सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक
काठमाडौं, भदौ ८ : वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ। यही आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले ग्राहकलाई आईपीभी सिक्समा लै....

काठमाडौं, भदौ ८ : वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ। यही आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको हो। ग्राहक माझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो।
एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ। यो एउटा यस्तो संख्या हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस भनिन्छ। यो एड्रेस इन्टर्नेट असाइन नम्बर प्राधिकरण आइएनए नामक अमेरिकी संस्थाले सबै इन्टरनेट सेवा प्रदायकहरु लाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ। आईपी एड्रेसका दुई संस्करण हुन्छन्। एउटा आईपी भर्सन फोर हो भने अर्को आईपी भर्सन सिक्स हो।
सुरुको भर्सन आईपी भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु छन्। जसका कारण यसको कोटा २०११ को अप्रिल १५ मा नै समाप्त भएको थियो। पब्लिक भी फोरको अभावको समस्यालाई निराकरण गर्न अधिकांश इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एड्रेसिङको प्रयोगका लागि नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएटी) प्रविधिमा निर्भर छन्।
यो प्रोटोकलको पछिल्लो संस्करण भनेको आईपीभी सिक्स हो। आईपीभी सिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन्। जसले गर्दा विश्वमा भविष्यमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै रोउटेबल एड्रेस असाइन गर्ने क्षमता राख्छ। यसमा एनएटी प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस अली राम्रो हुन्छ।
हाल गूगल, फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकहरुले आईभी सिक्समा पनि सामग्री प्रदान गर्छन्। जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तासम्म पुर्याइरहेका हुन्छन्। हाल उपकरणको ईकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुने ब्राउजर एप्लिकेसनहरुले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन्।
वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन्। विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन्।










-1754206481.jpg)
