काठमाडौंको डान्स बारदेखि स्वीडेनको जुरीसम्म
काठमाडौं – उनले १३ वर्षकै उमेरमा काठमाडौंका डान्स बारमा नाँचिन्। शारीरिक थकान र मानसिक पीडा भुल्न लागू औषध सेवन गरिन्।
....काठमाडौं – उनले १३ वर्षकै उमेरमा काठमाडौंका डान्स बारमा नाँचिन्। शारीरिक थकान र मानसिक पीडा भुल्न लागू औषध सेवन गरिन्।
पढाई छुट्यो। परिवार टुट्यो। अञ्जान घरमा दासी जीवन बिताइन्। भारतको कोठीमा झण्डै बेचिइन्।
अहिले उनी फेरि स्कूल जान थालेकी छिन्। गाउँ–गाउँ गई चेलीबेटी बेचबिखनविरुद्ध अभियान चलाउँछिन्।
स्वीडेनकी रानी सिल्भिया र नोबल पुरस्कार विजेता मालाला युसुफजईद्वारा संरक्षित वल्ड चिल्ड्रेन प्राइजकी जुरी सदस्य पनि बनेकी छिन्।
यो १७ वर्षीया नीता केसीको संघर्ष र साहसको कथा हो, जसले उनीजस्तै शोषण र अन्यायमा परेका विश्वभरका बालिकाहरूलाई हार नमान्ने हिम्मत दिन्छ।
बेचबिखनविरुद्धकी अभियन्ता
‘नमस्ते, मेरो नाम नीता केसी हो। म अहिले ८ कक्षामा पढ्छु। म पढाईमा अलि ढिलो भएँ। किनकि, मैले बीचमा केही वर्ष स्कूल जान पाइनँ।’
नीता केसी अहिले विभिन्न विद्यालय गई किशोरीहरूलाई आफ्नो कथा सुनाउँछिन्। उनी कसरी दलालको चङ्गुलमा परिन्? त्यसपछि कस्तो सास्ती र शोषण भोगिन्? त्यो नरक–तुल्य संसारबाट कसरी उम्किइन्? उनी केही लुकाउँदिनन्।
उनी आफ्नो सपना पनि बाँड्छिन् – यस्तो संसार सिर्जना गर्ने, जहाँ हरेक बालिकाले स्कूल जाने अवसर पाऊन्, कोही नबेचिऊन्, कोही यौन दुर्व्यवहारमा नपरुन् र कसैले कहिल्यै त्रासमा बाँच्न नपरोस्!
के यो सपना पूरा हुन्छ? उनी आफूजस्तै किशोरी–विद्यार्थीहरूलाई प्रश्न गर्छिन् र आफैं उत्तर दिन्छिन् – पूरा हुन्छ, तर त्यसका लागि तपाईं–हामी सचेत हुनुपर्यो।
उनी किशोरीहरूलाई अपरिचित मानिसको प्रलोभनमा नपर्न, तिनले दिएका खानेकुरा नखान र परिवार वा शिक्षक–शिक्षिकालाई नबताई उनीहरूको साथमा कतै नजान सचेत पार्छिन्। उनले अहिलेसम्म काठमाडौं, काभ्रे, नुवाकोट र मकवानपुर जिल्लाका विभिन्न विद्यालय पुगेर आफ्नो अनुभव बाँडिसकेकी छिन्।
डान्स बार र नशा
नुवाकोटकी नीता केसी सानैमा टुहुरी भइन्। बा र आमा दुबैको मृत्यु भएपछि फुपूसँग बस्न थालिन्। फुपू अलि पछि काठमाडौं बसाइ सरिन्।
फुपूको डेरा नजिकै बस्ने अनिता लामासँग नीताको चिनजान भयो। अनिता डान्स बारमा काम गर्थिन्। दिनभरि घरै हुन्थिन्। साँझ परेपछि सिंगारपटार गरीवरी बाहिर निस्किन्थिन्।
अनिताको जीवनशैलीले नीतालाई लाेभ्यायो। एक दिन अनिताले नीतालाई आफूजस्तै डान्स बारमा नाँच्ने र पैसा कमाई आफ्नै व्यवसाय सुरु गर्ने सल्लाह दिइन्।
नीतालाई अनिताको सल्लाह ठीकै लाग्यो। तर, उनको आँत काँपिरहेको थियो। फुपूसँग बस्दाबस्दै डान्स बारमा नाँच्न र मध्यराति मात्रै घर फर्किन सम्भव पनि थिएन्। अनिताले नीतालाई बाटो देखाइन् – फुपूलाई छाडिदेऊ, हामी अन्त कतै डेरा खोजी बसौँ।
