नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौं , चैत १५ : नेपाल लगानी सम्मेलन–२०१९ काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न ....
काठमाडौं , चैत १५ : नेपाल लगानी सम्मेलन–२०१९ काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
आज बिहान होटल सोल्टीमा सम्मेलन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले लगानीको वातावरण बनेको भन्दै विश्वभरका लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका हुन् । ‘हामी पूर्ण विश्वास दिलाउन चाहान्छौ, सुरक्षा र लगानीको प्रतिफलका हिसावले सुरक्षित छ । नयाँ वर्ष २०७६ सँगै हामी विश्वभरका लगानीकर्तालाई स्वागत गर्न आँतुर छौ,’ प्रधानमन्त्री ओलीले भने।
संसारभरका लगानीकर्ता आएकोमा खुशी भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘म हर्षित पनि छु, नेपाललाई माया र विश्वास गरेर यति धेरै लगानीकर्ता र शुभेच्छुक आउनु भएको छ,’ प्रधानमन्त्रीले भने, ‘हामीले ७७ वटा परियोजनाहरू सोकेसका रुपमा राखेका छौ । हाम्रो समृद्ध नेपाल सुखी नेपाली अभियान सफल पार्ने अभियान हो।’
लोकतान्त्रिक विधिबाट राजनीति स्थायित्व हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय लगानीकर्तालाई सहज हुनेगरी ऐन कानुनसमेत संसोधन गरेको बताए । ‘राजनीतिक हस्तान्तरणसँगै वैदेशिक लगानी गरेर देशको विकास गर्न चाहान्छौ हामी विकाशिल देश हुँदै विकसित मुलुक बन्न चाहान्छौ,’ प्रधानमन्त्री ओलीले भने, ‘दोहोरो अंकको आर्थिक बृद्दिको अभियानमा रहेका छौ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट धेरै लगानी भित्र्याउन चाहान्छौ । विश्वास दिलाउन चाहान्छौं, यहाँ लगानी कर्ताले प्रतिफल लैजान पाउने छन्।’
उनले कानुनमार्फत एकद्वार सेवा समेत शुरु गरेका उल्लेख गरे । ‘प्रक्रियागत झञ्झटलाई समेत अन्त्य गरेका छौ । अनलाइन सेवा मार्फत सेवा पनि दिने छौ,’ प्रधानमन्त्रीले भने, ‘ म विश्वास दिलाउन चाहान्छु, बौद्विक सम्मत्तिको अधिकार समेत नेपालले दिने छ ।’ त्यस्तै, ट्याक्स हेभनको व्यवस्था गरि आकर्षक करका दर घोषणा गरिने बताए।
रणनीतिक महत्वका सडकमार्ग, विशेष आर्थिक क्षेत्रको विकास गरेको उनको भनाइ थियो । नेपाल दुई ठूला देशको बीचमा रहेको उल्लेख गर्दै लगानीकर्ताको उत्पादनको बजारको समेत ग्यारेन्टी गरिने बताए । रेल, उर्जा, हवाई, पर्यटन, कृषिलगायतका क्षेत्रमा आकर्षक लगानीको ठाउँ रहेको उनको भनाइ थियो। डिजिटल ट्रयाकिङको शुरुआत गर्न लागेको बताउँदै सामान ढुवानीको झञ्झटबाट पनि मुक्त भइने उनको दावी थियो।
शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनमा ४० देशका ६ सय ३० विदेशीकर्ता सहभागी छन् । सरकारले ३० खर्बभन्दा बढि लगानी जुटाउनका लागि ७७ परियोजना ‘सोकेस’को रुपमा अगाडि सारेको छ । जसमा निजी क्षेत्रका २७ र सार्वजिनक ५० परियोजना मध्ये जुनसुकैमा लगानीकर्ताले लगानी गर्न सकिने समेत जनाएको छ।
शनिबारसम्म संचालन हुने सम्मेलनमा चीन, भारत, अमेरिका, बेलायत, युुरोपका विभिन्न देश तथा एसियाली देशहरूबाट लगानीकर्ता आएका छन् ।
दुई दिनमा १० वटा लगानीसम्बन्धी सेसन समेत संचालन हुँदै छन् । जसमा विभिन्न क्षेत्रका स्वदेशी तथा विदेशी विज्ञहरू सहभागी हुने छन् । उनिहरुले आ–आफ्नो अनुभवको साथै योजना र लक्ष्यमा समेत छलफल गर्ने छन्।