लक्ष्मीनारायण ट्रष्टले भलिबल खेलाडीको कोरोना बीमा गरिदिने
काठमाडाैं, साउन ३१ : लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ।<....

काठमाडाैं, साउन ३१ : लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ।
ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो। खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ।
खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए। “खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ”, उनले भने। खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनको भनाइ छ।
खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना सङ्क्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए। तेह्रौँ सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो। परुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो। हाल भलिबल खेलाडीहरु आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले बताए। रासस











