आभाससँगै पलेँटी साँझ
काठमाण्डौ, चैत १३ : केही अन्तरालको विश्रामपछि गएको फेब्रुअरीदेखि शुरु भएको पलेँटीलाई विषयवस्तुमा आधारित हुने गरि पुनः निरन्तरता दिइएको छ।
....
काठमाण्डौ, चैत १३ : केही अन्तरालको विश्रामपछि गएको फेब्रुअरीदेखि शुरु भएको पलेँटीलाई विषयवस्तुमा आधारित हुने गरि पुनः निरन्तरता दिइएको छ।
अघिल्लो श्रृंखलामा नेपाली संगीतमा महिला गायनको चर्चा गरिएको थियो । चर्चित नेपाली गायिकाको स्वरमा रहेका गीतलाई प्रस्तुत गरिएको थियो । यो पटक पलेँटी साँझ भने गायक तथा संगीतकार आभासको संगीतिक यात्रामा केन्द्रीत रहने भएको छ।
यो श्रृंखलाको पलेँटीमा आभास नै प्रस्तोता रहने छन् । यसलाई ‘मैले हिडेको सांगीतिक गोरेटो’ शीर्षकमा उनले प्रस्तुति राख्ने छन्।
यसमा डेढ दर्जन सांगीतिक रचना प्रस्तुत गरिने छन् । त्यस्तै, ०३६ यता उनको सांगीतिक यात्रासँगै राजनीतिक तथा सामाजिक परिवर्तन र त्यस वरिपरिका विविध पक्षमा केन्द्रीत भएर आफ्नो संस्मरण सुनाउने छन्।
उनी १३ वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका छन् । यो श्रृंखलाको शुरुआत पनि उनकै गीतबाट हुने छ।
सानैदेखि संगीतप्रति लगाव भएका आभाससँग नेपाली संगीतका विविध धारसँग यात्रा गरेको लामो अनुभव छ । शुरुआतमा नेपालको वामपन्थी धार निकट रहेका मञ्जुल र रामेशबाट गीतियात्रा थालेका आभास एउटा कालखण्डमा पुगेर अम्बर गुरुङको गुरुकूलका विद्यार्थी बन्न पुगे।
संगीतका तीनवटै विधा लेखन, गायन र संगीतमा क्रियाशील आभास कविका रूपमा समेत परिचित छन् । उनका सांगीतिक रचनाहरूले सामाजिक, राजनैतिक साथै मानव मनको निजात्मक भावलाई समेत समेट्ने गरेको पाइन्छ । उनी आफ्ना रचनाहरूमा समाजमा विद्यमान विविध विषयलाई समेटने प्रयत्न गर्छन्।
आफ्नो वैचारिक घेरालाई फराकिलो बनाएर सगीतको रचना गर्दै आएका आभासको संगीतमा मञ्जुल, विक्रम सुब्बा, बानिरा गिरी, तीर्थ श्रेष्ठ, विप्लव प्रतीकजस्ता अनेकौं कविका रचना समेटिएका छन्।
‘मैले नेपाली सांगीतिक क्षेत्रमा कलालाई धेरै महत्व दिने र विचारलाई धेरै महत्व दिने दुवै सोचका अगुवा र दौतरीहरूसँग संगत गर्न पाएँ । त्यसले गर्दा मेरो सांगीतिक यात्रा झन रोमाञ्चक रह्यो,’ आभासले भने, ‘पछिल्लो समयमा यी दुवै धारका कलाकारमा ‘कला जीवनकै निम्ति हो’ भन्ने धारणमा समानता भेटेपछि झन् रमाइलो अनुभूति हुन थाल्यो । म अहिले त्यही रमाइलो अनुभूतिका साथ संगीतमा क्रियाशील छु ।,’
सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका धेरै सर्जकहरू प्रस्तुत भइसकेका छन् । पलेँटीमा प्रस्तुत भएका कलाकारसँग प्रत्यक्ष संगत गर्न पाउदा कुनै गहन पुस्तक पढ्नु जस्तै अनुभूति भएको उनको अनुभव छ।
यहि चैत १५–१७ सम्म नेपालयको आर शालामा आभास प्रस्तुत हुदै छन्।












