Kathmandu Press

विदेशमा अलपत्र नागरिकलाई ल्याएर होटलमा राखिने, प्रतिदिन दुई हजार पाँच सयदेखि नौ हजारसम्म तिर्नुपर्ने

काठमाडौं, भदौ ५ : सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जसअनुसा....

विदेशमा अलपत्र नागरिकलाई ल्याएर होटलमा राखिने, प्रतिदिन दुई हजार पाँच सयदेखि नौ हजारसम्म तिर्नुपर्ने

काठमाडौं, भदौ ५ : सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जसअनुसार, विदेशबाट आउने नेपालीले प्रतिदिन दुई हजार पाँच सयदेखि नौ हजारसम्म होटलको खर्च ब्यहोर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार पाँच बेड क्षमता रहेको छ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले कोरोनाको विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो।

त्यहि निर्णयका आधारमा पर्यटन विभागले क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौंलाई उपलब्ध गराएको थियो। तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रशासकीय अधिकृत रमा घिमिरेले बताइन्।

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नसक्ने क्षमता भएका होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सूचीकृत गरिएको बताए। “अहिले हामीले तीन हजार पाँच सय बेड भएका होटलहरुलाई तयारी अवस्थामा राखेका छौँ, चरणबद्ध रूपमा यो थपिन सक्छ,” उनले भने, “स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्न सम्भव भएका होटललाई सूचीकृत गरेको हौँ, सबै होटलमा त्यो सुविधा नहुन सक्छ।”

सकभर आइसोलेटेड क्षेत्रमा भएका, कम्पाउन्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, दूरी कायम गर्न सक्ने होटललाई सूचीकृत गरिएको उनले बताए। होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टाइन होटलको सूची सार्वजनिक गरिएको उनको भनाइ छ।

पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिनेछ।

विभागले क्वारेन्टाइनमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ। पाँच तारे होटलमा एकल नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति ६ हजार तोकिएको छ।

यस्तै चारतारे होटलमा एकल आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार पाँच सय, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको ६ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार, दुई तारेमा एकल पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति तीन हजार पाँच सय तोकिएको छ।

यसैगरि, एकतारेमा एकल चार हजार र दुई जना भएमा प्रतिव्यक्ति दुई हजार पाँच सय तथा पर्यटकस्तरको होटलमा एकल दुई हजार आठ सय र दुई जना भएमा प्रतिव्यक्ति एक हजार आठ सय शुल्क तोकिएको छ।

पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ। पर्यटकस्तरको होटलले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ। तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ।

सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ। त्यसरी विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तीमा पनि एक साता होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ।

कोभिड–१९ महामारीका बीचमा यही भदौ ३ गतेसम्म ५९ देशबाट करिब ५२ हजार नेपाली स्वदेश फर्किका छन्। (रासस)

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्