Kathmandu Press

भूकम्पले भत्काएको चार वर्षपछि यसरी बन्दैछ रानीपोखरी

काठमाडौं, चैत २० : करिब साढे तीन सय वर्षअघि मल्लकालीन राजा प्रताप मल्लले बनाएको रानीपोखरी पुनर्निर्माणको काम विचका अनेक तिक्डमकाबीच अव सुरु भएको छ ।&n....

भूकम्पले भत्काएको चार वर्षपछि यसरी बन्दैछ रानीपोखरी
रिवाज राई

काठमाडौं, चैत २० : करिब साढे तीन सय वर्षअघि मल्लकालीन राजा प्रताप मल्लले बनाएको रानीपोखरी पुनर्निर्माणको काम विचका अनेक तिक्डमकाबीच अव सुरु भएको छ । 

उत्तिबेला मल्ल राजा प्रताप मल्लले पाँच वर्षमा तयार पारेको रानीपोखरी आउदो तिहारमा सक्ने लक्ष्य सहित अघि बढेको छ । विगत चार वर्ष बितिसक्दा पनि पुनर्निर्माणको कार्य हुन नसक्दा कुरुप र फोहोर फाल्ने खाल्डोमा परिणत भएको छ– सुन्दर रानीपोखरी ।

आउँदो तिहारसम्म सक्ने लक्ष्य छ तर रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरलगायत अन्य संरचनाको निर्माणको काम चाहिँ अझै सुरु भएको छैन । अहिले पोखरीको सतहको माटो मिलाउने काम थालिएको छ तर पोखरीको भित्ताको काम पनि सुरु हुन बाँकी छ । तिहार र रानीपोखरीको छुट्टै साईनो छ । तिहारमा दाजुभाई र दिदी बहिनी नभएकाहरु यही रानीपोखरीमा गएर भाई टिका लगाउने गर्छन् । 

Hardik ivf

रानीपोखरी निर्माणको जिम्मा लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो तिहार (कात्तिक) सम्म बनाइसक्ने लक्ष्य राखेको छ तर यसअघिको कार्यप्रगति हेर्दा समयमै सम्पन्न होला भनेर पत्याइहाल्न मुस्किल छ । प्राधिकरणका कार्यसमिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ भने लक्ष्यअनुसार काम सक्ने दाबी गर्छन् ।

काठमाडौं महानगरपालिका उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले पोखरी निर्माणको काम तिव्र गतिमा भैरहेको बताए ।  ‘भक्तपुरमा पोखरी बनाएका कालिगढले अहिले काम थालेका छन् । पोखरीको माटो मिलाउने काम सुरू भएको छ’ उनले भने।  

उपभोक्ता समितिका अध्यक्ष स्थापितका अनुसार पहिले पोखरीको तल्लो भागको माटो मिलाएर जमिन सम्म पारिनेछ । त्यसबाट पानी नचुहियोस् भनेर पोखरीको सतहको सबैभन्दा तल बालुवा, त्यसमाथि कालोमाटो र त्यसपछि इँटा बिच्छ्याइनेगरी इन्जिनियरिङ तयार भएको छ । 

अहिले त्यहाँ ५० जना कामदार कार्यरत छन् । उनीहरूले पहिले भएका कामलाई भत्काएर नयाँ संरचना अनुसारको काम अघि बढाएका छन् । अझै काम नथालिए पनि पोखरीभन्दा पहिला बालगोपालेश्वर मन्दिर तयार हुनुपर्छ । स्थापितले भने, ‘मन्दिरको माथिल्लो भाग पछि बनाए पनि होला तर मन्दिरको जग पहिले नै बनाइसक्नुपर्छ ।’ 
स्थापितले पनि तोकिएकै समयमा सक्ने कुरामा शंका व्यक्त गरे । ‘रानीपोखरी निर्माणको काम तिहारअघि नै सक्ने लक्ष्य त छ तर पनि मन्दिरको काम सुरु नहुँदा समस्या हुने देखिन्छ ।’

वियोगान्त इतिहास 

मल्लकालीन राजा प्रताप मल्लकी सबैभन्दा प्रिय रानीबाट जन्मेको छोरा चक्रवर्तेन्द्र मल्लको १७२६ सालमा निधन भयो । त्यसको एक वर्षअघि नै उनले पोखरी निर्माण सुरु गरिसकेका थिए । छोराको निधनले रानी शोकमा परिन् । काम पनि रोकियो । उनै रानीको चित्त बुझाउन प्रताप मल्लले वि.सं १७२७ मा फेरि रानीपोखरीको निर्माण अघि बढाए । १७३० सालमा यो रानीपोखरी तयार भएको उनले बताए । इतिहासविद् दिनेशराज पन्तका अनुसार पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको शिलालेखमा उल्लेख छ । 

