Kathmandu Press

कर्मचारीमा कोरोना देखिएपछि लहानको ग्लोबल आईएमई बैंक सिल

लहान, साउन २५ : कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि लहानस्थित ग्लोबल आइएमई बैंक सिल गरिएको छ। बैंकका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।

म....

कर्मचारीमा कोरोना देखिएपछि लहानको ग्लोबल आईएमई बैंक सिल
फाइल फाेटाे

लहान, साउन २५ : कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि लहानस्थित ग्लोबल आइएमई बैंक सिल गरिएको छ। बैंकका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।

महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई एक होटलमा क्वारेन्टाइनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले बताए।

रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको र उनको अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको स्वास्थ्य शाखाप्रमुख यादवले बताए। सङ्क्रमित कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ। कार्यालय प्रमुख कमलबहादुर राजलवटले सूचना प्रकाशन गरी यो विषम परिस्थितिमा कार्यालयका कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जनाएका छन्।

त्यस्तै सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षकसहितका सशस्त्र प्रहरीलाई क्याम्पभित्रै क्वारेन्टाइनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताए। सङ्क्रमित बैंकका कर्मचारी तथा सशस्त्र प्रहरीको कन्ट्र्याक्टमा आएकाको पनि पहिचान गरी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने तयारी भइरहेको जनाएको छ।

कोरोना सङ्क्रमतिको सङ्ख्या बढ्दै गएको भन्दै लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म नगर क्षेत्रमा लकडाउन जारी राखेका छन्। (रासस)

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्