Kathmandu Press

चीनको अमेरिकी वाणिज्यदूतावासबाट अमेरिकी प्रतीक चिन्हहरु हटाइयो

चेङ्दु, साउन ११ : चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु हटाएका छन्। बेइजिङले चेङ्दुस्थित वाणि....

चीनको अमेरिकी वाणिज्यदूतावासबाट अमेरिकी प्रतीक चिन्हहरु हटाइयो

चेङ्दु, साउन ११ : चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु हटाएका छन्। बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो।

अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी प्रशासनले आदेश दिएलगत्तै त्यसको बदलामा चीनले पनि चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको थियो। दुबै मुलुकले वाणिज्यदूतावास मार्फत एकअर्का विरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन्। 

चेङ्दुको अमेरिकी वाणिज्यदूतावास कहिले बन्द हुन्छ भन्नेबारेमा अझै स्पष्ट भइसकेको छैन, तर वाणिज्यदूतावासमा राखिएका प्रतीक, निशान हटाउन थालिएको एएफपीले जनाएको छ। अहिले त्यहाँ अमेरिकी झण्डामात्र फर्फराएको देख्न सकिन्छ। 

शनिबार अपराह्न तीन वटा ट्रक वाणिज्यदूतावास परिसरमा प्रवेश गरेका थिए। भवनबाट ठुल्ठूला प्लास्टिक ब्यागमा सामानहरु बाहिर फालिएका थिए। फुटेका प्लास्टिक ब्यागभित्र कागजातहरु देखिएको एएफपीले जनाएको छ।

बेइजिङले चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्नु चीनका लागि बैधानिक र अत्यावश्यक कार्य रहेको प्रतिक्रिया दिइसकेको छ। बेइजिङले चेङ्दुस्थित कुटनीतिक नियोगले चीनको राष्ट्रिय सुरक्षा र सरोकारमाथि खतरा उत्पन्न गराएको आरोप लगाएको छ। 

उता, अमेरिकी अधिकारीहरुले पनि ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावासका गतिविधि शंकास्पद रहेको आरोप लगाएका छन्। ह्युस्टन नियोगले अमेरिकी कर्पोरेट गोपनीयताका साथै स्वास्थ्य र वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित सूचनाहरु चोरी गरेको दाबी गरेको छ। 

अमेरिकाले ह्युस्टन नियोग ७२ घण्टाभित्र छाड्न आदेश दिएसँगै शुक्रबारभित्र नियोगको कार्यालय बन्द भएको छ भने त्यहाँबाट सबै कर्मचारीले कार्यालय छाडेका छन्। 

बेइजिङले अमेरिकी गुप्तचर निकायका व्यक्तिहरु ह्युस्टन नियोगभित्र जबर्जस्ती प्रवेश गरेको बताएको छ। चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ह्युस्टन नियोग अन्तर्राष्ट्रिय कानुन बमोजिम स्थापना भएको र यो चिनियाँ सम्पत्ति रहेको उल्लेख छ।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्