कोएमन बने बार्सिलोनाका प्रशिक्षक
काठमाडौं, भदौ ३ : रोनाल्ड कोएमन बार्सिलानाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलानाले आफ्नै पूर्वखेलाडी कोएमनलाई ब....

काठमाडौं, भदौ ३ : रोनाल्ड कोएमन बार्सिलानाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलानाले आफ्नै पूर्वखेलाडी कोएमनलाई बुधबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
नेदरल्यान्ड्सको राष्ट्रिय टिमको प्रशिक्षक रहेका ५७ वर्षीय कोएमनसँग बार्सिलोनाले दुई वर्षको सम्झौता गरेको छ। अब उनी सन् २०२२ को जुन ३० सम्म क्याम्प नेउमा रहनेछन्।
कोएमनले सन् १९९७ बाट नेदरल्याण्ड्सकै सहायक प्रशिक्षकका रुपमा प्रशिक्षण करिअर सुरुवात गरेका थिए। सन् २००० मा डच क्लब भिटेसको मुख्य प्रशिक्षक बनेका उनले अजाक्स, बेन्फिका, पिएसभी, भ्यालेन्सिया, साउथह्यामटन र एभर्टनको प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।
कोएमनले १९९८–२००० सम्म लुइस भान गालको सहायकका रुपमा बार्सिलोनामा पनि काम गरेका छन्। उनले खेलाडीका रुपमा बार्सिलोनामा ६ सिजन बिताएका थिए। बार्सिलोनाबाट २६४ खेल खेल्दै ८८ गोल गरेका छन्।
च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार ब्यहोरेपछि मुख्य प्रशिक्षक क्वेट सेटिनलाई बार्सिलोनाले सोमबार बर्खास्त गरेको थियो।। १३ वर्षपछि उपाधिबिहीन बनेपछि गत जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा बार्सिलोना आएका सेटिन बर्खास्तीमा परेका थिए।











