नयाँ वर्षमा भिड्दै ‘ए मेरो हजुर–३’ र ‘यात्रा’
काठमाडौं, चैत १५ : नयाँ वर्षको छेको पारेर आउन लागेका दुइै फिल्म ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ भिड्ने भएका छन् । यसलाई लिएर ....

काठमाडौं, चैत १५ : नयाँ वर्षको छेको पारेर आउन लागेका दुइै फिल्म ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ भिड्ने भएका छन् । यसलाई लिएर दुवै टिमबीच आरोप–प्रत्यारोप चलेको छ।
केही दिन अघि ‘ए मेरो हजुर–३’ ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्माता सुनिलकुमार थापाले ‘यात्रा’ टिमले रिलिज मिति भिडाएको आरोप लगाए। ‘सबैभन्दा अघि हामीले चैत २९ रोजेका थियौं,’ उनले भने।
आफूले नभइ यात्रा टिमले रिलिज मिति जुधाएको उनको भनाइ छ । एउटै मिति नराख्न ‘यात्रा’ टिमसँग अनुरोध गरेपनि नमानेको उनले बताए । ‘उल्टै मलाई मिति पछि सार पो भन्छन्,’ उनले भने।
‘यात्रा’का निर्देशक सम्राट शाक्यले काठमाडौं प्रेससँगको कुराकानीमा रिलिज मिति नभिडाएको बताए । औपचारिक रुपमा घोषणा गर्न एक–दुई दिन ढिला भएको बताए । ‘फेसबुकमा जानकारी दिएका थियौं । तर, औपचारिक रुपमा घोषण गर्न ए मेरो हजुर–३ टिम भन्दा केही दिन ढिला भयो,’ उनले भने।
उनले ‘यात्रा’को मिति दुई-तीन पटक ‘पोस्टपोन्ड’ गरेको भन्ने आरोप मात्रै भएको बताए । सुरुआतमै चैत २९ तोकेको उनको भनाइ छ । ‘एकैदिन दुई फिल्म आउँदा दुवैलाई घाटा त हुन्छ तर, दर्शकले यात्रालाई माया गर्नेमा आशावादी छु,’ शाक्यले भने।
अरु फिल्मभन्दा यात्रा फरक रहेको उनको दावी छ । दुवै फिल्मले नयाँ वर्षलाई लक्षित गरेकाले मिति जुध्न पुगेको शाक्यको भनाइ छ।
यो फिल्ममा सलिनमान बानिया, मलिका महत, जाह्नवी बस्नेत, रेयर राई, प्रेक्षा बर्जाचार्य, सलोन बस्नेतको अभिनय छ।
त्यस्तै, ‘ए मेरो हजुर–३’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पन थापा, रविन्द्र झा, सरोज खनाल, रियर राईको भूमिका रहेको छ।












