‘म मस्त मस्त चिज होइन’
फूलीजस्ता सशक्त भूमिकाले मात्र होइन, महिला हिंसाविरुद्ध प्रखर अभिव्यक्तिहरूले पनि ऋचा शर्मा बारम्बार समाचारमा छाउँछिन् ।
यस अन्तर्र....

फूलीजस्ता सशक्त भूमिकाले मात्र होइन, महिला हिंसाविरुद्ध प्रखर अभिव्यक्तिहरूले पनि ऋचा शर्मा बारम्बार समाचारमा छाउँछिन् ।
यस अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौं प्रेसले अभिनेत्री शर्मासँग यौन दुर्व्यवहार, लैङ्गिक विभेद र चलचित्रमा नारीको चित्रणजस्ता विषयमा अन्तर्वार्ता गरेको छ ।
तपाईंलाई यो समाज पितृसत्तात्मक छ भन्ने महशुस पहिलोचोटि कहिले भयो ?
मेरा बा–आमाले छोरा र छोरीमा कहिल्यै विभेद गर्नुभएन । दाइलाई जस्तो व्यवहार गर्नुभयो, हामी चार दिदी–बहिनीलाई पनि त्यस्तै व्यवहार गर्नुभयो ।
तर, जब मेरो महिनावारी सुरु भयो र शारीरिक बनौट बद्लिन थाल्यो, तब मलाई महशुस हुन थाल्यो – म त छोरी पो हुँ ! मेरी जेठी दिजुको विवाह हुँदा माइली दिजुको महिनावारी चलिरहेको थियो । उहाँले विवाहका कुनै पनि कार्यक्रममा भाग लिन पाउनुभएन । त्यसबेला लाग्यो – आफ्नै परम्परा र सँस्कृतिले हामी महिलाहरूलाई कति कुरामा बञ्चित गर्दो रहेछ !
कसैले एकदमै घुरेर हेर्छ, स्तनमा आँखा गाड्छ र फोहोरी कुरा गर्छ
महिलाले परिवार, समाज र कार्यक्षेत्र जताततै यौन दुर्व्यवहार भोग्ने गरेका छन् । तपाईंको व्यक्तिगत अनुभव कस्तो छ ?
मलाई कसैले शारीरिक रुपमै त यौन दुर्व्यवहार गरेका छैनन् तर दुर्व्यवहार धेरै प्रकारका हुन्छन् । कसैले भन्न सक्छ – तिमी कति राम्री ! कफी खान जाऊँ न ! मेरो बुझाइमा यो दुर्व्यवहार होइन । तर, कसैले तपाईंलाई तपाईंको इच्छाबेगर र तपाईंलाई अप्ठेरो महशुस हुने गरी छुने–सुम्सुम्याउने खालका क्रियाकलाप गर्छ भने त्यो दुर्व्यवहार हो । यस्तो स्थिति मैले पनि भोगेको छु ।
कहिलेकाहीँ सम पिपुल जस्ट स्टेयर एट यू, अर लुक एट योर बुब्स एण्ड टक डर्टी (कसैले एकदमै घुरेर हेर्छ, स्तनमा आँखा गाड्छ र फोहोरी कुरा गर्छ) । त्यस्ता मान्छेलाई म सिधै भन्दिन्छु – मेरो अनुहार यता छ, मेरो आँखामा हेरेर बोल । त्यस्ता मान्छेलाई त्यही बेला त्यसरी भन्दिन सक्यौं भने उसलाई जिन्दगीभरि लाज हुन्छ । त्यस बेला त्यो आँट जुटाउन सकिएन भने चाहिँ हामी आफैलाई ग्लानि भइरहन्छ ।
.jpg)
#MeToo आन्दोलनको बलमा आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्ने कतिपय महिलालाई चर्चामा आउन मात्रै यस्तो हतकण्डा अपनाएको आरोप लागेको छ । तपाईं के भन्नुहुन्छ ?
धेरै महिलाले आफैले सहेका दुर्व्यवहारविरुद्ध त बोल्ने साहस जुटाउँदैनन्, भोग्दै नभोगका दुर्व्यवहारबारे कसरी जथाभावी बोल्लान् र ?
महिला चरित्र–चित्रणको सवालमा के नेपाली चलचित्र क्षेत्र बद्लिँदै गएको हो ?
हो । अहिले चलचित्र क्षेत्रमा महिलालाई उमेरको कुनै रोकटोक छैन । अचेल कसैले भन्दैन – ए, तिमी त ३५ पुगिसक्यौ नि ! अब तिमीलाई लिड रोल सुहाउँदैन ! तिमीले त अब आमाको भूमिका निर्वाह गर्नुपर्छ ।
तर, कतिपय चलचित्रमा अझै पनि हिरोइनहरूलाई ग्ल्यामरका लागि मात्रै राखिन्छन् नि !