२०७१ सालमा नीता कमलपोखरीको ब्लू स्टार डान्स बारमा काम गर्न पुगिन्। उनी भन्छिन्, ‘त्यो डान्स बारमा जीउ नछोपिने वान पिस लुगा लगाएर डान्स गर्नु पर्थ्यो।’
तर, डान्स बारमा मध्य रातिसम्म नाच्दा पनि नीताको कमाई कुनै महिना पनि अनिताको जति भएन। उनले महिनामा ६ हजार रुपैयाँ मात्रै पाउँथिन्। त्यो पैसाले घरभाडा तिर्न पनि मुश्किल पर्ने।
आफूजस्तै पैसा कमाउने भए ग्राहकलाई खुशी पार्नुपर्ने सल्लाह अनिताले नीतालाई दिइन्। नीता त्यसका लागि तयार थिइनन्। त्यसपछि अनिताले नीतालाई डेन्ड्राइट सुँघाउन थालिन्। नमान्दा कुटाई समेत खाइनन्।
अलि पछि नीतालाई डेन्ड्राइटबिना निद्रै नपर्ने भयो। डेन्ड्राइडकै सुरमा नाँच्थिन्। डान्स बार बन्द भएपछि उनलाई अनिताले नै गाडीमा राखेर घर पुर्याउँथिन्।
नीता भन्छिन्, ‘नशामा म के गर्थेँ, केही होश हुन्नथ्यो।’
अञ्जान घरमा दासी
त्यो डान्स बारमा काम गर्दागर्दै उनको चिनजान सुरेश मग्रातीसँग भयो। सुरेशकी श्रीमती पनि त्यही डान्स बारमा काम गर्थिन्। सुरेशले उनलाई अर्की एक महिलाको सम्पर्कमा पुर्याए। ती महिला आफूलाई रञ्जना नाउँले चिनाउँथिन्।
रञ्जनाले अनितालाई कोटेश्वरको एउटा घरमा खाना बनाउने, लुगा धुने र अन्य सरसफाई गर्ने काम गर्ने हो भनी सोधिन्। नीताले हुन्न भन्ने कारणै थिएन। डान्स बारमा रक्सीले मातेका पुरुषहरूका अगाडि छोटा लुगा लाएर नाँच्नु भन्दा त घरेलु कामदार भई काम गर्नु धेरै राम्रो हुने उनको सोचाई थियो।
तर, त्यो घरमा अरु कोही थिएन। एक वृद्ध पुरुषमात्रै बस्थे, जसकी श्रीमती बितिसकेकी थिइन्। छोरा–बुहारी पनि विदेश बस्थे। त्यो घरमा उनले सुरक्षित महशुस गरिनन्। तर, रञ्जनाले उनलाई अनेकौ प्रलोभन देखाइन्।
नीता भन्छिन्, ‘एक मनले सोचेँ – जहाँ गए पनि बाँच्न त परिहाल्यो, पैसा कमाउनु परिहाल्यो।’
तर, त्यो घर नरकतुल्य थियो। त्यहाँ उनले दासी झैं जीवन बिताइन्। अनेक हिंसा भोगिन्। उनको शरीर कमजोर हुन थाल्यो। उनी त्यहाँबाट भागेर फुपूको घर फर्किन चाहन्थिन्। तर, फुपूले उनका लागि आफ्नो घरको ढोका बन्द गरिसकेकी थिइन्।
भारत यात्रा
त्यो घरमा निस्सासिँदो जीवन बाँचिरहेकी बेला सुरेश मग्राती फेरि उनको सम्पर्कमा आए। सुरेशले उनलाई धनगढीमा अझ ठूला डान्स बारहरू रहेका र त्यहाँ गई नाँचे झन् धेरै पैसा कमाउन सकिने प्रलोभन देखाए।
नीतालाई सुरेशको विश्वास भएन। सुरेशले उनलाई अरु परिचित डान्सरहरू पनि धनगढी जान लागेको बताए। त्यसपछि उनी विश्वस्त भइन्।
सुरेशले आफू, नीता र अन्य तीन जना डान्सर गरी पाँच जनाका लागि धनगढी जाने बसको टिकट काटे। सुरेशले सबैलाई सिकाए – बाटोमा प्रहरीले केरकार गर्यो भने हामी दिदीको बिहेमा जान लागेको भन्नू, प्रहरीले ठेगाना सोधे धनगढीको विशालनगर हो भन्दिनू।
