लगानी सम्मेलन कि दातृ सम्मेलन ?
काठमाडौं, चैत १२ : सरकारले लगानी सम्मेलनका लागि तयार पारेको परियोजनालाई विज्ञहरूले दातृ सम्मेलनको संज्ञा दिएका छन् । सम्मेलनका लागि लगानी बोर्डले तयार....
काठमाडौं, चैत १२ : सरकारले लगानी सम्मेलनका लागि तयार पारेको परियोजनालाई विज्ञहरूले दातृ सम्मेलनको संज्ञा दिएका छन् । सम्मेलनका लागि लगानी बोर्डले तयार पारेका परियोजनालाई दातृ सम्मेलनको लागि जसरी फोहोर व्यवस्थापनदेखि सुन्दर शहर बनाउनेसम्मका परियोजना तयार पारेको विज्ञहरूको भनाइ छ।
सरकारले लगानी सम्मेलनमार्फत ६ वटा परियोजनामा फोहोर व्यवस्थापनमा साँढे ७३ अर्बको लगानी आह्वान गर्ने सूची तयार पारेको छ । कार्यन्वयन हुन नसक्ने स–साना परियोजना पनि तयार पारेकाले सम्मेलन सफल हुनेमा आंशका उब्जिएको विज्ञहरूको आरोप छ।
सरकारले गर्नुपर्ने कामलाई पनि लगानी सम्मेलनको परियोजनाको रुपमा अगाडि सारिएको छ । जस्तो कि स्मार्ट सिटी, फोहोर व्यवस्थापन, शहर सुन्दर बनाउने परियोजना पनि लगानी आह्वान गर्ने परियोजनामा राखिएको छ।
लगानी बोडएले दातृ सम्मेलनका लागि तयार पारे जसरी अधिकांस परियोजना अघि बढाएको विज्ञहरूको भनाइ छ । ‘लगानी सम्मेलन भनेको छ, तर दातृ निकायको भेला जस्तो गर्न खोजियो,’ योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले भने।
उत्पादनमुलक उद्योगमा केन्द्रीत हुनुपर्नेमा फोहोर व्यवस्थापन, स्मार्ट सिटी जस्ता विषय समावेश हुनुले लगानी सम्मेलन सफल हुनेमा आंशका उब्जिएको पोखरेलको तर्क छ । ‘फोहोर व्यवस्थापन भनेको स्थानीय सरकार आफैले गर्ने विषय हो, एक दिन पनि फोहोर जिम्मा लिएका कम्पनीले उठाएनन् भने शहरनै दुर्घन्धित हुने छन्,’ पोखरेलले भने।
लगानी भन्ने वित्तिकै मुनाफाको विषय आउनु पर्नेमा फोहोर व्यवस्थापन, शहरी विकास तथा अन्य पूर्वाधारमा बढी केन्द्रीत गरिनुले यसको सफलतामा आशंका उव्जेको बताउँछन विश्लेषक राजु नेपाल । ‘सरकारले लगानी सम्मेलनको लागि तयार पारेको परियोजना हेर्दा दातृ सम्मेलनको जस्तो देखियो,’ नेपालले भने।
सरकारले ६३ परियोजना तयार पारेको भएपनि फोहोर व्यवस्थपन, मन्दिर व्यवस्थापन, शहर व्यवस्थापनजस्ता विषयमा लगानीकर्ता आउनेमा आशंका उब्जिएको योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलको भनाइ छ।
लगानी बोर्डले तयार पारेको सूचीअनुसार सरकारी र निजी गरेर ६३ परियोजनाको लागि ३० खर्ब ५० अर्ब रुपैयाँ लगानीको आह्वान गरिने छ । आगामी १५ र १६ गते काठमाडौंमा हुने सम्मेलनमा फोहोर व्यवस्थापनमा मात्रै ६ वटा परियोजनामा साँढे ७३ अर्ब रुपैयाँको लगानी आह्वान गर्न सूची बनाइएको छ । त्यस्तै, हेटौडा स्मार्ट सिटी बनाउने भन्दै तीन अर्ब ३० करोड रुपैयाँको परियोजना तयार पारिएको छ।
लुम्बिनी स्मार्ट सिटी भनेर चार अर्ब २९ करोड, रत्ननगर फोहोरमैला ५० करोड ५० लाख, धुलिखेल फोहोरमैला ४७ करोड ३० लाख रुपैयाँ लगानी आह्वान गर्न परियोजना बनाइएको छ।
त्यस्तै, जीतपुर फोहोर व्यवस्थापनका लागि ९१ करोड ३० लाखको परियोजना यो सूचिमा छ । बुटवल फोहोर व्यस्थापनका लागि ९५ करोड ५० लाख तथा जनकपुर फोहोर व्यवस्थापनका लागि ७० अर्ब ४० करोड रुपैयाँको परियोजना पनि लगानी सम्मेलनकै सूचिमा छ।
यस्ता परियोजनामा कसरी आउँला विदेशी लगानी ?
बुटवल फोहोर व्यवस्थापनः ९५.५० करोड
जनकपुर फोहोर व्यवस्थापनः ७०.४० अर्ब
रत्ननगर फोहोरमैला व्यवस्थापन: ५०.५० करोड
धुलिखेल फोहोरमैला व्यवस्थापनः ४७.३० करोड
जीतपुर फोहोर व्यवस्थापनः ९१.३० करोड
हेटौडा स्मार्ट सिटीः ३.३० अर्ब
लुम्बिनी स्मार्ट सिटीः ४.२९ अर्ब
दमौली पर्यटनः ६.५ अर्ब
शिक्षा, खेलकुद स्वास्थ्य शहरः ११ अर्ब
सम्मेलन केन्द्र, भक्तपुरः १.७६ अर्ब