पाँच वर्षमा सहकारीको संख्या ५० प्रतिशतले घटाउँछौं: मन्त्री अर्याल
काठमाडाैं, चैत १९: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अहिले भएका सहकारी संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताएकी छि....

काठमाडाैं, चैत १९: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अहिले भएका सहकारी संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताएकी छिन्।
मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताएकी हुन्। 'अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अघि बढेको छ', उनले भनिन्। मन्त्रालयले सहकारीको मर्जर अभियान नियमावलीमा उल्लेख गरेर थालनी गरेको भन्दै उनले सहकारीहरू मर्जर नभएमा सञ्चालन हुन नसक्ने बताइन्।
सहकारी अब अझ बढी गाउँ केन्द्रित हुनुपर्ने भन्दै उनले सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँ केन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने बताइन्। उनले सहकारी संस्थाको संख्या धेरै हुँदा गुणस्तरियतामा कमी आएको समेत बताइन्। केही २/४ संस्थाबाट भएको बदामीका कारण सहकारीमाथि प्रश्नचिह्न खडा भएको बताउँदै मन्त्री अर्यालले अब सहकारीलाई यस्ता कुराबाट टाढा राखेर समृद्धिको अभियानसँग जोड्नुपर्ने बताइन्।
'एक सहकारी एक गाउँ भनेर सहकारीलाई समृद्धिको अभियानसँग जोड्नुपर्छ,'उनले भनिन्। मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै उनले यसलाई काठमाडौं आसपास हुँदै देशैभर विस्तार गरिने बताइन्।










-1754206481.jpg)