‘लगानी दीर्घकालीन प्रक्रिया हो, भोलि नै बैंकमा पैसा आउँदैन’
सरकारले चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। लगानी सम्मेलनका लागि सरकारले ७७ परियोजनामा लगानी आह्वान गर....

सरकारले चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। लगानी सम्मेलनका लागि सरकारले ७७ परियोजनामा लगानी आह्वान गर्ने तयारी गरिरहेको छ। सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी विदेशी लगानीकर्ताहरु सहभागी हुने लगानी बोर्डले जनाइसकेको छ।
सम्मेलनमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ताहरुले समेत सहभागिता जनाउने छन्। सबैको चासो नेपालमा लगानीको वातावरण बनेकै हो? भन्ने विषयमै छ। लगानीको वातावरणका विषयमा काठमाडाैं प्रेसले लगातार बहस गर्दै आएको छ। यसै सन्दर्भमा प्रस्तुत छ निजी क्षेत्रका तीन छाता संस्थाका नेतृत्वकर्ताहरुसँग गरिएको बहसको सारंशः
‘लगानी सम्मेलनलाई निजी क्षेत्रको साथ छ’
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सरकारले अहिले आयोजना गर्न लागेको लगानी सम्मेलन एकदमै सकारात्मक छ। विगत देखिनै हामीले पटक–पटक यस्ता कार्यक्रमहरु सरकारले छिटो छिटो आयोजना गरेमा लगानीको वातावरणलाई थप बल पुग्ने भएकाले दबाब पनि दिँदै आएका थियौं।
यसै सन्दर्भमा सरकारले ६ सय भन्दा बढी विदेशी लगानीकर्ताहरु नेपालमा ल्याएर सम्मेलनको आयोजना गर्न लागि परेको छ। यो कार्यक्रममा हामी निजी क्षेत्रको सम्पूर्ण सहयोग हुने छ। हामी आशावादी पनि छौँ। यो सम्मेलनले विदेशी लगानीकर्ताहरुको नेपाल आकर्षक गन्तव्यको रुपमा विकास गर्नेछ। सम्मेलनमा विदेशी लगानीकर्ता मात्रै सहभागी हुँदै छैनन्। हामी स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्ताबीच विभिन्न चरणमा छलफल समेत हुने छ। यसले लगानीको वातावरणलाई थप सहज बनाउने छ।
विगतमा उद्योग वाणिज्य महासंघको तर्फबाट विभिन्न सम्मेलनहरुमा भाग लिन जाँदा विदेशी लगानीकर्ताहरुले नेपालमा राजनीतिक वातावरण नै लगानीमैत्री नभएको आरोप लाग्ने गरेको थियो। तर, अब शक्तिशाली सरकारसँगै यी विषयहरु निवारण भएका छन्। ऊर्जा, मजदुरको समस्याहरु देखाउने गरेका थिए। अब ऊर्जाका समस्याहरु समाधान समेत भइरहेका छन्। यो सरकारको नारा नै आर्थिक समृद्धि रहेकाले समृद्धिको अभियानमा निजी क्षेत्रले साथ दिने छ। कति नीतिगत कुराहरु सम्बोधन भइसकेका छन्। कतिपय हुने चरणमा प्रवेश पनि गरेका छन्।
अर्को यो सरकारले गरेको एकद्वार सेवाको समेत सुरुवात गर्ने कुरा आएका छन्। यो विषयले पनि वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नेछ। समग्रमा लगानी सम्मेलन फलदायी र उपलब्धिमुलक हुनेमा सम्पूर्ण निजी क्षेत्र आशावादी छ।
‘विदेशी लगानीकर्ता सकारात्मक छन्’
राजेशकाजी श्रेष्ठ
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
