विपिन कार्कीका बेस्ट फाइभ चरित्र
मेथड एक्टर दुई प्रकारका हुन्छन्।
पहिलो – जो आफू जुन चरित्रमा छिर्न लागेको हो, त्यही चरित्रको वास्तविक दुनियाँमा प्रवेश गर्छन् र उसको मनोदशा र व्य....

मेथड एक्टर दुई प्रकारका हुन्छन्।
पहिलो – जो आफू जुन चरित्रमा छिर्न लागेको हो, त्यही चरित्रको वास्तविक दुनियाँमा प्रवेश गर्छन् र उसको मनोदशा र व्यवहार अध्ययन गर्छन्।
दोस्रो – जो आफूले जुन चरित्रलाई पर्दामा उतार्न लागेको हो, त्यही चरित्र भएर बाँच्छन्।
विपिन कार्की कुनै एक हाेइन, दुबै प्रकारका मेथड एक्टर हुन्। उनी कुनै चरित्र अध्ययन मात्रै गर्दैनन्, त्यो चरित्रकै जिन्दगी बाँच्छन्।
विपिन कतिसम्म मेथड एक्टिङ गर्छन् भने कहिलेकाहीँ कुनै चरित्र बाँचिरहेको बेला उनलाई अरुले चिन्न त मुश्किल पर्छ नै, आफैं पनि आफू को हुँ भन्ने बिर्सन्छन्।
एकपटक त्यस्तै भयो।

उनले कालो पोथीमा एक गाउँले दलित युवकको चरित्र निर्वाह गर्नुपर्ने थियो। हुन त यो फिल्ममा उनको मुख्य भूमिका थिएन। एउटा सानो भूमिका मात्रै निभाउनुपर्ने थियो। तर, भूमिका सानै भए पनि उनले त्यसको तयारीका लागि मुगुको एक दुर्गम गाउँमा दुई महिना बिताए।
आफूलाई दलितको चरित्रमा ढाल्न उनी एक दलित परिवारसँगै बसे। दशैं र तिहार पनि त्यहीँ बिताए। स्थानीय दलित युवाहरूसँग गाउँ डुल्दै दमाहा बजाए। मुगुका दलितहरूले जस्तो लुगा लाउँछन्, जस्तो लवजमा खस भाषा बोल्छन्, त्यसैको सिको गरे।
एक दिन उनी गाउँकै एउटा चिया पसल छिरे, जहाँ पहिले पनि उनले मज्जाले गफ गर्दै चिया खाएका थिए। तर, पहिले उनी सहरिया युवाको गेटअपमा त्यहाँ गएका थिए। त्यो दिन भने उनी दलितकै चरित्रमा त्यहाँ पुगे।
चिया पसलेले उनलाई हकार्दै भने – यहाँ नबस्, बाहिर गइहाल, निस्किहाल!
भिडियाे
उनले तत्काल बुझ्न सकेनन् – पहिले चिया खान जाँदा आदरसाथ बोल्ने पसलेले किन अहिले भने आफूलाई छिःछिः र दूर्दूर गर्दैछन्? एक छिन पछि झल्यास्स् भएँ – अहो, चिया पसलेले विपिन कार्कीलाई होइन, विपिन कार्कीले निर्वाह गरेको दलित चरित्रलाई दुर्व्यवहार गर्दैछन्।
देशमा अझै पनि जातीय छुवाछुत कायमै रहेको अनुभूतिले उनी त्यो दिन खिन्न भए, तर चिया पसलेले आफूलाई मुगुकै दलित ठानेकोमा खुशी पनि भए।
कालो पोथी हेर्ने धेरै दर्शकलाई विपिन कार्की कतिबेला पर्दामा आउँछन् भन्ने थाहै हुँदैन। उनी दलित चरित्रमा यति मज्जाले घुसेका छन् कि उनलाई सितिमिति चिन्न सकिँदैन।

