Kathmandu Press

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

काठमाडौं, भदौ २ : बार्सिलोनाले प्रशिक्षक क्वेट सेटिनलाई बर्खास्त गरेको छ। सोमबार बसेको बोर्ड बैठकले क्लबले खराब प्रदर्शन गरेको भन्दै सेटिनलाई बर्खास्त....

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

काठमाडौं, भदौ २ : बार्सिलोनाले प्रशिक्षक क्वेट सेटिनलाई बर्खास्त गरेको छ। सोमबार बसेको बोर्ड बैठकले क्लबले खराब प्रदर्शन गरेको भन्दै सेटिनलाई बर्खास्त गरेको हो।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद पराजय भोगेको तीन दिनपछि बार्सिलोनाले मुख्य प्रशिक्षक बर्खास्त गरेको हो। बायर्नसँगको पराजयपछि नै बार्सिलोनामा धेरै परितर्वनको आवश्यकता रहेको भन्दै चाँडै निर्णय लिने बताइएको थियो।

बार्सिलोना अध्यक्ष मारिया जोसेफ बार्टमेउले आइतबार एक रेडियोसँगको कुराकानीमा ‘सेटिन इज आउट’ भनेका थिए। बार्टमेउले क्लबमा परिवर्तनको संकेत गरेका थिए र त्यसमा केही निर्णय पहिल्यै भइसकेको बताएका थिए।

बार्सिलोना एक दशकयताकै खराब लयमा छ। सोही कारण उसले एकै सिजनमा दुई प्रशिक्षकलाई बर्खास्त गरेको छ। गत जनवरीमा अर्नेस्टो भाल्भार्डेलाई बर्खास्त गर्दै सेटिनलाई प्रशिक्षक बनाएको थियो।

६१ वर्षीय सेटिनको प्रशिक्षणमा बार्सिलोनाले सबै प्रतियोगितामा गरी २५ खेल खेल्दा १६ जित, पाँच हार र चार बराबरी खेलेको थियो। कोरोना महामारीसँगै सुरु भएको लिगमा खराब प्रदर्शन गरेको बार्सिलोना च्याम्पियन रियलभन्दा पाँच अंकले पछाडि रहेको थियो।

सेटिनको बहिर्गमनसँगै नयाँ प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यान बार्सिलोना आउने चर्चा चलेको छ। कोम्यानसँगै टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनो र बार्सिलोनाकै पूर्वखेलाडी जाभीको पनि चर्चा छ।

तर, केही विदेशी सञ्चारमाध्यमहरुले पूर्वखेलाडी कोम्यान नै बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने बताएका छन्। उनीहरुले कोम्यान प्रशिक्षक बन्ने निश्चित भएको भन्दै उनी र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भइसकेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: ११:०६ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्