कवितासँगै सुफि संगीतमा झुम्यो काठमाडौं (भिडियोसहित)
काठमाडौं, चैत २२ : बलिउडकी चर्चित पार्श्व गायिका कविता सेठ बिहीबार साँझ भने काठमाडौंलाई सुफि संगीतले मन्त्रमुग्ध पारिन्।
गजल र सुफि संगीतमा ....

काठमाडौं, चैत २२ : बलिउडकी चर्चित पार्श्व गायिका कविता सेठ बिहीबार साँझ भने काठमाडौंलाई सुफि संगीतले मन्त्रमुग्ध पारिन्।
गजल र सुफि संगीतमा पनि उत्तिकै सिद्धहस्त सेठ खचाखच भरिएको काठमाडौंस्थित नेपाल आर्मी अफिसर्स क्लबको अडिटोरियम हलमा झुल्किइन् । जहाँ स्वामी विवेकानन्द कल्चर सेन्टर र भारतीय राजदूताबासले ‘सुफि म्यूजिक विथ कविता सेथ’ आयोजना गरेको थियो।
‘ना तेरा खुदा कोइ और हे, ना मेरा खुदा’बाट कार्यक्रमको शुरुआत गरेकी उनले पहिलो प्रस्तुतिमै सबैलाई मन्त्रमुग्ध पारिन् । उनको एकल प्रस्तुतिमा आर्मी अफिसिर्स क्लबको अडिटोरियम हल गुञ्जियो । धेरै बेर कुरेका दर्शकलाई उनको पहिलो प्रस्तुतले नै शान्त बनायो ।
‘ना तेरा खुदा’ बिट मार्ने वितिक्कै अडिटोरियम तालीले गुञ्जियो । ताली नसकिँदैले उनले अर्को गीतबारे बोल्न सुरु गरिन् । उनी हरेक गीत अघि त्यससँगका आफ्ना स्मरण सुनाउँथिन्।
त्यसअघि उनले सुफि संगीतबारे थोरै बोलिन् । आफ्नो गायन यात्राको अनुभव सुनाइन्।
‘मोसे नैना मिलाकर’मा उनको स्वर गुञ्जिन थालेपछि दर्शक एकाएक शान्त देखिए । टाउँको मात्रै हल्लाइरहेका थिए।
साँझलाई अझै रोमाञ्चक बनाउन उनले ‘नैना नैना’ सुरु गरिन् । र दर्शकलाई तालमा ताल मिलाएर ताली बजाउन आग्रह गरिन् । उनको स्वरसँगै तालीले गुञ्जायमान बनायो, साँझ।
यसमै उनले ‘इकतारा’ र ‘तुम हि हो बन्धु’ गीत पनि सुनाइन् । उनलाई बाद्यवादनमा भारतीय र नेपाली कलाकारले साथ दिए।
बलिउडका दर्जनौ फिल्ममा पार्श्व संगीत दिएकी उनले केही फिल्ममा संगीत निर्देशकका रुपमा पनि काम गरेकी छन् । उनले दर्जनौ अवार्ड पाएकी छन्।
कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि भारतीय राजदुत मन्जितसिंह पुरी, राजदुतावासका मुख्य सचिव अभिषेक दुबेलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।












