Kathmandu Press

दश वर्षमा ६० हजार नेपाली कामदार पुगे कोरिया

काठमाडौं, चैत १९ : आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या १० वर्षमा झन्डै ६० हजार पुगेको छ । आम्दानी र तलबका हिसावले पन....

दश वर्षमा ६० हजार नेपाली कामदार पुगे कोरिया
काठमाडौं प्रेस

काठमाडौं, चैत १९ : आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या १० वर्षमा झन्डै ६० हजार पुगेको छ । आम्दानी र तलबका हिसावले पनि खाडी मुलुकको तुलनामा कोरिया राम्रो भएकाले नेपाली कामदारको आकर्षण बढेको हो।

कोरियाको मुख्य आर्कषण भनेको म्यानपावर कम्पनीको झन्झटबाट मुक्ती पनि हो । जहाँ सिधै सरकारी कोटामा जान पाइन्छ । हालसम्म विभिन्न क्षेत्रमा रोजगारीका लागि ५९ हजार ६ सय ९८ नेपाली कामदार कोरिया गएका छन्।

कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेको थियो । त्यसयता प्रत्येक वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुनेको संख्या पनि बढ्दै गएको छ।

Hardik ivf

कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन, कृषि र पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । यस पटकको भाषा परीक्षाका लागि मागभन्दा झण्डै नौ गुणा बढी आवेदन परेको वैदेशिक रोजगार विभागअन्तर्गत कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुन ९२ हजार तीन सय ७६ जनाले आवेदन दिएका छन्।

उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार चार सय ८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार आठ सय ८९ ले आवेदन दिएको भण्डारीले बताए।

सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार दुई सय ६४ ले आवेदन दिएका थिए । त्यस्तै सन् २०१७ मा ६८ हजार तीन सय ८३ र सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए।

सन् २०१५ मा ५१ हजार एक सय ३७, सन् २०१४ मा ५८ हजार सात सय ४६, सन् २०१३ मा ४४ हजार एक सय २२ ले कोरियन भाषा परीक्षामा सहभागी थिए।

सन् २०११ मा ५० हजार ४३, सन् २०१० मा ३६ हजार तीन सय दुई र पहिलो पटक सन् २००८ मा ३१ हजार पाँच सय २५ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको इपिएस कार्यालयको तथ्यांक छ।

दुवै देशका सरकारबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नेपाली दक्षिण कोरिया जाँदै आएका छन् । कामदार कोरिया पठाउने सम्बन्धमा मेनपावर व्यवसायीको कुनै संलग्नता स्वीकार नगरिएकाले नेपाली कामदार ठगिनेदेखि भनेअनुसारको काम र पारिश्रमिक नपाउने अवस्था छैन।

कामदारले आफूले फाराम भर्दाकै क्रममा उल्लेख गरेका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने कोरिया सरकारले तोकेको श्रमिकका न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन्।

एक दशकको अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार नौ सय ९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार सात सय नौ नेपालीले रोजगारीको अवसर प्राप्त गरेको निर्देशक कृष्णप्रसाद खनालले बताए।

‘सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चितालगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको हो,’ खनालले भने । इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कामको अवसर पाउनेछन्।

भाषा परीक्षा आगामी जेठमा

भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुने जनाएको छ।

भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुनेछ । त्यसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० प्रश्न हुनेछन् । दुवैमा २५/२५ गरी ५० मिनेटको परीक्षा हुनेछ।

भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ११० अंकको हुनेछ।

 

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्