आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएका २४ खेलाडी सहभागी हुने
काठमाडौं, चैत १०: प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा ए....

काठमाडौं, चैत १०: प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए। खेलाडीबाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुनेछन्।
सबैभन्दा बढी करातेमा १२ खेलाडी रहेका छन्। पुरुषतर्फ करातेमा युएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन्।
करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिरकारीले मकाउ तथा १७ औं इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्ने छिन्। फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हिरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापा मगरले सहभागिता जनाउने छन्। पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धा समेत सार्वजनिक गरिएको थियो।
निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्णधारी सुनिल लामा र पर्शुराम घिमिरे छन्। बृहत राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो। आठौं राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय गरी ११ टिमको सहभागिता रहनेछ।











