लगानी सम्मेलन: निजी क्षेत्रका २७ आकर्षक परियोजना
काठमाडौं, चैत १४ः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान होटल सोल्टीमा उद्घाटन गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले २७ वटा परियोजनामा लगान....

काठमाडौं, चैत १४ः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान होटल सोल्टीमा उद्घाटन गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले २७ वटा परियोजनामा लगानी आह्वान गर्ने तयारी गरेको छ ।
निजी क्षेत्रले तीन खर्ब ३४ अर्ब रुपैयाँ लागत पर्ने ऊर्जा, पर्यटन पूर्वाधार, रिसोर्ट, केबलकार लगायतका परियोजनामा लगानी जुटाउन प्रस्ताव तयार पारेको हो। निजी क्षेत्रका परियोजनामध्ये सबैभन्दा बढी लगानी बूढीगण्डकी जलविद्युत परियोजनाका लागि ५० अर्ब रुपैयाँभन्दा बढी रकम छ। त्यो चिनियाँ कम्पनी गेजुवाले पाएको जलाशययुक्त परियोजनाभन्दा अलग्गै अर्को परियोजना हो।
त्यस्तै, निजी क्षेत्रले मुक्तिनाथ दर्शन केबलकार परियोजनामा ४४ अर्ब लगानी आह्वान गर्नेछ। ऊर्जा क्षेत्रमा त्रिशूली–गल्छी जलविद्युत परियोजना, मध्य कालीगण्डकी जलविद्युत परियोजना, इन्गवा खोला जलविद्यत परियोजना, माथिल्लो चमेलिया जलविद्यत् परियोजना, म्याग्दी खोला जलविद्युत परियोजना, तल्लो बरुण खोला जलविद्युत परियोजना, कालीगण्डकी गोर्ज जलविद्युत परियोजना, माथिल्लो बलेफी जलविद्युत परियोजनालाई लगानी आह्वानको सूचीमा राखिएको छ।
स्वदेशी लगानीकर्ताहरूले विदेशी निजी लगानीकर्तासँगको सहकार्यमा विभिन्न परियोजनामा लगानी गर्न खोजेकाले परियोजना तयार पारिएको बताउँछन्–लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी। ‘स्वदेशी निजी क्षेत्रकै आग्रहमा २७ परियोजना तयार पारिएको छ, उहाँहरुले लगानी ल्याउन पहल गर्नुहुन्छ,’ सिइओ अधिकारीले भने।
त्यस्तै, माथिल्लो बलेफी ‘ए’ जलविद्युत परियोजना, नाम्लान खोला जलविद्युत परियोजना, तारप खोला जलविद्युत परियोजना, भोटेकोसी ५ जलविद्युत परियोजना, मर्स्याङ्दी ७ जलविद्युत् परियोजना, माथिल्लो दूधखोला जलविद्युत परियोजना, काबेली-३ जलविद्युत् परियोजना राखिएको छ। जसमध्येमा ऊर्जामा त्रिशूली–गल्छी जलविद्युत परियोजनामा पाँच अर्ब तीन करोडको लगानी आह्वान गरिँदै छ।
त्यस्तै, पर्यटन क्षेत्रमा पनि अर्बौंका परियोजना लगानी सम्मेलनका लागि तयार पारिएको छ। पर्यटन तथा पूर्वाधारमा जालपादेवी केबलकार तथा पर्यटन परियोजना राखिएको छ। अन्नपूर्ण सिक्लेस केबलकार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केबलकार तथा पर्यटन परियोजना रिसोर्ट, हिमालय बुटिक रिसोर्ट, हायात प्लालेस काठमाडौं, सिटी अफ ड्रिम्सम र मुक्तिनाथ दर्शन केबलकार परियोजना राखिएको छ।












-1764753058.png)