एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं, साउन १२ : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका ....

काठमाडौं, साउन १२ : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक वर्षको अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० रुपैयाँले वृद्धि भएको छ। गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला ७७५ रूपैयाँ कायम भएको थियो।
यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४३५ रूपैयाँ वृद्धि भएको छ। त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा सोमबार पनि उच्च वृद्धि भएको छ। महासंघका अनुसार सोमबार पनि सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ।
महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० निर्धारण गरेको छ। यो अहिलेसम्मकै उच्च हो। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८६० रूपैयाँ तोकिएको थियो।अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ।
मनि मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ। सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ।
महासंघका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन्। सुन प्रतितोला झण्डै एक लाख रुपैयाँ पुग्नै लागे पनि कारोबार भने ठप्प रहेको उनको भनाइ छ। रासस










-1754206481.jpg)