हो, त्यो ट्रेन्ड अझै छ र कतिपय हिरोइनहरू आफै पनि राम्री देखिनमै बढी ध्यान दिन्छन् । तर मलाई चाहिँ सधैं कालजयी भूमिकामा देखिन मन हुन्छ । हामी अहिले पनि गौरी मल्ललाई सम्झिन्छौँ । मिथिला दिदीलाई सम्झिन्छौँ । मौसमी दिदीहरूलाई सम्झिन्छौँ । अरु हिरोइन कति आए कति गए कसैलाई यादै छैन । मलाई पनि उहाँहरूलाई झै अरुले पछिसम्म सम्झियोस जस्तो लाग्छ ।
.jpg)
चलचित्रमा महिलालाई किन यौन–बस्तु (सेक्सुअल अब्जेक्ट) काे रुपमा देखाइन्छ ?
किनकि, समाज पुरुष प्रधान छ र यहाँ मानिसहरू महिलालाई सेक्सुअल अब्जेक्टको रुपमा लिएर मज्जा मान्छन् । यसैले, चलचित्रको पर्दामा हामी अब्जेक्टिफाइड (वस्तुकृत) हुन्छौँ । तर, यस विरुद्ध हामी महिला आफैले स्ट्यान्ड लिनु पर्छ । यो समस्या हामीकहाँ मात्र होइन, हलिउडमा पनि छ । बलिउडमा त अझ आइटम गीत नै छ नि – तु चिज बडी हे मस्त मस्त । हामी महिला पनि मान्छे हौँ, मस्त मस्त चिज होइनौँ ।
हिरोइनलाई हिरोलाई भन्दा कम पारिश्रमिक दिइनुलाई कसरी हेर्नुहुन्छ ?
यस्तो लैङ्गिक असमानता चलचित्र क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा छ । हिरो र हिरोइन दुबै उत्तिकै खट्छन् । दुबैलाई उत्तिकै मानसिक तनाव हुन्छ । तर, हिरोलाई बढी दिइन्छ, हिरोइनलाई कम । यो दुःखद छ । तर, कति फिल्मबाट हिरोले भन्दा हिरोइनले बढी पारिश्रमिक पाइरहेका पनि छन् ।
जसरी बलात्कृत महिलाका परिवारहरू दिनदिनै बाँचेर पनि मरिरहन्छन्, त्यसरी नै बलात्कारीहरू पनि दिनदिनै मृत्युको भयमा बाँचिरहून्
काठमाडौंको सार्वजनिक यातायातमा महिलाले भोग्ने यौन दुर्व्यवहारबारे के भन्नुहुन्छ ?
म खुशी छु – अचेल यो मुद्दामा खुलेर छलफल हुन थालेको छ । म सबैलाई भन्न चाहन्छु – सार्वजनिक यातायातमा यौन हिंसा भए त्यसविरुद्ध तत्काल आवाज उठाउनुहोस् । यो अन्याय विरुद्धको लडाइँ हरेक महिलाले आफूबाटै सुरु गर्नुपर्छ । हो, आवाज उठाउँदा न्याय पाइहालिन्छ भन्ने छैन । तर, त्यसो भन्दैमा मौन रहनु चाहिँ हुन्न ।
.jpg)
निर्मला पन्त बलात्कार तथा हत्याअघि पनि र त्यसपछि त झन् प्रखर रुपमा कतिपयले बलात्कारीलाई फाँसी हुनुपर्ने माग गरेका छन् । तर, विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार सन्धिमा हस्ताक्षर गर्ने राज्य भएको नाताले नेपालले बलात्कारीलाई फाँसीको सजाय दिन सक्दैन । यस विषयमा तपाईं के भन्नुहुन्छ ?
हो, नेपालमा फाँसीको सजाय छैन । तर, बलात्कार सबैभन्दा घिनलाग्दो अपराध हो । म चाहन्छु – जसरी बलात्कृत महिलाका परिवारहरू दिनदिनै बाँचेर पनि मरिरहन्छन्, त्यसरी नै बलात्कारीहरू पनि दिनदिनै मृत्युको भयमा बाँचिरहून् । उनीहरूलाई दिनदिनै आजै र अहिले नै मारिन्छु भन्ने त्रास भइरहोस् ।












-(7)-1765197040.jpg)