धोनीले लिए सन्न्यास
काठमाडौं, साउन ३२ : पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । धोनीले शनिबार इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै अन....

काठमाडौं, साउन ३२ : पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । धोनीले शनिबार इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् ।
३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक सन् २०१९मा इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । उनी केही अगाडिबाट मात्र आईपिएलको तयारीका लागि एक वर्षपछि प्रशिक्षणमा फर्किएका थिए । उनी पुनः भारतीय टिममा फर्किने धेरैको अपेक्षा थियो । एक वर्ष क्रिकेटबाट टाढा रहेका धोनीले आईपिएलबाट क्रिकेटमा फर्किने र अस्ट्रेलियामा हुने टि–२० खेलेर सन्न्यास लिन चाहेका थिए, तर, कोरोनाका कारण यसैवर्ष हुने भनिएको विश्वकप सरेपछि धोनीले आफ्नो अन्तर्राष्ट्रिय करियर टुंग्याउने घोषणा गरेका हुन् ।
धोनी अहिले सीमित ओभरका प्रतियोगिता मात्र खेलिरहेका थिए । उनले सन् २०१४मा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । धोनी भारतीय टिमका सबैभन्दा सफल कप्तान र फिनिसर हुन् । उनको कप्तानीमा भारतले एकदिवसीय र टि–२० विश्वकप तथा च्याम्पियन्स ट्रफी जितेको छ । विश्वकै सबैभन्दा उत्कृष्ट फिनिसर धोनीले सन् २००४मा भारतीय टिममा डेब्यू गरेका थिए ।
त्यसयता उनले ३५० एकदिसवसीय, ९८ टि–२० र ९० टेस्ट म्याच खेलेका छन् । धोनीले एकदिवसीयमा ५०.५७को औसतमा १२३०३ रन बनाएका छन् । जसमा १० शतक र ७३ अर्धशतक सामेल छन् । उनले टेस्टमा ४८७६ रन बनाएका छन् भने टि–२०मा १६१७ रन बनाएका छन् । टेस्टमा उनको उच्चस्कोर २२४ हो भने टि–२०मा ५६ रन हो । यसैगरी धोनीकै पथ पछ्यानउै उनका प्रिय खेलाडी सुरेश रैना पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढिएका छन् ।
उनले पनि इन्स्टामार्फत नै सन्न्यासको घोषणा गरे । उत्कृष्ट फिल्डर तथा विस्फोटक ब्याट्सम्यान रैनाले भारतका लागि २ २६ एकदिवसीय, १९ टेस्ट र ७८ टि–२० खेल खेलेका छन् । उनले एकदिवसीयमा ५ शतक र ३६ अर्धशतक प्रहार गर्दै ५६१५ रन बनाएका छन् भने टि–२०मा १ शतक र ५अर्धशतकसहित १६०५ रन बनाएका छन् । टेस्टमा भने उनले १ शतक र ७ अर्धशतक प्रहार गर्दै ७६८ रन बनाएका छन्