विपिनकै जस्तो दमदार चरित्र चित्रणले पनि कालो पोथी देशले नै गर्व गर्न लायक चलचित्र बनेको छ। भेनिस फिल्म फेस्टिभलमा देखाइएको पहिलो नेपाली चलचित्र कालो पोथीले समीक्षक र आम दर्शक दुबैको मन जित्यो।
कालो पोथीमा मात्र होइन, प्रायः हरेक फिल्ममा विपिनलाई चिन्न गाह्रो हुन्छ। किनकि, उनी हरेक फिल्ममा अर्कै चरित्रमा देखा पर्छन्। उनको रुप, लवज र बडी ल्याङ्ग्वेज सबै फरक हुन्छ।
जात्रा र जात्रै जात्रामा फणिन्द्र तिमिल्सिनाको चरित्रमा विपिनलाई देखेका दर्शकले छड्केको गँजडी ग्याङस्टर बिन्दु, तान्डवको रक्स्याहा वेटर र लुटको पित्तल डन पनि विपिन नै हुन् भनेर कसरी ठम्याउने?
पछिल्लो एक दशकमा विपिनले यति विविधतापूर्ण चरित्रहरू निभाएका छन् कि उनी वास्तविक जीवनमा चाहिँ कस्ता देखिन्छन् र कसरी बोल्छन्? यो चाहिँ कौतुहलकै विषय हो।
गत मङ्गलबार नयाँ वानेश्वरको द बेकरी क्याफेमा हामी विपिनलाई अन्तर्वार्ताका लागि कुरिरहेका थियौँ। विपिन कुन लुक्स लिएर हाम्रो अगाडि प्रस्तुत होलान् त? हामी सबैको मनमा यही कौतुहल थियो।
हाम्रो अगाडि विपिन देखा परे – नीलो टीशर्ट, कालो क्याप र कालै चस्मा। झुस्स दाह्री पनि थियो। यो चाहिँ विपिनको असली लुक्स हो कि कुनै नयाँ चरित्रको तयारी? यो चाहिँ भन्न गाह्रै थियो।
काठमाडौं प्रेससँग कुरा गर्दै विपिनले आफ्ना बेस्ट फाइभ चरित्र छाने र त्यससँग जोडिएका कथा, किस्सा र अनुभवहरू पनि सुनाए।

हरिका हरि
यो एउटै चलचित्रमा मेरा चार–पाँच वटा चरित्र छन्। मुख्य पात्र हरिलाई मैले जसरी पर्दामा उतारेको छु, त्यसबाट म सन्तुष्ट छु। मलाई पहिलेदेखि नै थाहा थियो – हरि चलचित्र कस्तो लेखिँदैछ? मेरो चरित्र कस्तो बन्दैछ? किनकि, हरिका निर्देशक मेरै साथी थिएँ। यसैले, मैले अलि पहिलेदेखि नै हरिका हरिलाई यसरी दर्शकअगाडि ल्याउँछु भन्ने मलाई पहिले थाहा थियो।

कालो पोथीका दलित
कालो पोथीमा मेरो सानो भूमिका छ, तर यो भूमिका पनि मलाई मन पर्छ। कालो पोथीका पात्रहरूले बोल्ने भाषा नै फरक थियो। कर्णालीका मानिसले बोल्ने खस भाषा मैले निर्वाह गर्न लागेको दलित पात्रले बोल्थ्यो। मैले कहिल्यै त्यो लवजमा खस भाषा बोलेको थिइनँ। भाषा सिक्नकै लागि म कालो पोथीका निर्देशक मीन बहादुर भामसँग कुरा गरेर शुटिङ सुरु हुनुभन्दा दुई तीन महिनाअगाडि नै मुगु गएँ। त्यहाँ दलितकै घरमा बसेँ। उनीहरूसँगै दशैंमा दमाहा बजाउँदै घर–घर डुलेँ।
.jpg)
पशुपतिप्रसादका भस्मे डन
भस्मे डन पनि म सन्तुष्ट हुन सकेको चरित्र हो। पशुपतिप्रसादको तयारीका लागि हामी ककनी जाँदै थियो। त्यो दिन झरी दर्केको थियो। म मज्जाले भिजेँ। ककनी पुगेपछि मैले गफ दिएँ – चिसोले गर्दा मेरो स्वर भासियो। मैले दुई तीन दिनसम्म सबैसँग भासिएकै स्वरमा बोलेँ। काठमाडौं फर्केपछि निर्देशकसँग भने – मेरो त घाँटी भासिइरह्यो, के गर्ने? उहाँले यो स्वर पनि चल्छ, नत्र पछि डबिङमा सोचौंला भन्नुभयो। शुटिङ सुरु भएपछि मैले निर्देशक र लेखकसँग साँचो कुरा गरेँ – मेरो स्वर भासिएको छैन, मैले यसरी नै बोल्न खोजेको हुँ। उहाँहरूले हुन्छ भन्नुभयो। तर, फिल्म युनिटका अरुले भने थाहा पाएनन्। यसरी भासिएको स्वर लिएर भस्मे डन पर्दामा देखा पर्यो।
.jpg)
जात्राका फणिन्द्र तिमिल्सिना
जात्रामा मैले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्न पाएँ। त्यसअघि मलाई कसैले मुख्य भूमिकामा पत्याएकै थिएन। साइड क्यारेक्टरहरू मात्रै खेल्न पाएको थिएँ। पहिलो चोटि लिड क्यारेक्टर पाएकाले मैले जात्राका लागि अलि बढी नै मेहनत गरेँ।
.jpg)
नाकाका डन
नाकामा मैले जुन डनको भूमिका निभाएको छु, त्यो पनि मलाई खुब मन पर्छ। तातोपानी नाका भएर हुने तस्करीको विषयबस्तुमा बनेको नाकामा मैले डनको भूमिकालाई अलि फरक तरिकाले प्रस्तुत गरेको छु।












-(7)-1765197040.jpg)