सरकारले आह्वान गर्न लागेको लगानी सम्मेलनमा सरकार र निजी क्षेत्र एकताबद्ध भएर सफल बनाउन लागि परेका छन्। विगतमा राजदूतहरुले लगानीको वातावरणका विषयमा सकारात्मक कुराकानी गरिरहेकाले पनि लगानी सम्मेलन सफल हुनेमा हामी आशावादी छौँ। सरकारले ऐन कानूनको सुधारका विषयमा पनि कूटनीतिक नियोगले नजिकबाट हेरिरहेका छन्।
यो सकारात्मक प्रचार पनि भएको छ। त्यसैले पनि विदेशी लगानीकर्ताहरु आकर्षित हुनेछन्। ६ सय विदेशी लगानीकर्ता आउनु भनेको एकदमै सकारात्मक हो। विगतमा विदेशी ठूला लगानीकर्ताहरु राजनीतिक वातावरणका कारण पनि नेपालमा आएका थिएनन्।
तर, यसपटक स्थिरतामा विश्वास राखेकाले पनि लगानी सम्मेलन सफल हुनेछ। लगानी सम्मेलनको आह्वान हुनुभन्दा पहिले नै निजी क्षेत्रसँग सहकार्य हुँदा हामीले ऐन कानून र प्रशासनिक झन्झट अन्त्य नभएसम्म सम्भावना नरहेको भन्ने जवाफ दिएका थियौं। अहिले यो विषयमा धेरै सुधारका काम भएकाले पनि लगानी सम्मेलनप्रति विदेशी लगानीकर्ता सकारात्मक भएका छन्।
‘लगानी सम्मेलनले समृद्धिको ढोका खोल्छ’
हरिभक्त शर्मा
अध्यक्ष, नेपाल उद्योग परिसंघ
लगानी सम्मेलन सरकार मात्र होइन निजी क्षेत्रसमेत मिलेर आयोजना हुँदैछ। समृद्धिको ढोका खोल्ने अभियान स्वरुप सरकारले लगानी सम्मेलनको आह्वान गरेकोे हो। यसमा सम्पूर्ण निजी क्षेत्रको समेत सहभागिता रहने छ। पहिलो कुरा सबै पक्ष यसमा सकारात्मक हुन आवश्यक छ। धेरै समयपछि ठूलो संख्यामा लगानीकर्ताहरु भेला हुन लागेका छन्। नेपालका लागि सकारात्मक प्रचार विश्वभर गराउने उपयुक्त अवसर हो।
नेपालमा विदेशी लगानीकर्ताका लागि राम्रो पक्ष भनेको कुनै पनि लगानीकर्ताले घाटा व्यहोर्नु परेको छैन। थोरै विदेशी लगानीकर्ता भएपनि नेपालमा मुनाफा राम्रो छ। यो प्रचार विश्वका लगानीकर्तालाई गर्न सकियो भने पनि धेरै सकारात्मक हुन्छ। नेपालमा अहिले लामो समयपछि आएको परिवर्तन र बनेको सरकारले लिएको नीतिका कारण पनि विदेशी लगानीकर्ताहरु आकर्षित हुने छन्।
यो सम्मेलन नेपालमा लगानीको वातावरणबारे कसैलाई संसय भए त्यो हटाउने उपयुक्त अवसर पनि हो। अहिले सरकारले बनाएको लगानी सम्बन्धी ऐन नियमहरु पनि बनिरहेका छन्। अर्को कुरा विदेशी लगानीकर्ताहरुले सधै आरोप लगाउने विषयमा नेपालमा ठूला परियोजना छैन भन्ने गरेका थिए। तर, अहिले सरकारले ल्याएका ७७ वटा परियोजना एकदमै ठूलो साइजका छन्। अन्तर्राष्ट्रिय ‘लेवल’ का अबौं डलरका आयोजनाहरु तयार पारिएको छ। चार अर्ब डलरका समेत परियोजना छन्। जुन परियोजनाहरुले लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्नेछ।
सरकारले जलविद्युतदेखि व्यवस्थापनसम्मका परियोजना तयार पारेको छ। विदेशी लगानीकर्ताले आज साइन गरेर भोलि नै नेपाली बैंकमा पैसा जम्मा गर्ने होइनन्। यो दीर्घकालीन प्रक्रिया हो। सम्मेलनले समृद्धिको बाटो खोल्छ।










-1754206481.jpg)