरकारी चिकित्सकहरू केन्द्र सरकार मातहत नै थियो।

तर, देश संघीयतामा गएपछि नेपालमा तीन तहका सरकार छन्–संघ, प्रदेश र स्थानीय। संघ मातहत रहेका सरकारी चिकित्सकहरूलाई प्रदेश र स्थानीय सरकार मातहत लैजान पनि जरुरी छ। यसैले, सरकारले संघ मातहत रहेका ८१ प्रतिशत सरकारी चिकित्सकलाई स्थानीय र ९ प्रतिशतलाई प्रदेश सरकार मातहत लैजाने समायोजन नीति बनाएको छ। यो नीति बमोजिम ९ प्रतिशत सरकारी चिकित्सक मात्रै संघ अन्तर्गन रहन्छन्।

गोदानले यो समायोजन नीतिलाई विभेदपूर्ण भनेको छ। निजामती तर्फका ४० प्रतिशत कर्मचारी संघअन्तर्गत रहन पाउने र चिकित्सातर्फ चाहिँ ९ प्रतिशत मात्रै संघअन्तर्गत रहने नीति विभेदकारी भएको गोदानको ठहर छ।

प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, चैत २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्