पलेँटीमा यसरी फेरिँए आभास
गोधुँलीमा हिँड्ने
एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो
आफैँ फेरिएछ....
संसार बदल्न हिड्दा आफै बद्लिएको मान्छेलाई गीतमार्फ....

गोधुँलीमा हिँड्ने
एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो
आफैँ फेरिएछ....
संसार बदल्न हिड्दा आफै बद्लिएको मान्छेलाई गीतमार्फत प्रतिबिम्बित गर्दै आएका आभास शुक्रबार साँझ भने आफै बद्लिए । पलेँटीको रंगीन साँझमा उनको बद्लिएको अनुहारले लोभ्याइरहेको थियो ।
‘यसपालीको पलेँटीमा म आफूले हिँडेको सांगीतिक गोरेटोको सम्झना गर्नेछु,’ सुरुआतमै उनी बोले । कालिकास्थानस्थित आर शालामा जम्मा भएका दर्शक–श्रोतामाझ स्टेजमा झुल्किएका आभासले थपे ‘अहिले नेवारी भाषाका महाकवि मानिने गिरिजाप्रसाद जोशी मेरा अंग्रेजीको गुरु हुनुहुन्थ्यो । जसको सामिप्यतामै मभित्र साहित्य र संगीतको विरुवा पलाएको थियो।’
उनी पलेँटीका संयोजक हुन् । यो डेढ दशक अघि सुरु भएको थियो । यहि पलेँटीमा शुक्रबार आभासले आफूलाई प्रस्तुत गरे।
मञ्जुलको शब्दमा रामेशले तयार पारेको गीत ‘कार्यशील जिन्दगी’ गाए लगत्तै उनले आफ्ना गुरु गिरिजालाई सम्झिए । गुरु गिरिजालले नै आफुमा सामाजिक चेतनाको बिउ भरिदिएको उनले बताए । कवि आभास थपे, ‘त्यसैले मलाई कालान्तरमा राल्फा र संकल्पका संघर्षशील संगीतसँग नजिक्यायो।’
त्यसपछि आभासले ‘संकल्प’ हुँदै ‘आस्था परिवार’सम्मको सहयात्राको चर्चा गरे । कार्यक्रममा मञ्जुल र रामेशको अगाध मित्रतादेखि उनीहरुको सम्वन्धमा आएको पहिरोसम्मका सन्दर्भ उल्लेख गरेका थिए।
शान्त साँझलाई चिर्दै उनले चन्द्र भण्डारीको शब्द र संगीतमा तयार भएको ‘भुइँ कुहिरो’ गाए।
संगीतकार अम्बर गुरुङले उनलाई ‘संगीत नै विपश्यना हो’ भनेका सुनाउँदै ‘गोधुँलीमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो, आफैँ फेरिएछ’ गीत गाउँदा उनको अनुहार पनि फेरिँएको भान हुन्थ्यो।
त्यसपछिको कालखण्डमा आभास अम्बर गुरुङसँग नजिकिन पुगेका थिए । ‘उहाँलाई संगीतसँगै जीवनशैली र चिन्तनको पनि गुरु मान्न थालेँ,’ आभासले भने, ‘त्यो बेला राजा महेन्द्रले निम्त्याएको प्रतिभाशाली संगीतकार भइकन पनि गुरुङले संघर्षमय जीवन बाँचेका थिए ।’ त्यो समयमै आभासले रचना गरेको अर्को गीत गाएर सुनाए,
‘आँसुले यो मन बहकिन्छ।’
अम्बर गुरुङलाई आभास आफ्नो संगीत सिकाउने गुरु मात्र नभइ जीवनलाई ढाडस दिने अभिभावक पनि मान्छन्।
कार्यक्रममा आभासले संगीत यात्राका क्रममा भेटिएका थुप्रै सर्जकहरूसँगका साथ र संगतको चर्चा गरेका थिए । गायक फत्तेमान साँझ आयोजना गर्ने क्रममा नेपालयसँग जोडिन पुगेको बताउँदै कवि विक्रम सुब्बाको रचनामा उनले तयार पारेको अर्को गीत सुनाए, ‘बतासले तलाउमा टेकिदेला कि!’
कवि तीर्थ श्रेष्ठ र बानिरा गिरीको रचनामा तयार पारेको ‘रातको सपना बाँकी हुन्न’ र ‘हिजोआज सँधै सँधै’ गाउँदा रात झमक्क परिसकेको थियो।
कार्यक्रमको अन्त्यमा पछिल्लो समय ४० वटा बाल गीतसमेत तयार पारेको खबर सुनाउँदै उनले गाए, ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ।’
केहि बालगीत सुनाएपछि उनले अन्तिम कोशेलीका रुपमा आफ्नै वाल्यकाल प्रभावित पुरानो लोकगीतको प्रारम्भिक लाइनलाई आधार बनाएर उनैले तयार पारेको चर्चित गीत सुनाए, ‘दुगुर दुगुर ए कुहिरा, तेरो घरमा चोर पस्यो।’
कार्यक्रममा आभासलाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए । जहाँ उनले आफैले संगीत भरेका १३ र सिर्जना गरेका चार वटा गीत प्रस्तुत गरे।
शुक्रबारबाट शुरु भएको आभाससँगको पलेँटी आइतबार सम्पन्न हुने छ । आज पनि उनले उहीँ शैलीमा पलेँटीलाई संगीतमय बनाउँने छन्।