प्रताप मल्लका एउटै व्यहोराको शीलापत्र तीन दिशामा राखिएको छ । पन्तले, माथि टाउकोमा अलिकति संस्कृत, तल अलिकति नेवारी भाषाबाहेक र बीचको अधिकांश नेपाली भाषामा शिलालेख लेखिएको इतिहासविद् पन्तले बताए । त्यसबेला काठमाडौं उपत्यका नेवारी भाषाको भूमि थियो तर पनि राजा मल्लले नेपाली भाषा प्रयोग गरेका छन् । त्यसबेला पनि नेपाली भाषाको महत्व थियो भन्ने यसैबाट झल्कने उनको भनाइ छ । 

रानीपोखरी सुरुमा नेपारी भाषाको ‘न्हुगु पुखु’ (नयाँ पोखरी) नामले चिन्ने गरिन्थ्यो । विसं १७५४ मा मा रानीपोखरी नामाकरण गरिएको हो । अहिले पनि नेवारी समुदायका कतियउ बुढापाकाहरूले रानी पोखरीलाई ‘न्हुगु पुखु’ भनेर चिन्ने गर्छन् । 

त्यसबेला रानी पोखरीमा १०८ तीर्थको जल हालिएको थियो । तिहारको भाइटीकामा मात्र खुल्ने रानीपोखरीबीच बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भाइटीका पर्व मनाउने स्थलका रुपमा स्थापित छ । यो मन्दिर वर्षमा एक दिन तिहारको भाइटीकामा मात्र खुल्छ ।

भूकम्पले संरचना ध्वस्त भए पनि पोखरीको पानीसुकेको थिएन । इतिहासविद् पन्त पोखरीको पानी झिकेर फ्याँक्ने र त्यहाँका माछा अन्त सार्ने काम नै नराम्रो भएको बताउँछन् ।  ठूल्ठूला तीर्थको जल मिसाएको पानी सुक्दा आस्था हराएको उनले बताए । 

इतिहासविद् पन्त रानीपोखरीमा पहिले जमिनबाटै पानी आउँथ्यो । अहिले शहरीकरणले गर्दा पानी सुकेको छ । पोखरीको दक्षिणपश्चिम कुनामा राजा प्रताप मल्ल, छोराहरू हात्ती चढेको ठूलो मूर्ति राखिएको छ । 

अहिले ठूल्ठूला भ्यु टावर बनाएजस्तै उतिबेला मान्छेले नुहाइधुवाई पनि गरुन्, पितृलाई तर्पण पनि दिउन्, अरु धार्मिक कार्य पनि गरुन् भनेर मुख्यतः दिवंगत माइला छोराको सम्झनामा पोखरी निर्माण भएको हो । पोखरी बनेको यही खुशीमा त्यो शालिक बनाइएको हुनसक्ने तर त्यसको किंवदन्ती नरहेको इतिहासविद् पन्तले बताए । 
रानीपोखरी बनेपछि नेपालमा धेरै पटक भूकम्प गए । नेपालमा प्रत्येक एक सय वर्षमा भूकम्प गएको इतिहास छ । तर, पोखरी र मन्दिर निर्माणपछि अहिलेसम्म कतिपटक पुनर्निर्माण गरियो भन्ने जानकारी भने आफूहरूसँग नभएको पनि इतिहासविद् पन्तले बताए । उनले भने, ‘१८९० सालको ठूलो भूकम्पमा अलिकति क्षति पुगेको थियो । त्यसको एक सय वर्षपछि १९९० सालको ठूलो भूकम्पमा मन्दिर नै पुनर्निर्माण गरेको उनले बताए ।

पुरानो टेन्डर नतोड्दा ढिलाइ

बालगोपालेश्वर मन्दिर, पोखरीको भित्ता, बगैँचाजस्ता पोखरीका संरचना बनाउन टेण्डर नै आह्वान गरिएको छैन । पहिले रानी पोखरी निर्माणको जिम्मा पाएको पहिलेको कम्पनीले विधिवत ठेक्का नतोडेकाले टेण्डर आह्वान गर्न अप्ठेरो परेको छ । 

प्राधिकरणका सदस्य डा चन्द्रबहादुर श्रेष्ठले भने, ‘यसका लागि सरोकारवालाहरूसँग छलफल गर्नै बाँकी छ । चाँडै गर्छौँ ।’ टेण्डर नै नगरेकाले कसले बनाउने र कति खर्च लाग्ला भन्नेमा पनि अन्योल छ । 

