११५० को अवरोधबाट नेप्से केही सच्चियो, अब के होला?
काठमाडौं, चैत १७: लगातार चार कारोबार दिनदेखि वृद्धि भएको बजारमा आज भने ‘ब्रेक’ लागेको छ। आज साताको पहिलो कारोबार दिन नेप्से परि....
काठमाडौं, चैत १७: लगातार चार कारोबार दिनदेखि वृद्धि भएको बजारमा आज भने ‘ब्रेक’ लागेको छ। आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ० दशमलव ९१ ले घट्दै ११४३ दशमलव ५९ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचक ० दशमलव ०८ प्रतिशतले घटेकोे छ।
आज बजार ११४४ दशमलव ५३ को विन्दुमा खुलेको थियो भने ११४९ दशमलव ८१ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु ११३९ दशमलव ५१ थियो। आज दिनभरमा २६ करोड ६६ लाख बराबरको शेयर किनबेच भएको छ।
प्राथमिक बजार गतिविधि
–चैत १७ गतेसम्म निष्काशन गरिएको सम्पूर्ण शेयरमा आवेदन नपरेपछि युनियन हाइड्रो पावरको आइपीओमा आवेदन दिन मिल्ने समय थपिएको छ। अब बैशाख १२ गतेसम्म शेयर आवेदन दिन मिल्ने छ। तर, सो समयभित्र सम्पूर्ण कित्तामा आवेदन परेमा पूर्व सूचना दिएर आइपीओ बिक्री बन्द हुनेछ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन सकिने छ। लमजुङमा रहेको यस हाइड्रो पावरप्रति मेगावट लागत २६ करोड ५० लाख रुपैयाँ छ। इक्रा नेपालले गरेको ५ रेटिङ अनुसार यो कम्पनीको कमजोर आधार देखाउँंछ।
आजको बजारको अवस्था:
आज सर्वाधिक कारोबार हुने, कमाउने र गुमाउने:
आज सबैभन्दा धेरै बैंक अफ काठमाडौं लिमिटेडको शेयर किनबेच भएको छ। बैंक अफ काठमाडौंको २ करोड १२ लाख बराबरको शेयर किनेबेच भएको छ। आज अरुण काबेली पावर लिमिटेडका शेयरधनीले सर्वाधिक ४ दशमलव ५५ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ४९ प्रतिशत गुमाए।
नेप्सेमा आएको घोषणाहरु:
–नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले मार्जिन कारोबारका लागि योग्य ३१ कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। मार्जिन कारोबार सुविधा कार्यविधि २०७५ को दफा ८ मा तोकिएको व्यवस्था बमोजिम कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको, पछिल्ला २ आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभरि कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधायोग्य धितोपत्रको सो सूचीमा पर्ने छन्। सार्वजनिक सूचीमा ११ वाणिज्य बैंक, ६ वटा विकास बैंक, ९ वटा लघुवित्त, ३ वटा जलविद्युत कम्पनी, एउटा होटल र नेपाल टेलिकम परेका छन्।
–शिवम् सिमेन्टले वैशाख ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारणसभामा १५ दशमलव ७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लग्ने छ।
प्राविधिक विश्लेषण
चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम १७ चैत, २०७५ मा बजार ११४३.५९ अंकमा बन्द भएको छ। चार कारोबार दिनदेखि लगातार बढेको बजार आज अन्तिम कारोबार दिनभन्दा ०.९१ कम अंकमा बजार बन्द भएको छ।
अन्तिम दिनको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले बढी रहेको बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि विश्लेषण गर्नु पर्ने हुन्छ। आजको कारोबार परिमाण सामान्य नै देखिएको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, आजको कारोबारमा उताडचडाव कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्ती प्रयोग गरिएको छ। गत साता अन्तिम दिन, बिहीबारको दैनिक विश्लेषणको निष्कर्षमा यदि बजार ११४३ भन्दा माथि स्थिर रहेमा ११५० को अर्को तत्कालिन प्रतिरोध र ११४० क्षेत्रमा टेवा रहेको जनाइएको थियो। त्यही अनुरुप आजको कारोबारमा बजारले ११५० क्षेत्रको प्रतिरोधसम्म पुग्दा बिक्रेताको चाप रहेको र पुन ११४० को टेवा क्षेत्रमा क्रेताहरु पुन सक्रिय भई बजार केही अंकले बढेको देखिन्छ।
कारोबारको अन्तिम समयतिर ६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले बजार बढ्ने संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६२ दशमलव ५८ अंकमा रहेको छ। यसले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा बढी शेयर खरिद भइसकेको संकेत गरेको छ।
निष्कर्ष
माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने यदि बजार ११५० भन्दा माथि स्थिर रहन सकेमा नेप्से अझ केही सकारात्मक हुन सक्ने देखिएको छ र अर्को सामान्य प्रतिरोध क्षेत्र ११६५ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११४० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा ११३० देखि ११३५ को क्षेत्रमा देखिन्छ।