२०७१ साल पुस २६ गते उनीहरू धनगढी हिँडे। नागढुङ्गा पुगेपछि माइती नेपालका कर्मचारी र प्रहरीले केरकार गर्न थाले। तर, सुरेशले सिकाए झैं नीताले ढाँट्न सकिनन्। प्रहरीलाई शङ्का लाग्यो। पाँचै जनालाई गाडीबाट तल झारे। तर, सुरेश भूइँमा झर्नेबित्तिकै भागिहाले। खेदाउँदा पनि भेटिएनन्। सुरेश भागेपछि नीताले साँचो कुरा भनिन्।
प्रहरीले नीतालगायतलाई भन्यो – त्यो दलालले तिमीहरूलाई धनगढी होइन, भारत लगेर बेच्न लागेको हुनुपर्छ।
अलि पछि प्रहरीले सुरेशलाई समात्यो। उनले स्वीकारे – हो, नीतालाई भारत नै लगिँदै थियो।
सुरेश अहिले मानव बेचबिखन र मानव ओसारपसारको अपराध गरेको अभियोगमा १० वर्षे जेल सजाय भोग्दैछन्।
नीतालाई फुपूले स्वीकारिनन्। उनलाई माइती नेपालकै पुनर्स्थापना गृहमा राखियो। उनीसँगै उद्धार गरिएका अन्य तीन किशोरीलाई भने घरै पठाइयो।
सुरुमा नीता निकै विक्षिप्त अवस्थामा थिइन्। कोहीसँग बोल्न मान्दिन थिइन्। माइती नेपालका मनोवैज्ञानिक परामर्शदाताहरूले काउन्सिलिङ गरेपछि बल्ल उनी बोल्न थालिन्।
अहिले उनी माइती नेपालमै बसेर पढिरहेकी छिन्। विद्यालय पोशाक लगाएर, चुल्ठो बाटेर र झोला भिरेर स्कूल जान पाउँदा निकै खुशी लाग्ने गरेको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘मैले दोस्रो जीवन पाएँ। सबैले यस्तो अवसर पाउँदैनन्।’
स्वीडेन यात्रा
स्वीडेनमा सक्रिय वल्ड चिल्ड्रेन प्राइज फाउण्डेशनले बालअधिकार संरक्षणमा टेवा पुर्याउने व्यक्ति र संस्थाहरूलाई विश्व बाल पुरस्कारले सम्मान गर्दै आएको छ। माइती नेपालकै संस्थापक अनुराधा कोइराला, अर्की नेपाली समाजसेवी इन्दिरा राना मगर, भारतमा बचपन बचाउ आन्दोलनका कारण नोबल पुरस्कार जितेका कैलाश सत्यार्थी, पाकिस्तानकी मालाला युसुफजई र रुम टु रिडका संस्थापक जोन वुडलगायतले यो पुरस्कार पाइसकेका छन्।
यो पुरस्कारका लागि यस वर्ष भारत, बुरुण्डी र हैटीबाट तीन बालअधिकार अभियन्ता मनोनित भएका छन्। यो वर्ष पुरस्कार पाउने अभियन्ता छान्न वल्ड चिल्ड्रेन प्राइजसँग जोडिएका नेपाललगायत विश्वभरका विद्यालयमा मतदान पनि भइरहेको छ। मतदान वैशाख ३ गते सकिँदैछ।
यही पुरस्कारको जुरीमा छिन्, नीता केसी। यो जुरीमा ती बालअधिकारकर्मीहरू हुन्छन्, जसले आफ्नो भोगाई र संघर्षको आधारमा बालअधिकार विज्ञको मान्यता पाएका छन्। १८ वर्ष नपुगेसम्म उनी जुरीमा हुनेछिन्।
यो पुरस्कारबाट सम्मानित मालाला युसुफजई त अहिले यसकी संरक्षक पनि छन्। अन्य संरक्षकमा स्वीडेनकी रानी, प्रधानमन्त्री र दक्षिण अफ्रिकाका रङ्गभेदविरोधी र मानवअधिकारवादी डेस्मन्ड टुटु पनि छन्।