महानगरपालिकाले आधुनिक निर्माण सामग्री सिमेन्ट प्रयोग गरेपछि पुरातत्व विभागले आपत्ति जनायो । पुरानो सम्पदा नष्ट हुने गरी काम गर्न नपाइने विभागले अडान राख्यो । रानीपोखरीको बीचमा रहेको मन्दिर पुनर्निर्माणमा कस्ता सामग्री प्रयोग गर्ने, पोखरीको क्षेत्रफल बढाउने कि नबढाउने, पोखरीमा पानी अड्याउन के गर्ने भन्नेमा काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच विवाद भयो । गत वर्ष रानीपोखरी निर्माणको काम रोकिएको थियो । मन्दिर शिखर शैली वा गुम्बज शैली– कुन शैलीमा निर्माण गर्नेे भन्नेमा पनि विवाद भयो । 

महानगर र पुरातत्व दुबै पक्षले अडान नछाडेपछि मन्त्रिपरिषद् बैठकले रानीपोखरी निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको हो । 

मन्दिर शिखरशैलीमा

रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर शिखरशैलीमा निर्माण हुनेभएको छ । शिखर शैली कि गुम्बज शैलीमा निर्माण गर्ने भन्नेमा लामो समयदेखि विवाद थियो । अन्ततः शिखरशैलीमै मिन्दर बनाउने तय भएको हो । 

मन्दिरको जग पुरानै हुने र शैली पनि साढे तीन सय वर्षपहिले राजा प्रताप मल्ल पालाको मल्लकालीन शैलीमै निर्माण गर्ने तय भएको छ । सुरूमा शिखर शैलीबाट नै निर्माण गरिएको थियो । १९९० सालको भूकम्पले मन्दिर भत्काएपछि गुम्बज शैलीबाट मन्दिर निर्माण गरेका थिए । श्रेष्ठले भने, ‘अहिले जग पुरानै हुन्छ । जुन जगमा राणाकालीन गुम्बज शैलीको मन्दिर पनि अडियो । र, अब त्यही जगमा अहिले फेरि शिखरशैलीमा मन्दिर निर्माण हुन्छ ।’

मल्लकालीन शिखरशैलीबाट निर्माण गरिने प्रताप मल्लको पालामा निर्माण गरिएको मन्दिरसुरूमा शिखर शैलीबाट नै निर्माण गरिएको थियो । १९९० सालको भुकम्पले मन्दिर भत्कादा त्यसपछि राणाहरूले राणाकालिन गुम्बजशैलीबाट रानीपोखरी निर्माण गरेका थिए । अब बन्ने रानीपोखरीको संरचना ०७२ सालअघिको भन्दा नयाँ देखिने छ । 

ढिला हुँदा स्थानीय दिक्क

असनका विष्णु स्थापितले अहिलेसम्म रानी पोखरी निर्माण नहुँदा काठमाडौंको शोभा घटेको बताए । उनले भने, ‘यो पोखरी हेरेर हुर्केको । अहिलेको रानी पोखरी देख्दा देशमा सरकार छ कि छैन जस्तो लाग्छ । रानीपोखरीको यस्तो हालत देख्दा दुःख लागेको छ ।’

पहिले पर्यटकको भिड लाग्ने रानीपोखरीको गेटमा अहिले दुर्गन्धित छ । उनले भने, ‘मरेका कुकुरहरू फालिएका छन् । दिसापिसाब उत्तिकै छ । बाटो हिँड्दा पनि नाक छोपेर हिँड्नुपर्छ ।

भक्तपुरकी लक्ष्मी श्रेष्ठ भाइटीकाको दिन सधैँ बालगोपालेश्वर मन्दिरमा आउँथिन् । उनी ०७२ सालदेखि अहिलेसम्म भाइटीकामा पनि आइनन् । समयमै मन्दिर निर्माण नहुँदा आफूजस्तै थुप्रै दिदीभाइ नहुनेहरूले मन्दिरमा पुजा गर्न नपाएको उनले बताइन् । उनले भनिन्, ‘रानीपोखरी हेर्नकै लागि भए पनि काठमाडौं आउथ्यौँ । यत्तिका वर्षसम्म पनि रानीपोखरी निर्माण नहुँदा हेर्दैमा नराम्रो लाग्छ ।’

पोखरी भर्ने पानीको स्रोत के ? 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीमा पानी जम्मा गर्न तीन किसिमको उपाय अघि सारेको छ । पोखरी निर्माणको काम सकिएलगत्तै छेउमा बोरिङ गाडेर पानी जम्मा गरिनेछ । 

वर्षाको पानी कसरी जम्मा पार्न सकिन्छ भन्नेबारे पनि छलफल चलिरहेको छ । अर्को उपाय यसबीचमा मेलम्चीको पानी काठमाडौं आयो भने त केही समयको लागि त्यो पानी पोखरीमा हाल्ने व्यवस्था मिलाउन पनि सकिन्छ कि भनेर छलफल चलिरहेको छ । 
 

प्रकाशित मिति: १०:१९ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्